२०८२ श्रावण ३ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण ३ शुक्रबार

एनसेल र नेपाल टेलिकमको मोबाइल डेटा भरपर्दो नभएपछि नेपाल इन्टरनेटको ग्लोबल इन्डेक्सबाट बाहिर

काठमाडौँ । देशका दुई मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको मोबाइल डेटा स्पिड भरपर्दो नदेखिएपछि नेपाल एक वर्षदेखि ग्लोबल इन्डेक्सबाट बाहिर परेको छ । अमेरिकी इन्टरनेट कम्पनी ओकलाको इन्टरनेट स्पिड ग्लोबल-इन्डेक्समा सन् २०१७ देखि लगातार रूपमा समावेश रहँदै आएको नेपाल जुलाई २०२४ देखि भने हट्न पुगेको हो ।

ओकलाले आफ्नो इन्टरनेट स्पिड टेस्ट ग्लोबल इन्डेक्समा जुन २०२४ देखि मोबाइल तथा फिक्स ब्रोडब्यान्डका लागि प्रिसिजन थ्रेसहोल्ड (Precision Threshold) नामक नयाँ नियम लागु गरेको छ । जसको आधारमा कुनै देशलाई स्पिड टेस्टको रिपोर्ट तथा इन्डेक्समा समावेश हुने वा नहुने निर्धारण गरिन्छ । यही नियम लागु भएसँगै नेपाल उक्त इन्डेक्सबाट हराएको हो ।

नयाँ नियम अनुसार प्रत्येक महिनाको रिपोर्ट बनाउँदा ओकलाले त्यो महिनाका साथै अघिल्ला दुई महिनाको डेटा समेत मिलाएर तीन महिनाको रोलिङ क्वार्टरलाई आधार बनाउँछ । उक्त तीन महिनामा इन्टरनेटको औसत डाउनलोड स्पिड ±५% भित्र आउनु पर्ने हुन्छ । यदि परिणाम फरक पर्न गएमा इन्टरनेट भरपर्दो नभएको मानिन्छ र उक्त देशलाई इन्डेक्सबाट हटाइन्छ ।

अर्थात् कुनै देशको इन्टरनेट स्पिड ओकलाको ग्लोबल इन्डेक्समा देखिनको लागि सम्बन्धित देशको डेटा नियमित र भरपर्दो हुनुपर्छ । यदि परीक्षणको नतिजा धेरै फरक पर्न गएमा सो देशलाई इन्डेक्सबाट बाहिर राखिन्छ ।

जब कि त्यसअघि मोबाइल तथा फिक्स ब्रोडब्यान्डको इन्डेक्सका लागि देशभरबाट ३०० युनिक युजरको टेस्ट रिजल्टलाई पर्याप्त मानिन्थ्यो । मे २०२४ मा मोबाइल डेटामा नेपाल औसत डाउनलोड स्पिड १२.९४ एमबीपीएस, अपलोड स्पिड ८.४४ एमबीपीएस र लेटेन्सी २२ मिलि सेकेन्डका साथ विश्वको १३८ मुलुक रहेको थियो । त्यसपछि भने नेपाल यो सूचीबाटै बाहिरियो र अहिले देशको मोबाइलको औसत स्पिड यकिन छैन ।

तर फिक्स ब्रोडब्यान्डमा ९० औँ स्थानमा

मोबाइल डेटा तथा इन्टरनेटमा नेपालको विश्व वरियता खोसिए पनि इन्टरनेट सेवा प्रदायकहरूले उपलब्ध गराउँदै आएको फिक्स इन्टरनेट सेवामा भने विश्वको ९० मुलुकमा छ । इन्डेक्स अनुसार नेपालमा फिक्स इन्टरनेटको औसत डाउनलोड स्पिड ७६.१४ एमबीपीएस, औसत अपलोड स्पिड ६०.५१ एमबीपीएस र लेटेन्सी ५ मिलि सेकेन्ड रहेको छ ।

मे २०२४ मा विश्वको ७५ औँ स्थानमा उक्लिएको भए पनि एक वर्षको अन्तरालमा नेपालको फिक्स इन्टरनेट तर्फको वरियता १५ स्थानले पछाडि धकेलिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १६:१९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?