काठमाडौँ । इन्टरनेट सुरक्षा सेवा प्रदायक क्लाउडफ्लेयरले हालसम्मकै सबैभन्दा ठुलो डिस्ट्रिब्युटेड-डिनायल-अफ-सर्भिस (डिडस/DDoS) आक्रमणलाई सफलतापूर्वक रोकेको दाबी गरेको छ । यो आक्रमण ७.३ टीबीपीएसको हाई स्पिडमा गरिएको थियो, जसमा ४५ सेकेन्डको अन्तरालमा कूल ३७.४ टीबी डेटा प्रहार भएको उल्लेख छ ।

यो आक्रमण क्लाउडफ्लेयरको ग्राहकको रूपमा रहेको एक होस्टिङ प्रदायकलाई लक्षित गरी गरिएको थियो । जसले आफ्नो आईपी नेटवर्कको सुरक्षाका लागि म्याजिक ट्रान्जिट (Magic Transit) प्रयोग गर्दै आएको छ ।
क्लाउडफ्लेयरका अनुसार, ४५ सेकेन्डमा ३७.४ टेराबाइट डेटा प्रहार गर्नु भनेको ९,३५० ओटा एचडी मुभी वा ७,४८० घण्टाको हाई-डेफिनेस भिडिओ (लगातार हेर्दा लगभग एक लाग्ने) बराबरको डेटा प्रवाह गराउनु हो । यसअघि पनि क्लाउडफ्लेयरले ठुला डिडस आक्रमणहरू रोकेको थियो, जसमा अप्रिल २०२५ मा ६.५ टीबीपीएसको हमला र अक्टोबर २०२४ मा ५.६ टीबीपीएसको आक्रमण समावेश छन् । डिडस आक्रमणहरू इन्टरनेटको आगमनदेखि नै एक निरन्तर खतराको रूपमा रहँदै आएका छन् ।
यो ७.३ टीबीपीएसको आक्रमण एक मल्टी-भेक्टर डिडस आक्रमण थियो । जसको लगभग ९९.९९६% ट्राफिक यूडीपी फ्लडको रूपमा पाइएको क्लाउडफ्लेयरले जनाएको छ । बाँकी ०.००४% मा भने क्यूओटीडी रिफ्लेक्सन आक्रमण, इको रिफ्लेक्सन आक्रमण, एनटीपी रिफ्लेक्सन आक्रमण, मिराई यूडीपी फ्लड आक्रमण, पोर्टम्याप फ्लड, र रिपभीवन एम्प्लिफिकेसन आक्रमणहरू रहेका थिए ।

यो आक्रमणमा १६१ देशका ५,४३३ अटोनोमस सिस्टम (AS) तथा १२२,१४५ भन्दा बढी सोर्स आईपी एड्रेस प्रयोग भएको बताइएको छ । आक्रमण ट्राफिकको लगभग आधा हिस्सा ब्राजिल र भियतनामबाट आएको उल्लेख छ । बाँकी भने ताइवान, चीन, इन्डोनेसिया, युक्रेन, इक्वेडर, थाइल्याण्ड, अमेरिका र साउदी अरबबाट आएको थियो ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ १९:३६
सामाग्री श्रोत :
टेक पाना