काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त एउटा टेलिभिजन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारबारे दिएको अभिव्यक्तिका कारण विवादमा तानिइन् । सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेपछि गत १२ वैशाखमा अभिनेत्री ऋचा शर्माले पन्तको समर्थनमा फेसबुक पोस्ट गरिन् ।

त्यही पोस्टलाई लिएर ‘इनबक्स’मा अश्लील शब्द प्रयोग गर्दै मेसेज पठाउने बाबुराम धिताल नामक प्रयोगकर्ताको स्क्रिनशट शर्माले भोलिपल्टै सार्वजनिक गरी दिइन् । शर्माले स्क्रिनशट सार्वजनिक गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता धितालमाथि खनिए । अत्यधिक नकारात्मक टिप्पणी आउन थालेपछि धितालले माफी माग्दै पोस्ट हटाइ दिन अनुरोध गरे र शर्माले सो पोस्ट डिलिट गरी दिइन् ।
त्यसैगरी शर्मा र पन्तलाई अभद्र शब्द प्रयोग गरी मेसेज पठाउने सम्राट ठकुरीको स्क्रिनशट पनि शर्माले १४ वैशाखमा सार्वजनिक गरिन् । व्यापक आलोचना र दबाबपछि ठकुरीले भिडिओ मेसेज मार्फत माफी मागे र पछि शर्माले उनको स्क्रिनशट पनि हटाइ दिइन् । यही क्रममा उनले अभद्र सन्देश पठाउने जनक खड्का नामक अर्का प्रयोगकर्ताको स्क्रिनशट पनि त्यसैगरी सार्वजनिक गरिन् ।
सामाजिक सञ्जालमा ठुलो सङ्ख्यामा फलोअर भएकी शर्माले एकपछि अर्को गर्दै दुर्व्यवहार गर्नेहरूको पहिचान खुलाउन थालेपछि यस्ता गतिविधिमा केही कमी आयो । खासगरी शर्मालाई नकारात्मक कमेन्ट गर्नेहरू हच्किए ।

शर्माको यो शैली अन्य कलाकारले पनि अपनाउन थाले । मोडेल प्रिज्मा खतिवडाले पनि यस्तै समस्याको सामना गरिन् । एउटा टेलिभिजन अन्तर्वार्तापछि विवादमा तानिएकी खतिवडालाई सामाजिक सञ्जालमा अभद्र शब्द प्रयोग गरी कमेन्ट आउन थाले ।
प्रतिकारमा खतिवडाले उक्त कमेन्टको स्क्रिनशट कमेन्ट गर्ने व्यक्तिको परिवारका सदस्यलाई नै पठाइ दिइन् । परिवारलाई मेसेज पठाएको भिडिओ खतिवडाले टिकटकमा राखेपछि उनका समर्थक ती प्रयोगकर्तामाथि खनिए ।
त्यसैगरी मोडल ईभा गिरीले एक पत्रिकामा प्रकाशित आफ्नो फोटोलाई लिएर बलात्कारको धम्की दिने व्यक्तिको प्रोफाइल नै आफ्नो इन्स्टाग्राम स्टोरीमा सार्वजनिक गरी दिएको एक पोडकास्टमा बताएकी छिन् । पछि ती व्यक्तिले गिरीका समर्थकबाट हैरानी खप्नु परेको भन्दै पोस्ट हटाउन अनुरोध गरे र नहटाएमा गिरीकै नाम लिएर आत्महत्या गर्ने धम्की दिए । त्यसपछि गिरीले उक्त स्टोरी हटाइन् ।
यो क्रम रोकिएन । कलाकारलाई त्यसमा पनि महिला कलाकारलाई लक्षित गरी नकारात्मक र अपाच्य शब्द प्रयोग गरी कमेन्ट गर्नेहरू बढ्दै गए । पछिल्लो समय गायिका एलिना चौहान र समीक्षा अधिकारीले पनि आफूलाई अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको स्क्रिनशट नियमित रूपमा सार्वजनिक गरिरहेका छन् ।
सामाजिक सञ्जालमा आफूमाथि नकारात्मक टिप्पणी गर्नेहरुको विवरण सार्वजनिक गर्न थालेकी गायिका समीक्षा अधिकारीले साइबर ब्युरोको निष्क्रियताका कारण आफू यो कदम चाल्न बाध्य भएको टेकपानालाई बताइन् ।
विगतमा आफ्नो चरित्रमाथि औँला उठाएर बोल्ने धेरैको नाममा साइबर ब्युरोमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । “मैले सुरुवाति दिनदेखि नै धेरै जना विरुद्ध ब्युरोमा उजुरी दिएकी थिएँ । तर आजसम्म उनीहरूलाई केही कारबाही नै भएन,” अधिकारीले भनिन्, “ब्युरोले उजुरीमा खासै मतलब नगर्ने, अनुसन्धान नै नगर्ने रहेछ ।”
पछिल्लो समय एआई प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्ने भिडिओ बनाउने व्यक्तिबारे उजुरी दिँदा समेत ब्युरोले वास्ता नगरेको उनको गुनासो छ । “त्यो मान्छे खुलेआम हिँडिरहेको छ, तर कारबाही भएको छैन । यसलाई ब्युरोले बेवास्ता गरेकै भन्नु पर्यो,” उनले भनिन् ।
ब्युरोले सुनुवाइ नगरेपछि आफू नै नकारात्मक कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्न अग्रसर हुनु परेको उनले बताइन् । “अब म आफैँले यस्ता व्यक्तिलाई समात्ने हो । जसले नकारात्मक कमेन्ट गर्छ, त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गरी दिने तरिका अपनाएकी हुँ,” उनले भनिन् ।
आफ्नो यो कदम कसैलाई दुःख दिने नियतले नभइ केवल गल्तीको महसुस गराउनका लागि लिएको उनले स्पष्ट पारिन् । “मलाई यस्ता कमेन्टले अब केही फरक पर्दैन, म धेरै कुरा सहेर यहाँसम्म आएकी हुँ,” उनले थपिन्, “म त उहिले नै ‘मुभ अन’ भइसकेकी हुँ । तर अरूको चरित्रमाथि औंला उठाउँदा कस्तो हुँदो रहेछ भन्ने कुरा उनीहरूले पनि महसुस गरुन् भन्ने मात्र मेरो चाहना हो ।”
उनका अनुसार यसरी विवरण सार्वजनिक गरेपछि धेरैले मेसेन्जरमा आएर आफ्नो गल्ती स्वीकार्दै माफी मागिरहेका छन् । “पोस्ट हालेपछि उनीहरूलाई गल्ती रियलाइज त भयो नि !,” उनले भनिन्, “एक जनाले त अहिले पनि मेसेज गरेर ‘बहिनी प्लिज, मबाट गल्ती भयो’ भनी रहनु भएको छ ।”
सामाजिक सञ्जालमा फेसबुक र टिकटक दुवै तिरबाट आफूलाई नकारात्मक मेसेज आउने गरेको उनले जानकारी दिइन् । अरूको गोपनीयताको ख्याल गर्दै आफूले कमेन्ट गर्ने व्यक्तिको मात्र विवरण राख्ने र परिवारका सदस्यहरूको अनुहार ब्लर (धमिलो) गर्ने गरेको पनि उनले बताइन् ।
उनकै लयमा गायिका एलिना चौहान पनि देखिन्छिन् । “प्रहरीले कुनै कारबाही गर्दैन । प्रहरीले पनि कतिलाई कारबाही गर्ने ? कसरी साध्य हुन्छ, यत्तिका सबैलाई कार्बाही गर्न ? प्रहरीमा उजुरी दिँदा कुनै नतिजा नआएपछि मैले पनि यस्तो अभियान चलाएको हुँ,” चौहानले टेकपानासँगको कुराकानीमा बताइन् ।
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भने सामाजिक सञ्जालमा देखिने विकृतिलाई दण्ड र कारबाहीले मात्रै समाधान गर्न नसकिने बताउँछन् । उनका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या यति विशाल छ कि घृणायुक्त अभिव्यक्ति दिने सबैलाई पक्राउ गरेर साध्य नै छैन । त्यसैले दण्डात्मकभन्दा नियन्त्रणमूखी उपाय अपनाउनु बुद्धिमानी हुन्छ ।
उनले ‘साइबर’ आफैँमा अपराध नभई एउटा माध्यम मात्र भएको प्रस्ट्याउँदै यसैका आधारमा बनाइएका कानुनको समीक्षा गर्नुपर्नेमा जोड दिए । “साइबर माध्यम हुँदैमा हरेक विषय साइबर अपराध हुँदैन,” मल्लले भने, “यसका लागि विद्युतीय कारोबार ऐनमा भएका कतिपय व्यवस्थामाथि नै सरकारले पुनर्विचार गर्न जरुरी छ ।”
प्रहरीको क्षमता वृद्धिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै उनले भने, “अहिलेकै अवस्थामा प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा आएका उजुरीको चाङ फर्छ्यौट गर्न ३-४ वर्ष लाग्ने अवस्था छ । स्रोत, साधन र जनशक्ति नदिई प्रहरीलाई मात्रै नियन्त्रण गर भन्नु व्यवहारिक हुँदैन ।”
सामाजिक सञ्जालमा हुने गालीगलौज र घृणायुक्त टिप्पणीलाई बेवास्ता गर्नु पनि पीडितका लागि उत्तम उपाय हुन सक्ने उनले सुनाए । आफ्नो अनुभव उल्लेख गर्दै मल्लले भने, “मलाई पनि सामाजिक सञ्जालमा धेरै गाली आउँछन्, तर म त्यस्ता टिप्पणी हेर्दिनँ र पछि पनि लाग्दिनँ । कतिपय अवस्थामा यस्ता गतिविधिलाई बेवास्ता गर्दा ती आफैँ निस्तेज हुन्छन् ।”
घृणायुक्त टिप्पणी लेख्ने व्यक्ति आफैँ पनि सचेत हुनुपर्नेमा जोड दिँदै उनले भने, “मानिसहरूले सामाजिक सञ्जालमा आफू र पीडित मात्रै छौँ भन्ने सोच्छन् । तर त्यो गलत हो । त्यहाँ उनीहरूलाई परिवार, आफन्त र सारा समाजले हेरिरहेको हुन्छ । आफ्नो परिवारले देख्दा के सोच्लान् भन्ने मात्रै विचार गर्ने हो भने पनि यस्ता गतिविधि धेरै कम हुन्छन् ।”
कलाकारहरूले नकारात्मक र अश्लील तथा अपाच्य शब्द टिप्पणी गर्ने प्रयोगकर्ताको स्क्रिनशट सार्वजनिक गरिसकेपछि ती प्रयोगकर्तालाई हुने आत्मग्लानीले पनि डीआईजी मल्लको भनाइ पुष्टि गर्छ । “अब कमेन्ट गर्दिनँ, मलाई अन्तिम पटक माफ दिनुहोस् । मबाट अनजानमा गल्ती भयो” भन्ने महसुस त्यति बेला मात्र भएको छ, जति बेला कलाकारले पोस्टका रूपमा स्क्रिनशट सार्वजनिक गर्छन् । कमेन्ट गर्दा कसैलाई थाहा हुन्न भन्ने मान्यता राखेर पनि धेरैको नकारात्मक कमेन्ट र इनबक्समै गाली गर्ने गरेको पनि देखिन्छ । यसका पछाडिको कारण नैतिक शिक्षाको कमी रहेको डीआईजी मल्ल ठान्छन् ।
“पहिले कलाकारलाई मुस्किलले पत्रिकामा मात्र देख्न सकिन्थ्यो । प्रत्यक्ष संवाद वा अन्तर्क्रिया गर्न सक्ने अवस्था थिएन । अहिले सामाजिक सञ्जालले यसलाई सहज बनाएको छ । तर, सामाजिक सञ्जालमा के गर्ने र के नगर्ने भन्ने विषयमा नैतिक ज्ञान नहुँदा यस्ता गतिविधि बढ्दै गएको देखिन्छ,” मल्लले थपे ।
सामाजिक सञ्जालमा कलाकारले आफूलाई घृणायुक्त टिप्पणी गर्नेको प्रोफाइल सार्वजनिक गर्न थालेको विषयमा साइबर ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उजुरीको चाप र सीमित स्रोत साधनका कारण सबै घटनामा तत्कालै अनुसन्धान गर्न सम्भव नहुने स्पष्ट पारे ।
कलाकारले आफूलाई सामाजिक सञ्जालमा दुःख दिने प्रयोगकर्ताको विरुद्धमा चलाएको अभियानबारे टिप्पणी गर्दै उनले भने, “उहाँहरूलाई यसरी आफ्नो कुरा राख्दा शान्ति मिल्छ भने त्यो उहाँको व्यक्तिगत रोजाइ हो । तर, कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिने यस्ता गतिविधिले भोलि उहाँलाई नै नकारात्मक असर पार्न पनि सक्छ ।”
ब्युरोले राजनीतिक पहुँचका आधारमा मात्र काम गर्ने गरेको आरोपलाई खण्डन गर्दै अवस्थीले पछिल्लो १०-११ महिनामा मात्रै यस्ता प्रकृतिका १,२६२ ओटा उजुरी दर्ता भएको जानकारी दिए । उनले भने, “हामी कहाँ माननीय र सम्माननीय व्यक्तिहरू विरुद्ध गरिएका पोस्ट र कमेन्टका उजुरी पनि थुप्रै छन् । जसमा हामीले अनुसन्धान अगाडि बढाउन सकेका छैनौँ । स्रोत साधन र प्रविधिको सीमितताका कारण सबै घटनालाई प्राथमिकतामा राख्न सकिँदैन ।”
ब्युरोले केही गरेको छैन भन्दै आफ्नो तरिकाले सार्वजनिक गर्नुभन्दा अन्य कानुनी विकल्पबारे पनि सोच्न सकिने उनले सुझाए । “यदि ब्युरोले कुनै कारणवश उजुरी हेर्न सकेन भने पीडितले सिधै जिल्ला अदालतमा पनि निवेदन दिन सक्ने कानुनी व्यवस्था छ,” अवस्थीले भने, “ब्युरोमा हजारौँ उजुरी आउँछन्, तर हाम्रो क्षेत्राधिकार, प्राविधिक जटिलता र जनशक्तिको अभावले गर्दा सबैमा सफल भइन्छ भन्ने पनि छैन ।”
उनले कुनै पनि उजुरीलाई बेवास्ता नगर्ने, तर अनुसन्धान प्रक्रियाले समय लिने भएकाले धैर्यता अपनाउन पनि आग्रह गरे । हरेक उजुरीलाई ब्युरोले एउटै दृष्टिकोणले हेर्ने गरेको बताउँदै उनले नेपाल प्रहरी युरोप वा अमेरिकाको जस्तो प्रविधिमा सम्पन्न नभएकाले सबैले वास्तविकता बुझिदिनुपर्ने बताए ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ १९:१८
सामाग्री श्रोत :
टेक पाना