काठमाडौँ । आइतबार काठमाडौँमा एक भव्य कार्यक्रमकाबिच बीवाईडी डल्फिनको २०२५ संस्करण सार्वजनिक भयो । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको हो । डल्फिनको पुराना संस्करणहरूको सफलता पछि थप नयाँ फिचरहरू अपग्रेड गरेर २०२५ संस्करण सार्वजनिक गरिएको कम्पनीको दाबी छ ।

यस संस्करणमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको कम्पनीको दाबी छ । यसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको कम्पनी बताउँछ ।
यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त हुने यसको आयु १५ वर्ष सम्म हुन सक्ने कम्पनीको भनाइ छ । यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनीयतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको बताइएको छ । कम्पनीले यो एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।
बीवाईडी डल्फिन २०२५ ले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३०

मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । योसँगै गाडीमा स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन, रातको समयमा अझ राम्रो भिउ दिने प्रभावशाली एलईडी हेडलाइट्स, कुलिङ र हिटिङ एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ कि र प्यासेन्जर डोर स्विच जस्ता नयाँ नयाँ फिचर थप गरिएको छ ।
यस संस्करणमा नयाँ आकर्षक एटलान्टिस ग्रे रँग पनि थपिएको छ, जसले बीवाईडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको छ । अब सो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट कलरमा उपलब्ध हुनेछ ।
कम्पनीले गाडीको मूल्य भने ४१ लाख १५ हजार रुपैयाँ तोकेको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि उपलब्ध छ । नेपाली बजारमा बीवाईडी डल्फिन २०२५ संस्करण सार्वजनिक गरेकै दिन बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धि पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९० औं युनिट नेपालमा डेलिभर गरिएको हो ।
बीवाईडी डल्फिन २०२५ हाल बीवाईडीका शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध गराइएको छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ २०:२८
सामाग्री श्रोत :
टेक पाना