काठमाडौँ । अमेरिकामा रहेको आईटी कन्सल्टिङ कम्पनी आईटी सुत्र इन्क (ITSutra Inc.) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कम्पनीले चेम्जोङसँग ३० लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो ।

टेक्सासमा मुख्यालय रहेको आईटी सुत्रले यो सहकार्यमार्फत प्रविधि र खेलकुद क्षेत्रलाई जोड्ने प्रयास गरेको जनाएको छ । कम्पनीका सीईओ पंकज श्रेष्ठका अनुसार चेम्जोङको अनुशासन, समर्पण र अन्तर्राष्ट्रिय छवि कम्पनीको ब्रान्ड मूल्यसँग मेल खाने भएकाले उनीसँग सहकार्य गरिएको हो ।
आईटी सुत्र इन्क.ले माइक्रोसफ्ट पावर प्लेटफर्म, क्लाउड सोलुसन्स, क्यूए अटोमेसन जस्ता क्षेत्रमा सेवा दिँदै आएको छ । कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने रहेको बताइएको छ ।
साझेदारीअनुसार चेम्जोङ कम्पनीका ब्रान्ड अभियान, युवा लक्षित तालिम कार्यक्रम, डिजिटल कार्यक्रम र सामाजिक गतिविधिमा सक्रिय रहनेछन् । यो सहकार्यले प्रविधि क्षेत्रमा नेपाली युवालाई प्रोत्साहन गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

सन् २०१४ मा स्थापना भएको आईटी सुत्र इन्क.ले हालसम्म २०० भन्दा बढी अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिइसकेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीमार्फत अमेरिकाका विभिन्न प्रतिष्ठित कम्पनीहरूमा १२ हजार बढी नेपाली प्राविधिकहरू कार्यरत रहेको जनाइएको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ ९:५७
सामाग्री श्रोत :
टेक पाना