२०८२ असार १२ बिहीबार
२०८२ असार १२ बिहीबार

ट्रम्पले ल्याएको फोन साँच्चै ‘मेड इन अमेरिका’ हो ? उठ्यो उत्पादनमाथि नै प्रश्न

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता सार्वजनिक गरेको नयाँ स्मार्टफोन ‘टी वन’ (T1) फोन ‘मेड इन अमेरिका’ दाबीका कारण विवादमा तानिएको छ । ट्रम्प अर्गनाइजेसनले यस फोनलाई ‘पर्फर्मेन्सका लागि डिजाइन गरिएको र यूएसएमा गर्वका साथ निर्मित पातलो र सुनौलो स्मार्टफोन’ भनेर वर्णन गरेको छ ।

तर फाइनान्सियल टाइम्सको हालैको एक रिपोर्टअनुसार यस फोनले ‘मेड इन अमेरिका’ को ट्याग पाउन कठिन हुनेछ । ट्रम्प मोबाइलका प्रवक्ताले उक्त मिडियालाई दिएको बयानमा ४९९ डलरको टी वन फोन ‘अलाबामा, क्यालिफोर्निया र फ्लोरिडा’ मा उत्पादन भएको बताएका छन् । तर, उनले उत्पादन साझेदारहरू वा अमेरिकी निर्मित कम्पोनेन्टहरू कसरी प्राप्त गर्ने भन्ने बारेमा कुनै विवरण दिएका छैनन् । यसका अतिरिक्त, टी वन फोन निर्माण हुने फ्यासिलिटीबारे पनि कुनै जानकारी उपलब्ध छैन ।

प्युरिज्मका सीईओ टोड वीभरका अनुसार ट्रम्प मोबाइलले वाचा गरेको स्पेसिफिकेसन सहितको स्मार्टफोन अमेरिकामा बनाउन गाह्रो छ । “जबसम्म ट्रम्प परिवारले वर्षौंको काममा कसैलाई थाहा नदिई गोप्य रूपमा सुरक्षित, स्वदेशी वा नजिकको उत्पादन सञ्चालन (फ्याब्रिकेसन अपरेसन) निर्माण गर्दैन, तबसम्म उनीहरूले वाचा गरेको कुरा पूरा गर्न असम्भव छ,” उनले भनेका छन् ।

प्युरिज्मको लिब्रम फाइभ (Librem 5) मात्र हालसम्म ‘मेड इन अमेरिका’ लेबल बोक्ने एक्लो फोन हो । तर, यो कम्पनीले अमेरिकी उत्पादनमा ध्यान केन्द्रित गर्दा सामसङ वा एप्पलजस्ता ठुला स्मार्टफोन निर्माताहरूसँग सफ्टवेयर वा हार्डवेयर स्पेसिफिकेसनमा प्रतिस्पर्धा गर्न सकेको छैन ।

चिनियाँ फोनको रिब्रान्डेड संस्करणको आशंका

टी वन फोनको स्पेसिफिकेसन हेर्दा यो भिभो र युमिडिजी (Umidigi) जस्ता चिनियाँ निर्माताहरूका स्मार्टफोनसँग मिल्दोजुल्दो देखिन्छ । यसकारण टी वन फोन कम लोकप्रिय ब्रान्डको सस्तो चिनियाँ फोनको रिब्रान्डेड संस्करण हुन सक्ने संकेत गर्छ ।

अमेरिकी फेडरल ट्रेड कमिसनका अनुसार, ‘मेड इन द यूएसए’ लेबल प्राप्त गर्नका लागि टी वन फोनका लगभग सबै कम्पोनेन्टहरू अमेरिकामा बनेको हुनुपर्छ । यसले ट्रम्पको टी वन फोनको मेड इन अमेरिका दाबीलाई थप चुनौतीपूर्ण बनाएको छ ।

सार्वजनिक गरिएको टी वन फोनको तस्बिरमा एउटा सुनौलो रङ्गको डिभाइस देखाइएको छ, जसमा ‘मेक अमेरिका ग्रेट अगेन’ वाक्यांश कुँदिएको छ । अर्को विवरणमा भने फोनको सुनौलो रङ्गको धातुको खोलमा अमेरिकी झण्डा कुँदिएको देखाइएको छ ।

यद्यपि यो नयाँ मोबाइल सेवा र स्मार्टफोनको घोषणाले प्रविधि बजारमा नयाँ तरङ्ग भने ल्याएको छ । तर यसको व्यावसायिक सफलता र यसमाथिका विवादहरू आगामी दिनमा थप स्पष्ट हुँदै जालान् ।

ट्रम्पसँग सम्बन्धित लाइसेन्स सम्झौता र ब्रान्डेड सामग्री बेच्ने अन्य सम्झौताहरूले नैतिकताको प्रश्न समेत उब्जिने गरेका छन् । तर यस्ता सम्झौताहरूले राष्ट्रपति ट्रम्प र उनको परिवारलाई थोरै आर्थिक जोखिममा आफ्नो सम्पत्ति विस्तार गर्ने फाइदाजनक अवसर प्राप्त भइरहेको छ । 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ ८:१२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट