
काठमाडौँ । नेपालमा ८५ प्रतिशत अभिभावकले आफ्ना सन्तानसँग अनलाइनमा हुने यौन शोषण र दुर्व्यवहार जस्ता संवेदनशील विषयमा कहिल्यै कुराकानी नगर्ने एक अध्ययनले देखाएको छ । अनलाइन बाल सुरक्षाको क्षेत्रमा कार्यरत संस्था ‘चाइल्डसेफनेट’ले शुक्रबार ललितपुरमा सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो ।
उक्त अनुसन्धान प्रतिवेदनलाई ‘नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिकाको अभिवृद्धि’ शीर्षक दिइएको थियो । यसलाई राष्ट्रिय बालअधिकार परिषद्की सदस्य-सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै सदस्य सचिव ढकालले प्रविधिको विकाससँगै बालबालिकामाथि अनलाइन हिंसाको जोखिम बढेको उल्लेख गर्दै यस्तो संवेदनशील विषयमा चाइल्डसेफनेटले गरेको अध्ययन सराहनीय रहेको बताइन् ।

सेफ अनलाइन फण्ड र टेक कोअलिसनको सहयोगमा काठमाडौँ र ललितपुरका ९०० अभिभावकमाझ गरिएको सर्वेक्षणमा आधारित अध्ययनले अनलाइन जोखिमबारे अभिभावक चिन्तित भएपनि उनीहरूमा बालबालिकालाई जोगाउन आवश्यक ज्ञान र सहयोगको अभाव रहेको देखाएको छ ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता अनिल रघुवंशीका अनुसार अभिभावकले आफ्ना बच्चासँग यस्ता विषयमा कुरा गर्न असहज मान्ने, जानकारीको अभाव हुने तथा विषयवस्तु उमेर अनुकूल नभएको ठान्ने गरेका छन् ।
प्रतिवेदनले ४५ प्रतिशत बालबालिकाको आफ्नै स्मार्टफोन र ३४ प्रतिशतको आफ्नै सामाजिक सञ्जाल अकाउन्ट रहेको देखाएको छ । अधिकांश बालबालिकाले अभिभावकको निगरानीबिना नै इन्टरनेट चलाउने गरेका छन् । यसले गर्दा उनीहरूलाई वयस्क सामग्री र अनलाइन ग्रुमिङको जोखिममा पारेको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार ७३ प्रतिशत अभिभावकले अहिलेसम्म कुनै पनि प्यारेन्टल कन्ट्रोल (अभिभावकीय नियन्त्रण) संयन्त्र प्रयोग गरेका छैनन् । बालबालिकाको अनलाइन सुरक्षाका लागि अभिभावक नै प्रत्यक्ष सचेतनामूलक कार्यक्रम चाहने अध्ययनले देखाएको छ । ७० प्रतिशत अभिभावकले बाल साइबर सुरक्षा विज्ञद्वारा सञ्चालन गरिने कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्यचिकित्सक डा. नृपेश राजभण्डारीले बालबालिकालाई अनलाइन दुर्व्यवहारबाट जोगाउन अभिभावकको भूमिकाबारे छलफल गरेका थिए । यहाँ क्लिक गरेर अनुसन्धान प्रतिवेदन डाउनलोड गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना