काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियामाथि न्यायपालिकामाथि असंवैधानिक हस्तक्षेप गरेको गम्भीर आरोप लगाउँदै उनको कल डिटेल रेकर्ड (सीडीआर) सहितका प्रमाणमाथि छानबिन गर्न माग गरेको छ ।

संगठनको सर्वोच्च अदालत विभागीय समितिले मंगलबार एक विज्ञप्ति जारी गरी कानुनमन्त्री चौरसियाले पदको दुरुपयोग गर्दै स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार गरेको आरोप लगाएको छ ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचार र प्राप्त प्रमाणलाई आधार मान्दै संगठनले मन्त्री चौरसियाले विचाराधीन मुद्दामा प्रभाव पार्न न्यायाधीशहरूलाई बारम्बार फोन गरेको, मुद्दा हेर्ने तारिख र प्राथमिकतामा अनावश्यक चासो देखाएको तथा न्यायाधीशहरूको सरुवा र पदस्थापनमा समेत व्यक्तिगत रुचि लाद्न खोजेको आरोप लगाएको छ ।
“न्यायपरिषद्को सदस्यको हैसियतमा रहँदै यस्ता कार्य गर्नु संविधान, कानुनी शासन र स्वतन्त्र न्यायपालिकाको अवधारणाविपरीत अत्यन्त खेदजनक, आपत्तिजनक र खतरनाक व्यवहार हो,” विज्ञप्तिमा भनिएको छ ।

संगठनले कानुनमन्त्रीको कल डिटेल रेकर्ड लगायतका प्रमाणहरूको विश्लेषण गरी दोषी ठहर भएमा संविधान र कानुनअनुसार कारबाही अघि बढाउन माग राखेको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ ९:४५
सामाग्री श्रोत :
टेक पाना