२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको डीपीआर बनाउँदै कोरियाली कम्पनी, करिब ७ अर्ब लगानी गर्न तयार

काठमाडौँ । नेपालमा ग्रीन हाइड्रोजन ग्यास उत्पादनमा अर्बौँ लगानीका लागि विदेशी कम्पनीले प्रस्ताव गरेको छ । सौर्य ऊर्जा र ग्रीन हाइड्रोजनमा केन्द्रित दक्षिण कोरियाली कम्पनी जी-फिलोस कोअपरेटिभ लिमिटेडले नेपालमा हरित हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट निर्माणका लागि प्रस्ताव गरेको हो ।

उक्त परियोजनाका लागि कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न लगानी बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । १५ वैशाखमा कम्पनीले बोर्डमा परियोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेको थियो । १३ जेठमा बसेको लगानी बोर्डको ६३ औँ बैठकले उक्त कम्पनीलाई नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको हो । 

लगानी बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार अब कम्पनीले नेपालमा ‘हरित हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापना’ परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उनका अनुसार ग्रीन हाइड्रोजन ग्यास उत्पादनका लागि नेपालमा आएको यो पहिलो विदेशी लगानी सम्बन्धी प्रस्ताव हो । उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्‌बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युत्‌को रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।  

कम्पनीले नेपालमा हरित हाइड्रोजन ग्यास उत्पादनका लागि ५० मिलियन डलर (करिब ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ) लगानी प्रस्ताव गरेको उनले जानकारी दिए । उक्त परियोजना अन्तर्गत कम्पनीले नेपालमा चरणबद्ध रूपमा ग्रीन हाइड्रोजन विस्तार गर्ने योजना अघि सारेको छ । जसअन्तर्गत सुरुवातमा २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्ने प्रस्ताव छ । सोपछि बजारको माग तथा सरकारी नीति अनुसार भविष्यमा उत्पादन थप विस्तार गर्ने भनिएको छ ।

उत्पादन हुने ग्रीन हाइड्रोजनलाई उद्योग (मल तथा स्टिल उद्योग), अमोनियम नाइट्रेट उत्पादन तथा ऊर्जा भण्डारण प्रणालीहरूमा प्रयोग गरिने बताइएको छ । साथै नेपालमा उत्पादन भएको हरित हाइड्रोजन ग्यास भारत र चीन जस्ता छिमेकी मुलुकहरूमा निर्यातको ठुलो सम्भावना समेत रहेको उनले बताए । 

लगानी बोर्डले यस परियोजनालाई कसरी अघि बढाउने भनेर छलफलका लागि एउटा कार्यदल नै गठन गरेको छ । कार्यदलको बैठक भने बस्न बाँकी रहेको उनले सुनाए । उपाध्यायले भने, “यो विषय अलि जटिल पनि छ । कार्यदलको बैठक बसेपछि परियोजना अघि बढाउन के गर्ने भनेर थप निर्णय हुन्छ ।” यस क्षेत्रका विशेषज्ञहरूसँग पनि उक्त लगानीका बारेमा सल्लाह लिइने उनले बताए । 

कम्पनीले नेपालभर कुन स्थानमा प्लान्ट बनाउने भनेर सम्भाव्यता अध्ययन गर्ने छ । उक्त रिपोर्ट लगानी बोर्डले स्वीकृत गरेपछि कम्पनीले नेपालमा लगानी भित्र्याएर काम अघि बढाउन सक्ने उनले बताए । 

उक्त प्रस्तावले नेपालको ग्रीन हाइड्रोजन उत्पादनमा विदेशी लगानीकर्ताको आकर्षण देखाएको काठमाडौँ विश्वविद्यालय अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख तथा सह-प्राध्यापक विराजसिँह थापाले बताए ।

उनले भने, “यो परियोजना सफलतापूर्वक अगाडि बढ्यो भने यस्ता धेरै वैदेशिक लगानीहरू नेपालमा आउँछन् । कुनै दिन नेपालमा सयौँ मात्र हैन, हजारौँ मेगावाट बराबरको हाइड्रोजन प्रोजेक्टहरू अगाडि बढ्नेछन् ।” 

भविष्यमा ग्रीन हाइड्रोजन परियोजनाका लागि कयौँ वैदेशिक लगानीकर्ता नेपाल भित्रिन सक्ने सम्भावनाको उदाहरण उक्त कम्पनी भएको थापाले बताए । 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १६:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट