काठमाडौँ । सरकारी अनुदानको विषयमा भिडिओ रिपोर्ट बनाएर फेसबुकमा राखेपछि दुई जनामाथि साइबर अपराधको मुद्दा लागेको छ । लाक्पा तामाङको फेसबुक पेजबाट सार्वजनिक उक्त भिडिओलाई लिएर उनीसहित सोमबहादुर घिसिङविरुद्ध यस्तो मुद्दा दायर भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा गएको २ जेठमा तुलसी राईले जाहेरी दिएपछि साइबर अपराधमाको कसुरमा अनुसन्धान थालेको थियो । सोही आधारमा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या, झुटो, भ्रामक, अनर्गल र अपमानजनक सामग्री प्रकाशन गरेको अभियोग लाक्पा र घिसिङ उपर लगाइएको हो ।
यही ५ असारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ । दायर गरिएको अभियोग पत्रमा सोमबहादुर घिसिङले वास्तविक स्थानमै स्थानीयहरूसँग बुझेर रिपोर्टिङ गर्दै भिडिओ बनाएको र सो गलत नभएको दाबी गरेका छन् । “सत्य तथ्य ब्यहोराको भिडिओ मैले बनाएको हुँ,” उनले आफ्नो बयानका क्रममा भनेका छन्, “खासमा असल तथा वास्तविक कृषकहरूलाई घरेलुबाट अनुदान रकम आउँछ भन्ने कुरा पनि थाहा छैन र कतिपयले आशा राखे पनि पाएका छैनन् र पाइँदैन भन्ने गुनासो पनि रहेको छ । किन कि अनुदान पनि पार्टीका मानिसहरूले मात्र फाराम भरेर पाउने रहेछन् भन्ने कृषकहरूको जन गुनासो भएकोले यो कुरा उल्लेख गरिएको हो ।”
तुलसी राईले संयुक्त रूपमा फर्म खोलेर बनाएका खोरहरूमा सुँगुर पालेको भनिएको, तर नपालिएको र खोरहरू पनि नभएको देखेर आफूले भिडिओ बनाएको दाबी उनले गरेका छन् । “घरेलुबाट अनुदान असल कृषकले होइन, सिर्फ पार्टीका झोलेहरूले पाए, कागजमा मात्रै छ, स्थलगत न सुँगुर छ न खोर,” उनले खिचेर पोस्ट गरिएको भिडिओमा भनिएको थियो ।

अभियोग पत्रमा उल्लेख भए अनुसार तुलसी राईले मनकला लिम्बुसँग मिलेर संयुक्त रूपमा बहु उद्देश्य कृषि तथा पशुपालन फर्म दर्ता गरेका छन् । उक्त फर्मले घरेलु तथा साना उद्योग कार्यालय, धनकुटाबाट अनुदान रकम पाउने गरी सम्झौता भएको थियो ।
तर रकम भुक्तानी भई नसकेको अवस्थामा सुँगुर/बङ्गुर पालन नै नगरी राजनीतिक पहुँचको आधारमा अनुदान प्राप्त गरेको भनि सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध बेइज्जतीपूर्ण शब्द लेखी झुटा कुराहरूको अनर्गल प्रचारबाजी गरी महिला व्यवसायीहरूलाई हतोत्साही गर्ने र अमर्यादित कार्य गरी फेसबुकमा भिडिओ पोस्ट गरेको अभियोग लगाइएको छ । तुलसी राई एमालेको धनकुटा जिल्ला सहसचिव भएको बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ २१:४२
सामाग्री श्रोत :
टेक पाना