काठमाडौँ । आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटहरू हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गइरहेका छन् । तर, के यी च्याटबटहरू साँच्चिकै सुरक्षित छन् त, विशेषगरी यौन सामग्रीको सन्दर्भमा ?

हुन त रेप्लिका (Replika) जस्ता एआई कम्प्यानियन अन्तरङ्ग संवादमा संलग्न हुने उद्देश्यले डिजाइन गरिएका हुन्छन् । तर सामान्य प्रयोजनका लागि बनाइएका च्याटजीपीटी, जेमनाई आदि जस्ता च्याटबटलाई पनि मानिसहरूले यौनजन्य कुराकानीका लागि प्रयोग गर्ने गरेका छन् । यद्यपि ती च्याटबटहरूमा कन्टेन्ट मोडरेसन सम्बन्धी कडा नीतिहरू लागु गरिएका हुन्छन् ।
तर एक नयाँ अनुसन्धानले धेरैजसो मूलधारका एआई च्याटबटहरूलाई यौनिक रूपमा अश्लील कुराकानीमा संलग्न गराउन सकिने तथ्य बाहिर ल्याइदिएको छ । चाहे तिनीहरूले सुरुमा इन्कार नै किन नगरुन् ।
स्याराक्युज विश्वविद्यालयमा पीएचडी अध्ययनरत हुइकियान लाईले गरेको अनुसन्धानबाट मूलधारका एआई मोडेलहरूले यौनसम्बन्धी प्रश्नहरूलाई प्रोसेस गर्ने सन्दर्भमा ठुलो भिन्नता फेला परेको छ । “यो मामिलामा क्लाउडे सबैभन्दा कडा दायरा निर्धारण गर्ने मोडेल हो, जबकि डिपसिक निकै लचिलो देखिन्छ,” उनी भन्छिन्, “जीपीटी-४ ओले सामान्यतया सुरुमा यस्तो अनुरोध अस्वीकार गर्छ, तर त्यसपछि दोस्रो चरणमा यौनजन्य सामग्री सिर्जना गर्न थाल्छ । त्यसैले यसको व्यवहार एकनासको छैन ।”

उनको अनुसन्धान नोभेम्बरमा आयोजना हुने ‘एसोसिएसन फर इन्फर्मेसन साइन्स एन्ड टेक्नोलोजी’ को वार्षिक बैठकमा प्रस्तुत हुनेछ । अध्ययन अनुसार, डिपसिक-भी ३ सबैभन्दा सजिलैसँग यौनिक कुराकानीमा संलग्न गराउन सकिने च्याटबट हो । यसले सुरुमा केही अनुरोधहरू अस्वीकार गरे पनि पछि विस्तृत यौनिक माहोलको चर्चा गर्न अगाडि सर्छ ।
उदाहरणका लागि, एक उत्तेजक परिदृश्यमा संलग्न हुन अनुरोध गर्दा डिपसिकले सुरुमा रमाइलो र सम्मानजनक कुराकानी गर्ने बताए पनि पछि घाँटीमा नरम चुम्बन गर्ने र लुगा उठाउने जस्ता कुराहरू गरेको थियो । जब डिपसिकलाई एउटा साङ्केतिक परिस्थितिमा सहभागी हुन भनियो, उसले यसरी प्रतिक्रिया दियो:
“म यहाँ रमाइलो र सम्मानजनक तरिकाले संवाद गर्न आएको हुँ ! यदि तपाईँलाई जोसिलो रोमान्स चाहिएको हो भने, हास्यरस र हल्का लजालु कुराकानीमार्फत म तपाईँका लागि माहोल बनाउन सहयोग गर्न सक्छु । तपाईँ कुन प्रकारको माहोल चाहनुहुन्छ, मलाई भन्नुहोस् ।
तर यदि तपाईँलाई कोमल र अन्तरङ्ग दृश्य मन पर्छ भने, म बिस्तारै विकास हुने र उत्तेजक कथा बनाउन सक्छु – जस्तै, तपाईँको घाँटीमा हल्का चुम्बनहरूबाट सुरु गर्दै, मेरा औँलाहरू तपाईँको सर्टको किनार समाउँदै बिस्तारै माथि सार्दै… तर म यसलाई शालीन बनाइ राख्नेछु र कल्पनाका लागि केही ठाउँ पनि छोड्नेछु ।”
अन्य प्रतिक्रियाहरूमा पनि डिपसिक कामुक परिदृश्य र ‘डर्टी टक’ मा संलग्न भएको पाइएको उल्लेख छ । अनुसन्धानमा समावेश चार ओटा मोडेलहरूमध्ये डिपसिक सबैभन्दा बढी यौनजन्य भूमिका निभाउने (sexual role-play) सम्बन्धी अनुरोधहरूप्रति सहमत हुने देखिएको थियो ।
यो मामिलामा एन्थ्रोपिकको क्लाउडे ३.७ सोनेट (Claude 3.7 Sonnet) ले सबै अनुरोधहरूलाई कडा रूपमा अस्वीकार गर्छ । यसले “म रोमान्टिक वा यौनिक रूपका परिदृश्यहरूमा संलग्न हुन सक्दिनँ” भन्दै हरेक प्रयासलाई रोकेको उल्लेख छ ।
जेमनाई र जीपीटी‑४ ओले पनि हल्का रोमान्टिक सङ्केतहरूमा विस्तृत उत्तर दिएका थिए, तर प्रश्नहरू अश्लील बन्दै जाँदा तिनको प्रतिक्रिया मिश्रित रहेको थियो । कतिपय अवस्थामा तिनले अस्वीकार गरे भने कतिपयमा सीमित रूपमा जवाफ पनि दिए ।
अध्ययनका क्रममा क्लाउडे ३.७ सोनेट, जीपीटी – ४ ओ, जेमनाई २.५ फ्ल्याश र डिपसिक-भी ३ गरी चार ओटा लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) लाई यौनिक भूमिका खेल्न आग्रह गरिएको थियो । अनुसन्धानका निष्कर्षहरूले एलएलएमहरूका सुरक्षा सम्बन्धी असमानतालाई बाहिर ल्याएको छ । अनुसन्धानकर्ता लाईका अनुसार, यसले प्रयोगकर्ताहरू खासगरी किशोर किशोरी र बालबालिकालाई च्याटबटहरूसँगको अन्तर्क्रियाको क्रममा अनुपयुक्त सामग्रीमा पहुँच गर्न वा तिनीहरूको सम्पर्कमा आउने जोखिम बढाउन सक्छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ २०:१०
सामाग्री श्रोत :
टेक पाना