चितवन- क्यान्सर बिरामीहरूका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २४सै घण्टा उपलब्ध हुने हटलाइन मोबाइल सेवा (९८५५०८१५०१) सुरु गरेको छ।
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मंगलबार उक्त सेवाको औपचारिक सुरुवात गरेका छन्। यो सेवाले क्यान्सर बिरामी र तिनका परिवारलाई घरमै बसेर विशेषज्ञको परामर्श लिने अवसर प्रदान गर्ने र उपचार प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
अस्पतालको मेडिकल अंकोलोजी विभागका प्रमुख डा गुरु शरण साहका अनुसार यो हटलाइन सेवा क्यान्सर उपचार गराइरहेका, पहिलो पटक क्यान्सर पहिचान भएका, वा क्यान्सर निको भएर पुनः देखिएका बिरामीहरूका लागि लक्षित छ। विशेषगरी दुर्गम क्षेत्रमा रहेका बिरामीहरूले यो नम्बरमार्फत तत्काल परामर्श लिन सक्नेछन्।
‘यो सेवा क्यान्सरको उपचारपछि घर गएका बिरामीलाई ज्वरो, वान्ता, वा पखाला जस्ता जटिलताहरू देखिएमा तुरुन्त सुझाव दिन र आवश्यक परे अस्पताल रिफर गर्न सहयोगी हुनेछ,’ डा साहले भने।
उनका अनुसार यो सेवाले नन-क्यान्सर अस्पतालका चिकित्सकहरूलाई पनि क्यान्सरको प्रारम्भिक उपचार र रिफरल प्रक्रियामा मार्गदर्शन गर्नेछ। ‘दुर्गम क्षेत्रका डाक्टरहरूलाई क्यान्सर बिरामीको प्रारम्भिक व्यवस्थापनबारे जानकारी नहुन सक्छ। हामी उनीहरूलाई फोनमार्फत तत्काल सहयोग गर्नेछौँ,’ डा साहले थपे।
यो हटलाइन सेवाले क्यान्सर बिरामीले सामान्य समस्याका लागि बारम्बार अस्पताल धाइरहनुपर्ने बाध्यतालाई कम गर्नेछ। डा साहले भने ‘सामान्य लक्षणहरू भएमा फोनमार्फत सुझाव लिएर घरमै उपचार गर्न सकिन्छ। तर जटिल अवस्था भएमा हामी तुरुन्त अस्पताल आउन सल्लाह दिन्छौँ।’ यो सेवाले बिरामीको समय र खर्च बचत गर्नुका साथै उपचारमा आत्मविश्वास बढाउने विश्वास गरिएको छ।
यो पहल ‘फाउन्डेशन कोर्स टु: एक्युट अंकोलोजी सर्भिस’ तालिमको आधारमा सुरु गरिएको हो। अस्पतालले आफ्नो आकस्मिक कक्षलाई पनि अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार वैज्ञानिक र व्यवस्थित बनाउने योजना बनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यो हटलाइन सेवाले दुर्गम क्षेत्रका बिरामीहरूलाई लक्षित गरेको बताए। ‘हामी बिरामीको लक्षण र रिपोर्टका आधारमा तत्कालीन र दीर्घकालीन उपचारबारे सुझाव दिनेछौँ। यो सेवाले क्यान्सर उपचारलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनेछ,’ उनले भने। तालिमप्राप्त चिकित्सक र नर्सहरूले २४सै घण्टा यो हटलाइनमार्फत सेवा प्रदान गर्नेछन्।
यो हटलाइन सेवाले क्यान्सर बिरामी र तिनका परिवारलाई ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी दुर्गम क्षेत्रमा बस्ने बिरामीहरूले अब घरमै बसेर विशेषज्ञको सल्लाह लिन सक्नेछन्। यो पहलले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई बिरामीमैत्री र नवप्रवर्तनशील स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित गरेको छ। ‘हामी क्यान्सर बिरामीको जीवन सहज बनाउन र उपचारमा पहुँच विस्तार गर्न निरन्तर लागिपरेका छौँ,’ डा पौडेलले भने।
सामाग्री श्रोत :
swasthyakhabar

