२०८२ असार १८ बुधबार
२०८२ असार १८ बुधबार

रोगको निदान तथा पहिचान गर्ने कार्यमा डाक्टरभन्दा ४ गुणाले अब्बल निस्कियो माइक्रोसफ्टको एआई !

काठमाडौँ । प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ एआई सिस्टमले मानव डाक्टरहरूभन्दा चार गुणा बढी शुद्धता र कम खर्चमा बिरामीको रोग पहिचान गर्न सफल भएको दाबी गरेको छ । यो उपलब्धिलाई कम्पनीको एआई विभागका प्रमुख तथा सह-संस्थापक मुस्तफा सुलेमानले ‘चिकित्सकीय सुपर-इन्टेलिजेन्स तर्फको अग्रगमन’ भनेका छन् ।

द वायरका अनुसार यस परियोजनाका लागि माइक्रोसफ्टले गुगलबाट केही शीर्ष अनुसन्धानकर्ता भित्र्याएको छ । उनीहरूले मिलेर यस्तो शक्तिशाली उपकरण निर्माण गरेका हुन्, जसले मानव चिकित्सकले गर्ने रोग पहिचान प्रक्रिया झैँ चरणबद्ध रूपमा काम गर्छ ।

यो एआई प्रणालीलाई एमएआई डायग्नोस्टिक अर्केस्टर (MAI Diagnostic Orchestrator-MAI-DxO) नाम दिइएको छ ।

माइक्रोसफ्टको एआई टोलीले सार्वजनिक गरेको अनुसन्धानमा एआईले कसरी क्रमबद्ध तरिकाले चिकित्सा विज्ञानका सबैभन्दा जटिल निदानका चुनौतीहरू समाधान गर्न सक्छ भन्ने देखाइएको छ । यस्ता केसहरू जुन प्राविधिक विशेषज्ञ चिकित्सकहरूका लागि समेत कठिन हुन्छन्।

प्रत्येक हप्ता न्यु इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित हुने वास्तविक केस अभिलेखलाई आधार बनाएर गरिएको परीक्षणमा माइक्रोसफ्ट एआई डायग्नस्टिक अर्केस्टर (MAI-DxO) ले ८५ प्रतिशतसम्म सही रूपमा केसहरूको निदान गर्न सफल भएको देखाइएको छ । परीक्षणका क्रममा यसले बिरामीको लक्षणहरू विश्लेषण गर्दै परीक्षणको सिफारिस गर्ने, नतिजा मूल्याङ्कन गर्ने र अन्ततः रोग पहिचान गर्ने जटिल प्रक्रिया दोहोर्‍याएको थियो ।

एआई प्रणालीले ८० प्रतिशत शुद्धताका साथ सही निदान गर्न सकेको देखिएको बताइएको छ, जुन मानव डाक्टरहरूको (मात्र २० प्रतिशत) को तुलनामा चार गुणाले बढी हो । परीक्षणका क्रममा बेलायत र अमेरिकाका ५ देखि २० वर्ष अनुभवसहितका २१ जना क्रियाशील फिजिसियनलाई समावेश गरिएको थियो । साथै, माइक्रोसफ्टको एआई सिस्टमले सस्तो मूल्यमा परीक्षण गरेर २० प्रतिशत खर्च समेत घटाएको दाबी गरिएको छ ।

“यो अर्केस्टर संयन्त्रमा एउटा चेनमा रहेर एआई एजेन्टहरूले एकसाथ काम गर्छन् । विभिन्न एआई मोडेलहरूलाई संयोजन गरेर बहस-शैलीमा कार्य गर्ने यस्तो संयन्त्र नै चिकित्सा सुपर-इन्टेलिजेन्स तर्फ अघि बढ्ने बाटो हो,” सुलेमानले भनेका छन् ।

माइक्रोसफ्टले यसका लागि ओपनएआईको जीपीटी, गुगलको जेमनाई, एन्थ्रोपिकको  क्लाउड, मेटाको लामा र एक्सएआईको ग्रोक लगायतका प्रमुख एआई मोडेलहरू प्रयोग गरेको छ । यो अनुसन्धान एआई प्रणालीले कसरी डाक्टरहरूकै जस्तो शैलीमा काम गर्न सक्छ भन्ने दृष्टिकोणमा केन्द्रित छ । जसमा लक्षणहरूको विश्लेषण गर्ने, आवश्यक परीक्षणहरूका लागि आदेश दिने र थप विश्लेषण गर्दै अन्ततः निष्कर्षमा पुग्ने प्रक्रियालाई पछ्याइएको छ।

माइक्रोसफ्टका अनुसार, यसले वास्तविक संसारमा स्वास्थ्य सेवामा सुधार ल्याउन र खर्च कटौती गर्न सक्ने सम्भावना देखाएको छ । यसैबिच, केही विज्ञहरूले भने यो सवालमा सावधानी अपनाउनुपर्ने सल्लाह दिएका छन् । एमआईटीका वैज्ञानिक डेभिड सान्ट्यागले भनेका छन्, “यो अनुसन्धानले चिकित्सकको शैलीलाई नजिकबाट नक्कल गर्ने प्रयास गरेको छ र उनीहरूले अपनाउने विधिको गहिरो समीक्षा पनि गरेको छ, जुन सकारात्मक हो ।” 

साइप्रस रिसर्च इन्स्टिच्युटका वैज्ञानिक एरिक टोपोलले यो अनुसन्धान प्रशंसनीय रहेको बताएका छन् । किनकि यसले जटिल रोगको निदानमा एआईको भूमिका देखाएको छ र सम्भावित रूपमा स्वास्थ्य खर्च घटाउन सक्ने बाटोसमेत खोलेको छ।

यद्यपि, यो सिस्टमलाई व्यापक रूपमा प्रयोग गर्नुअघि वास्तविक बिरामीमाथि चिकित्सकहरूसँगको तुलनात्मक परीक्षण आवश्यक रहने विज्ञहरूको मत छ ।

एआई यस अघि देखि नै अमेरिकाको केही स्वास्थ्य सेवा क्षेत्रमा व्यापक रूपमा प्रयोगमा आइसकेको छ, जसमा रेडियोलोजिस्टहरूलाई स्क्यान विश्लेषणमा सहयोग पुर्‍याउने काम पनि पर्छ ।  माइक्रोसफ्टले अहिले नै यस प्रणालीलाई व्यावसायिक बनाउने निर्णय गरेको छैन ।

तर, कम्पनीले यसलाई आफ्नो सर्च इन्जिन बिङमा एकीकृत गरेर साधारण प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य अवस्थाबारे बुझ्न मद्दत गर्ने, वा चिकित्सकहरूलाई सहायक उपकरणका रूपमा विकास गर्ने सम्भावना रहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १६:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट