काठमाडौँ । साओमीले नयाँ फोल्डेबल स्मार्टफोन मिक्स फ्लिप टु (Mix Flip 2) सहित एआई प्रविधिमा आधारित नयाँ स्मार्ट चस्मा सार्वजनिक गर्ने भएको छ । आज चीनमा हुने एक कार्यक्रममार्फत कम्पनीले यी डिभाइस सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसअन्तर्गत मिक्स फ्लिप टुका साथै रेड्मी के८० अल्ट्रा, साओमी प्याड सेभेन एस प्रो, रेड्मी के प्याड, नयाँ टीडब्लूएस इयरफोन, वाच एस फोर, स्मार्ट ब्यान्ड १० र ओपन इयरफोन्स प्रो समेत सार्वजनिक गर्नेछ । कार्यक्रमको अर्को आकर्षण भनेको कम्पनीको नयाँ इलेक्ट्रिक एसयूभी ‘साओमी वाई यू सेभेन (Xiaomi YU7) पनि हो ।
साओमीले सार्वजनिक गर्ने नयाँ स्मार्ट चस्मा एआई प्रविधिमा आधारित रहेको छ । कम्पनीले वीबोमा सार्वजनिक गरेको टिजर अनुसार यो चस्मालाई ‘Next Generation of Personal Smart Device’ भनिएको छ । सामान्य सनग्लास जस्तै देखिने तर बाक्लो फ्रेम भएको यो चस्मामा सुनौलो रंगमा Xiaomi लेखिएको देखिन्छ ।
उक्त चस्मामा इनबिल्ट क्यामेरा हुनेछ र ‘फर्स्ट पर्सन भ्यु’ भिडिओ कैद गर्न सकिने कम्पनीको दाबी छ । प्रयोगकर्ताले चस्मामै प्रश्न सोध्न सक्ने र उत्तर स्पिकरमार्फत रियल टाइममा सुन्न सक्ने सुविधा हुनेछ ।

साओमीको एआई चस्माले मेटा र रे-वानको स्मार्ट चस्मासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । एप्पल र गुगलजस्ता ठुला प्रविधि कम्पनीहरू पनि एआईयुक्त वेयरेबल्स ल्याउने तयारीमा जुट्दा चिनियाँ कम्पनीले आफूलाई यो उभ्याएको हो ।
साओमीले आज नै सार्वजनिक गर्न लागेको मिक्स फ्लिप टुमा ४.१ इन्चको कभर डिस्प्ले र ६.८६ इन्चको इनर डिस्प्ले हुनेछ । यो फोन स्न्यापड्रागन ८ एलिट चिपसेट र ५,१६५ एमएएच ब्याट्रीसहित आउनेछ, जसमा ५० वाटको वायरलेस चार्जिङ सुविधा हुनेछ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ ७:१२
सामाग्री श्रोत :
टेक पाना