काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो ग्राहक सेवालाई थप परिष्कृत र प्रभावकारी बनाउन एआई प्रयोग गर्ने भएको छ । देशभर १० लाखभन्दा बढी ग्राहक रहेको कम्पनीले ग्राहक सेवालाई स्वचालित र व्यक्ति अनुकूल बनाउन एआई प्रविधिलाई आत्मसात् गर्ने भएको हो ।

यसका लागि वर्ल्डलिंकले नेपालकै एआई टेलिफोनी प्रणाली टिङ टिङ (Ting Ting) (टिङ टिङ) सँग साझेदारी गरेको छ । नेपालभर फैलिएका लाखौँ ग्राहकहरूसँग व्यक्तिगत रूपमा जोडिनु र उनीहरूलाई समयमै महत्त्वपूर्ण जानकारी पुर्याउनु वर्ल्डलिंक जस्ता ठुला कम्पनीहरूका लागि सधैँ एक चुनौतीको विषय बनिरहेको हुन्छ । विशेषगरी एकतर्फी सूचनाहरू (जस्तै: सेवा नवीकरण, मर्मत सम्भार, नयाँ अफर आदिबारे जानकारी तथा अपडेट) प्रदान गर्न ठुलो मात्रामा मानवीय स्रोत र समय खर्च हुन्छ । जसले ग्राहक सन्तुष्टिमा समेत प्रत्यक्ष असर पारिरहेको हुन्छ । यसै चुनौतीलाई मध्यनजर गर्दै वर्ल्डलिंकले एआई प्रविधि आत्मसाथ गर्ने भएको हो ।
अब टिङ टिङको अत्याधुनिक एआई टेलिफोनी प्रणालीको प्रयोग मार्फत वर्ल्डलिंकले यी सबै एकतर्फी सूचना प्रवाहलाई पूर्ण रूपमा स्वचालित र व्यवस्थित गर्ने बताइएको छ । यसले गर्दा प्रत्येक ग्राहकलाई व्यक्तिगत आवश्यकता अनुसारको सटीक जानकारी मानवीय हस्तक्षेप बिना समयमै पुर्याउन सम्भव हुनेछ ।
वर्ल्डलिंकले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत रूपमा नाम लिएर बिल भुक्तानीको रिमाइन्डर, सेवाको अवधिबारे जानकारी, प्राविधिक समस्याको अपडेट र विशेष अफरबारे जानकारी फोनमार्फत जानकारी दिनेछ । यसले ग्राहक सेवामा लाग्ने समय र स्रोतमा उल्लेख्य कटौती गर्ने र दक्षतामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

कम्पनीका सिनियर इन्जिनियरिङ म्यानेजर पुजन पियाले लाखौँ ग्राहकहरूसँग द्रुत गतिमा र व्यक्तिगत रूपमा जोडिनु सधैँ एक चुनौती रहँदै आएको बताए । यस्तोमा टिङ टिङको एआईले त्यसको सामना गर्ने एउटा उत्कृष्ट समाधान प्रदान गर्ने आशा उनको छ । “यस प्रविधिले हाम्रो सञ्चार प्रक्रियाहरूलाई अझ प्रभावकारी र सशक्त बनाउनेछ, जसको प्रत्यक्ष लाभ हाम्रा ग्राहकहरूलाई पुग्नेछ,” उनले भने ।
टिङ टिङले आफूलाई नेपालको पहिलो एआई टेलिफोनी प्रणाली भएको दाबी गर्दै आएको छ । जसले स्थानीय आवश्यकता र भाषालाई मध्यनजर गर्दै आफ्नै रिरी (Riri) नामक नेपाली टेक्स्ट-टु-स्पिच (TTS) इन्जिन विकास गरेको छ । जसले टाइप गरिएका मेसेजहरूलाई स्वाभाविक नेपाली बोलीमा रूपान्तरण गर्दछ ।
टिङ टिङका चिफ बिजेनेस अफिसर सोजन प्रजापतिले वर्ल्डलिंक जस्तो अग्रणी आईएसपीसँगको यो सहकार्यले नेपाली प्रविधि उद्योगमा नयाँ आयाम थपेको बताए । “यसले अन्य ठुला संस्थाहरूलाई पनि स्थानीय एआई सोलुसन अपनाउन प्रेरित गर्नेछ,” उनले भने ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १८:१४
सामाग्री श्रोत :
टेक पाना