काठमाडौँ । सरकारले एसएमएसबाट दिँदै आएको विपद् सम्बन्धी पूर्व सूचना भरपर्दो नभएको भन्दै फोनमा कल गरेर नै जानकारी दिन सरकारलाई निर्देशन दिइएको छ । बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले वर्षायाममा हुने प्राकृतिक विपत्तिका बारेमा फोनबाट जानकारी दिन निर्देशन दिएको हो ।

फोन कल गरेर जानकारी दिने कामलाई ‘पाइलट प्रोजेक्ट’को रूपमा अघि बढाउन सुझाव दिएको समिति सचिव शिवदत्त बरालले बताए । उनले भने, “यो एसएमएस भन्दा अलि जटिल प्रक्रिया पनि हो । त्यसैले पहिला जोखिमयुक्त कुनै एक क्षेत्रबाट कलबाट जानकारी दिन सुरु गरेर विस्तारै अन्य क्षेत्रमा पनि लागु गर्न भनेका छौँ ।”
यसका लागि एनसेल र एनटीसी जस्ता दूरसञ्चार कम्पनीसँग सहकार्य गर्न भनिएको उनले बताए । एसएमएस भन्दा कल महँगो भएकाले सोही अनुसार बजेटको व्यवस्था समेत निर्देशन दिइएको छ ।
यस्तै यातायातका क्रममा बाढी पहिरोको विपद्मा भए तत्काल उद्दार गर्न, जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापन गर्न, पीडितलाई तत्काल राहत वितरण लगायतका निर्देशन दिइएको हो ।

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १८:२९
सामाग्री श्रोत :
टेक पाना