२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

स्मार्टफोनको लतबाट मुक्ति दिलाउने अनौठो ग्याजेट

काठमाडौँ । आजको डिजिटल युगमा स्मार्टफोनको लत एउटा विश्वव्यापी समस्या बनेको छ । मानिसहरू चाहेर पनि फोन प्रयोग कम गर्न सक्दैनन् । एप्पल र गुगल जस्ता कम्पनीहरूले स्क्रिन टाइम लिमिट जस्ता आफैँ नियन्त्रण गर्न सघाउने टुल उपलब्ध गराइरहेका छन् ।

तर यी धेरैजसो उपायहरू प्रभावहीन बनिरहेका छन् । यही चुनौतीलाई सम्बोधन गर्न गुगल र फेसबुकका पूर्व मार्केटिङ कार्यकारी एरिक एन्टोनावले ‘मेथाफोन’ (Methaphone) नामक एक अनौठो ग्याजेट ल्याएका छन्, जसले तपाईँलाई फोन चलाउने लतबाट मुक्ति पाउन सघाउने दाबी गरिएको छ ।

एन्टोनावलाई यो ग्याजेट बनाउने प्रेरणा आफ्नो परिवारसँग कफी पसलमा बस्दा आएको थियो । फोन चलाउने तीव्र इच्छा महसुस हुँदा उनले रमाइलो गर्दै भनेका थिए कि जसरी अफिमको लत भएकाहरूलाई मेथाडोन चाहिन्छ, त्यसैगरी आईफोनको लत भएकाहरूलाई ‘मेथाफोन’ चाहिन्छ । उनका किशोर छोराछोरी यो कुरा सुनेर हाँसेपछि, उनले यसलाई वास्तविकतामा बदल्ने निर्णय लिए ।

केही दिनमै, उनले च्याटजीपीटीको सहयोगमा फोनको आकारको, तर भित्र केही नभएको एउटा ग्याजेटको तस्विर बनाए । यसैबाट ६ इन्चको पारदर्शी एक्रिलिक स्ल्याब विकसित भयो, जसका कुनाहरू आईफोनजस्तै गोलो र किनाराहरू सिसाजस्तै देखिने हरियो रङ्गका थिए ।

हुन त हामीहरू सकेसम्म फोन कम प्रयोग गर्न चाहन्छौँ, तर यसमा थोरै मात्र सफल भइरहेका हुन्छन् । अन्य समाधानहरू भन्दा फरक मेथाफोनले खासै केही काम गर्दैन । यसको एक साधारण स्टेटमेन्ट छ – ‘यो फोन होइन’ । तर, प्रविधिमा अभ्यस्त हाम्रो संस्कृतिमा यो परियोजनाले व्यापक रूपमा ध्यान खिचेको छ ।

गत मे महिनामा, पहिलो ब्याचका मेथाफोनहरू आउँदा एन्टोनावले आफ्ना साथीहरूको प्रतिक्रिया लिन खोजे । क्याथरिन गोट्जे नामक एक व्यक्तिले टिकटकमा मेथाफोनबारे भिडिओ पोस्ट गरिन्, जहाँ उनी एक पसलमा अरू जस्तै झुकेकी थिइन्, तर फोन स्क्रोल गर्नुको सट्टा उनले पारदर्शी एक्रिलिक स्ल्याब स्क्रोल गरिरहेकी थिइन् । यो भिडिओ पाँच दिनभित्रै ५ करोड ३० लाख भन्दा बढीले हेरे । एन्टोनावका अनुसार त्यसपछि मेथाफोन व्यापक रूपमा विक्री भयो । उनले २५ अमेरिकी डलरमा मेथाफोन बिक्री गरे ।

स्ट्यानफोर्डको स्कुल अफ मेडिसिनमा लत अनुसन्धानकर्ता रहेकी तथा ‘डोपामाइन नेसन’की लेखिका एना लेम्बके द वायरसँग भन्छिन्, “हामी फोनहरूलाई आफ्नो शरीरको नजिक राख्छौँ, दिनमा अनगिन्ती पटक छुन्छौँ ।”

मेथाफोन जस्ता उपकरणले आदतको चक्रलाई छोटो पार्न मद्दत गर्न सक्छ, जहाँ तपाईँ गतिविधिहरू त गर्नुहुन्छ, तर त्यसको कुनै प्रतिफल पाउनुहुन्न । उनी यसलाई धूम्रपान गर्ने व्यक्तिले निकोटिन रहित भेप प्रयोग गरेको सन्दर्भसँग तुलना गर्छिन् ।

एन्टोनावले मेथाफोनको भविष्य व्यक्तिगत ग्राहकले गर्ने खरिदमा भन्दा पनि ठुला-ठुला प्रयोगहरूमा देखेका छन् । उदाहरणका लागि, रेस्टुरेन्टहरूले मेनुमा मेथाफोन उपलब्ध गराउने, ताकि मानिसहरूले आफ्नो ध्यान भङ्ग नगरी खाना खान सकून् ।

मेथाफोन फोनको लत सम्बन्धी समस्यालाई व्यङ्ग्य गर्ने यो नै पहिलो प्रयास भने होइन । सन् २०१४ मा सुरु भएको नोफोन नामक एक प्लास्टिकको इट्टा पनि फोनका लतमा फसेका मानिसहरूका लागि नक्कली फोनको रूपमा बजारमा आएको थियो ।

पछिल्लो अध्यावधिक: असार ११, २०८२ १७:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट