काठमाडौँ । ‘राइड शेयरिङ’ प्लेटफर्म ई-ड्राइभ नेपाल र ‘तपाईंको बजार’ले सहकार्य गरी राइडरलाई एक हजार ओटा विद्युतीय स्कुटर उपलब्ध गराउने भएका छन् । स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो योजना अन्तर्गत राइडरले दैनिक निश्चित भाडा तिरेर उच्च पर्फर्मेन्स युक्त स्कुटर चलाउन पाउने भएका हुन् ।

यो योजना ई-ड्राइभ नेपाल, तपाईंको बजार र ग्यारो स्कुटरका लागि नेपालका आयातकर्ता कम्पनीको त्रिपक्षीय लगानी र व्यवस्थापनमा सञ्चालन हुनेछ । ई-ड्राइभले राइड शेयरिङ प्लेटफर्मको भूमिका निर्वाह गर्दा, तपाईंको बजारले वित्तीय तथा फ्लीट व्यवस्थापनको पाटो हेर्नेछ ।
कम्पनीका अनुसार इच्छुक राइडरले दुई मोडेलमा स्कुटर प्राप्त गर्न सक्नेछन् । एउटा दैनिक भाडामा आधारित (रेन्टल) र अर्को मासिक तलबमा आधारित । रेन्टल मोडेलमा राइडरले प्रतिदिन लगभग ७०० देखि १००० रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ । तलबमा आधारित मोडेलमा राइडरले नेपाल सरकारले तोकेको न्यूनतम तलब सुनिश्चित रूपमा पाउनेछन् भने राइडको आधारमा बोनससहित मासिक २० देखि २५ हजार रुपैयाँभन्दा बढी कमाउन सक्ने बताइएको छ ।
राइडरलाई भाडा तिर्न वा आम्दानी गर्न सहज होस् भनेर ‘ई-ड्राइभ नेपाल’ले आफैले व्यवसायको ग्यारेन्टी लिने भएको छ । “यदि राइडरले पर्याप्त आम्दानी गर्न सकेनन् भने हामी आफै उनीलाई व्यापार दिन्छौँ,” ई-ड्राइभ नेपालका एक अधिकारीले भने, “यसका लागि हामीले अर्को राइड शेयरिङ कम्पनी ‘याङ्गो’सँग समेत सहकार्य गरेका छौँ ।”

काठमाडौँको सडक र उकालोमा कम पर्फर्मेन्स भएका स्कुटरको समस्यालाई मध्यनजर गर्दै यो योजनामा उच्च क्षमताको स्कुटर रोजिएको कम्पनीको भनाइ छ ।
योजनामा सहभागी हुन इच्छुक राइडरले आफ्नो सक्कली नागरिकता र लाइसेन्ससहित कम्पनीको कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् । ई-ड्राइभको कार्यालय विश्वज्योति मल, जमल काठमाडौँमा रहेको छ । यस योजनाको पहिलो चरण अन्तर्गत यही शनिबार एक कार्यक्रमका बीच २५ ओटा स्कुटर वितरण गरिँदैछ । आगामी दुई महिनाभित्रै एक हजार स्कुटर सडकमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १९:५३
सामाग्री श्रोत :
टेक पाना