काठमाडौँ– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले जेठ ३० गते माओवादीसँग भएको दुई बुँदे सहमति अनुसार सरकारले छानबिन समिति बनाएको भन्दै धन्यवाद दिएका हुन्।
उनले लोकतन्त्र गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था रहेको भन्दै लोकतन्त्रलाई सुदृढ र दिगो बनाउन यसमा देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्ने उल्लेख गरे।
उनले भने, ‘भिजिट भिसासम्बन्धी देखिएका समस्याहरूलाई अध्ययन गर्न, छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ, त्यो निष्पक्ष, पारदर्शीरुपले प्रमाण र तथ्य सङ्गत होस् भन्ने हाम्रो दलको अपेक्षा रहेको छ। अर्को कुरा, त्यसको कार्यक्षेत्र भन्दा बाहिर पनि कैयौँ विषयहरू छन्। यस्ता प्रकरणहरूमा ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सहरू कैयौँ सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नियोग त्यसमा रहेका पदाधिकारीहरू पनि संलग्न छन् भन्ने मिडियाहरूमा आएको छ। यी सबै कुराहरूको उच्चस्तरीय छानबिन समिति अध्ययन र छानबिन गर्नेछ। साथै, राज्यका निकायहरूमा देखिएका समस्या, विगतदेखि वर्तमानसम्म के हुन ? कसरी हुन ? कहाँनिर यो ग्रे एरिया छ, जसले गर्दा विभिन्न अपराधहरू हुने गरेका छन्, यो कुरामा सत्य तथ्य ढङ्गले अध्ययन गरोस्, छानबिन गरोस्, जनताको भावनाअनुसार सुझाव तथा प्रतिवेदन प्रस्तुत गरोस्। हाम्रो अपेक्षा छ। यसमा गम्भीर ढङ्गले छानबिन भएन र अविश्वासहरू पैदा भए निश्चय पनि सार्वजनिक रूपमा जनताले निगरानी गरिरहेको छ। आलोचना हुन्छ। प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि निगरानी, खबरदारी गरिराख्नेछौँ।’

सरकारले भिजिट भिसाको समस्या दीर्घकालीन रूपमा नै समाधान गर्ने गरि छानबिन समिति गठन गरिएको जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले गठन गरेको छानबिन समितिका विषयमा जानकारी गराउँदै गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रूपमै समाधान गर्ने गरि समिति गठन गरिएको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ