काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ । केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्नासाथ सबैकुरा आफूले भनेको जस्तो नहुने बताए ।
‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन,’ महतले भने ।
गठबन्धनका विषयमा प्रतिकुल विचार नआएको बताउँदै उनले संसदमा रहेका र पार्टीका नेताहरूमा अनुशासन नभएको कुरा केन्द्रीय समिति बैठकमा आएको पनि बताए ।

‘गठबन्धनका विषयमा फेरि प्रतिकुल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टीमा अनुशासन भएन,’ उनले भने, ‘संसदमा र बाहिर रहेका साथीहरुले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ ।’
आफूलाई मनमा लागेको कुरा बोल्ने र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको बारेमा प्रश्न उठेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ