काठमाडौं- आयुर्वेद चिकित्सा परिषद (काउन्सिल) नेपालको अध्यक्षमा डा श्याममणि अधिकारीलाई नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै अधिकारीलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
डा अधिकारी आयुर्वेद क्षेत्रका विज्ञका रुपमा चिनिन्छन्। उनले नेपालको स्वास्थ्य सेवामा ३३ वर्षभन्दा बढी समय काम गरेर अवकाश पाएका हुन्। अधिकारीले २०३५ सालदेखि २०६९ सालसम्म काम गरेका थिए।
आयुर्वेद र जडिबुटीका विषयमा अधिकारीका दर्जभन्दा बढी पुस्तकहरु प्रकाशनमा छन्।
यसैगरी, काउन्सिलको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ, दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त भएको मन्त्रालय स्रोतले जानकारी दियो।
काउन्सिलमा निर्वाचनबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था रहेको छ।हाल निर्वाचन नभएका कारण ती सदस्यहरु भने रिक्त रहेका छन्। यस्तै मनोनयन तर्फ पनि एक जना नियुक्त हुन बाँकी रहेको छ।
केही नेपाल ऐनमा भएको संशोधन अनुसार काउन्सिलका अध्यक्ष तथा सदस्यहरु मन्त्रिस्तरीय निर्णयबाट नै नियुक्त हुन थालेको हो।
रजिष्ट्रार पद भने मन्त्रिपरिषदबाट नियुक्त हुनु पर्ने भएकाले काउन्सिलमा हाल रजिष्ट्रार नियुक्त हुन बाँकी छ। मन्त्रिपरिषदबाट नियुक्त नभएसम्मका लागि मन्त्रालयले निमित्त रजिष्ट्रारको जिम्मेवारी काउन्सिलमा नै रहेका दिपक भण्डारीलाई दिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

