काठमाडौँ । अमेरिकी सरकारले आफ्ना संसदका प्रतिनिधि सभाका कर्मचारीहरूका डिभाइसमा ह्वाट्सएपमाथि प्रतिबन्ध लगाएको छ । रोयटर्सले जनाएअनुसार, एपको सम्भावित सुरक्षा जोखिमलाई मध्येनजर गर्दै यस किसिमको प्रतिबन्ध लगाइएको हो ।

एक मेमोमा उल्लेख भएअनुसार, अफिस अफ साइबरसुरक्षाले ह्वाट्सएपलाई प्रयोगकर्ताहरूको लागि ‘उच्च जोखिम’ मानेको छ ।जसको आधारको रूपमा प्रयोगकर्ताको डेटा कसरी सुरक्षित राखिन्छ भन्नेमा पारदर्शिताको कमी, स्टोर गरिने डेटा इन्क्रिप्सनको अभाव, लगायतका सुरक्षा औँल्याइएको छ ।
मेमोले ह्वाट्सएपको सट्टा कर्मचारीहरूलाई सिग्नल, आईमेसेज, फेसटाइम, र माइक्रोसफ्ट टिम्स जस्ता एप प्रयोग गर्न सल्लाह दिएको छ ।
मेटाले गत जनवरीमा करिब ९० जना ह्वाट्सएप प्रयोगकर्ता प्रति लक्षित ह्याकिङ अभियान पत्ता लगाएर त्यसलाई निष्क्रिय पारेको बताएको थियो । उक्त ह्याकिङ प्यारागन सोलुसन्स (Paragon Solutions) नामक इजरायली स्पाइवेयर निर्मातासँग जोडिएको थियो । प्यारागनलाई गत वर्षको डिसेम्बरमा अमेरिकी प्राइभेट इक्विटी कम्पनी एई इन्डस्ट्रियल पार्टनर्सले अधिग्रहण गरेको थियो ।

मे महिनाको एक अनुसन्धान प्रतिवेदन अनुसार अस्ट्रेलिया, क्यानडा, साइप्रस, डेनमार्क, इजरायल, र सिंगापुरका सरकारहरू प्यारागनका सम्भावित ग्राहक हुन् ।
पछिल्लो अध्यावधिक: असार १०, २०८२ १९:५६
सामाग्री श्रोत :
टेक पाना