डा. विष्णु प्रसाद अधिकारी

‘प्रत्येक छालाको नवप्रवर्तन निमित्त एआईको प्रयोगु भन्ने मूल नाराका साथ आजका दिन यो वर्षको ’विश्व सेतो दुबी दिवस’ मनाइँदै छ । सेतो दुबीको बारेमा चिकित्सा क्षेत्रमा थुप्रै खोज, अनुसन्धान र उपचार पद्धति विकसित हुँदै गइरहेको छ । तथापि हाम्रो जस्तो भूभागमा सेतो दुबीको बारेमा अझै पनि जनचेतनाको अभावले गर्दा रोग लुकाउने प्रवृतिले व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ । अझ कतिपय त समाजबाटै बहिस्कृत हुनु परेको उदाहरण पनि छन् ।
सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ । विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय मानिस मध्ये एक वा दुइ व्यक्तिमा सेतो दुबीको समस्या भएको पाइएको छ । सेतो दुबीको प्रमुख कारण भनेको छालालाई रंग प्रदान गर्ने तत्व (मेलानिन)लाई उत्पादन गर्ने कोषिका (मेलानोसाइट) नष्ट भएर हो ।
नष्ट हुनुको कारण शरीरमा भएको रोग प्रतिरोधात्मक कोषिका अस्वाभाविक रुपमा सक्रिय भएर हो । त्यस्तै बंशाणुगत रुपमा पुस्तान्तरण हुनु पनि एउटा पक्ष हो भने विभिन्न अध्ययनहरुले थाइराइड या मधुमेह जस्ता रोग संग पनि सेतो दुबीको सम्बन्ध पुष्टि गरेका छन् । यद्दपि सेतो दुबी भनेको पूर्व जन्मको पाप हो भन्ने अन्धविस्वास र रुढिबादी सोच हाम्रो देशको केहि भागमा छ जुन नितान्त गलत र भ्रम हो । अझ कतिपय व्यक्तिमा त माछा र दूध एकै साथ सेवन गर्दा सेतो दुबी उत्पन्न हुन्छ भन्ने भ्रम छ जसलाई चिकित्सा विज्ञानले अहिले सम्म प्रमाणित गरेको छैन । त्यस्तै अमिलो खानाले सेतो दुबी गराउँछ भन्ने कुरा पनि अहिले सम्म बहसकै बिषय हो । यद्दपि पछिलो समयमा भने केहि अध्ययन र अनुसन्धानले यो कुरालाई गलत प्रमाणित गरेको छ ।

सेतो दुबीको समस्या जुनसुकै वर्ग वा उमेरमा देखिन सक्छ । शरीरको अनुहार लगायत जुनसुकै भागमा नचिलाउने, नदुख्ने अनि दूध जस्तै सेतो रंगका दाग या धब्बा देखिनु नै सेतो दुबीका प्रमुख लक्षण हुन् । कुनै दाग एउटा अनि नबढ्ने मात्र पनि हुन सक्छ भने केही दागहरु धेरै अनि आकारमा बढ्दै जाने हुन्छन् । चोटपटक लागेको ठाउँमा नयाँ सेतो दागहरु पनि देखिन सक्छन् । यदि आफ्ना शरीरमा यस्ता सेता दाग देखिएका छन् र भएका सेतो दाग पनि बढ्दै गएका छन् भने स्वास्थ्य संस्थामा चिकित्सकको परामर्श लिनुपर्छ । यस्ता व्यक्तिले सके सम्म प्लास्टिकका चप्पल प्रयोग गर्नु हुँदैन । छालालाई अनावश्यक चोटबाट जोगाउनु पर्छ र चिकित्सकको उचित सल्लाह लिनु पर्छ । आँफै अनावश्यक औषधी लगाउने र खाने गर्नाले समस्या झन् जटिल बन्न सक्छ।
सेतो दुबीको उपचार चुनौतीपूर्ण छ र विभिन्न कुरामा निर्भर गर्दछ। दाग कति छ, कुन भागमा छ,दाग बढेको छ छैन जस्ता कुराहरु चिकित्सकले निर्धारण गरिसकेपछि मात्र थप व्यवस्थापन सहज हुन्छ । तसर्थ, सेतो दुबी भएको व्यक्तिले आफ्नो समस्या चिकित्सकसंग नहिच्किचाई भन्नु पर्छ र सोहि अनुसार नियमित सल्लाह सुझाब लिनु पर्छ । सेतो दुबी कुनै प्राण घातक रोग होइन । छुँदैमा यो दाग सर्दैन। तसर्थ, यी व्यक्तिहरुलाई हाम्रो माया अनि हौसलाको अत्यन्त खाँचो छ । छालाको रंग खोजिरहेका उनीहरुलाई खुसियाली को रंग भरिदिने जमर्को हामी सबैले गर्नुपर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ