काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी, तालिम र एक्सचेन्ज कार्यक्रमका भिसा आवेदकलाई आफ्नो सामाजिक सञ्जाल पब्लिक बनाउन अनुरोध गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गर्दै एफ (F), एम (M) र जे (J) क्याटेगरीका भिसाका लागि आवेदन दिने सबैले सामाजिक सञ्जालको प्राइभेसी सेटिङ ‘पब्लिक’मा राख्नुपर्ने उल्लेख गरेको हो ।

दूतावासले सामाजिक सञ्जाल पब्लिक बनाउँदा आवेदकको पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न सजिलो हुने जनाएको छ । प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित हुने भन्दै सूचनामा लेखिएको छ, “यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ ।”
अमेरिकी विदेश मन्त्रालयले ल्याएको यस नयाँ नियमअनुसार यदि कुनै आवेदकले सामाजिक सञ्जाल प्राइभेट राखेमा त्यसलाई गतिविधि लुकाउन खोजेको रूपमा व्याख्या गरिने उल्लेख छ । मन्त्रालयले सामाजिक सञ्जालमार्फत अमेरिकी सरकार, संस्था वा मूल्यप्रति घृणा वा दुश्मनी झल्काउने संकेत पाइएमा आवेदकमाथि विशेष निगरानी गरिने जनाएको छ ।
यसअघि ट्रम्प प्रशासनले गएको मे महिनामा विद्यार्थी भिसा अन्तर्वार्ता प्रक्रिया रोकेको थियो । भिसा प्रक्रिया पुनः सुरु गर्दै थप कडा जाँच प्रणाली लागू गरिएको हो ।

पछिल्लो अध्यावधिक: असार ११, २०८२ १८:२०
सामाग्री श्रोत :
टेक पाना