काठमाडौँ । २०८१ साल जेठ १० गते देशभर तीन दर्जन भन्दा बढी हलहरूमा एउटा चलचित्र चल्यो ‘फर्की फर्की’ । चलचित्रमा नायक अनमोल केसी र नायिका जसिता गुरुङ थिए । चलचित्र चलेकै साँझ साहित्यकार ७८ वर्षीय नरेन्द्रबहादुर श्रेष्ठको नम्बर (…69696) मा फोन आयो । यताबाट हेलो भन्न नपाउँदै उताबाट ‘हेलो अनमोल’ भन्ने आवाज सुनियो । यो सुन्ने बित्तिकै श्रेष्ठले यो नम्बर अनमोलको नभएको भनेपछि फोन काटियो । तर फोन आउने क्रम भने रोकिएन । राती अबेर १,२ बजेसम्म पनि फोन आइ नै रह्यो ।

“त्यो दिन रातभर फोन आएपछि म तनावमा परेँ । त्यतिखेर मेरो नम्बरमा अनमोललाई खोज्दै मानिसहरूले किन फोन गरिरहेका छन् भन्ने विषयले म चकित थिएँ,” टेकपानासँगको कुराकानीमा श्रेष्ठले भने, “पछि थाहा पाएँ, फर्की फर्की भन्ने चलचित्रको एउटा संवादमा हिरोले हिरोइनलाई आफ्नो नम्बर भनि दिएको नम्बर मेरो परेछ ।”
त्यो दृश्य सायद धेरैलाई लागि सामान्य लाग्यो होला, तर त्यसले श्रेष्ठको जीवनलाई असामान्य बनाइ दियो । चलचित्रका स्क्रिप्ट राइटरले कसैको व्यक्तिगत नम्बर कसरी प्रयोग गर्न पायो भन्ने विषयमा उनी आफै पनि चकित छन् । हलमा चलचित्र चलिरह्यो, यता श्रेष्ठको नम्बरमा फोन आउने क्रम पनि रोकिएन । उनले तत्काल अभिनेता भुवन केसीलाई फोन गरे । तर भुवन केसीले आफू चलचित्रमा आबद्ध नभएका कारण यो विषयमा कुनै जानकारी नभएको जवाफ दिए । निर्माता टोलीसँग बुझेर सम्पर्क गर्ने आश्वासनसहित केसीले फोन राखे । तर फोन आउने क्रम भने रोकिएन ।
“मैले सेन्सर बोर्डदेखि सूचना प्रविधि मन्त्रालयसम्म यो कुरा राखेको थिएँ । कतैबाट केही आएन । चलचित्रका निर्माता रोहित अधिकारीलाई पनि फोन गरेँ, उठेन,” उनले थपे, “पछि कसैगरी चलचित्रका लेखक सुयोग गुरुङसँग कुरा भयो । उनी आफैँ मलाई भेट्न आएका थिए । त्यतिखेर मैले सार्वजनिक रूपमा नै माफी मागेर यो नम्बर हटाउनुहोस् भनेको थिएँ । तर खास सुनुवाइ नै भएन ।”

“सुरुमा त हलमा देख्नेहरूमै सीमित थियो, तर एमएसएम (ओटीटी एप) मा फिल्म आएपछि त झन् विश्वभरबाट फोन आउन थाल्यो,” श्रेष्ठ भन्छन्, “रातको १ बजेसम्म फोनको घण्टी बजिरहन्छ। अनमोल भन्दै बोल्ने, अश्लील कुरा गर्ने, गाली गर्ने, के-के न सुन्नुपर्छ ।”
एमएसएम नेपाली ओटीटी प्लेटफर्म हो । यसमा दर्शकले शुल्क तिरेर नेपाली फिल्महरू हेर्न सक्छन् । हालै मात्र ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको उक्त चलचित्रले थप चर्चा पायो । अनि चलचित्रको चर्चासँगै श्रेष्ठलाई आउने फोन कल पनि झन् बढ्न थाले ।
“नेपालमा भर्खर मात्रै फोनको प्रचलन सुरु भएको समयमा मैले यो नम्बर लिएको हुँ । अब म आफैँ यो नम्बर परिवर्तन गर्न सक्दिनँ । मेरो व्यक्तिगतदेखि व्यावसायिक सबै फोन यही नम्बरमा आउँछन्,” उनले भने, “अहिले त नयाँ नम्बरबाट फोन आयो भने पनि डर लाग्छ । आफ्नै मान्छेहरूले नयाँ नम्बरबाट फोन गरेका रहेछन् भने पनि फोन उठाउन डर लाग्छ ।”
फोन आउनु डरको विषय होइन । गलत फोन, त्यो पनि गाली सहितका फोनले भने श्रेष्ठलाई पीडा दिएको छ । एउटा कलाकारका प्रशंसक मात्र हुँदैनन् । उनलाई मन नपराउने व्यक्ति पनि हुन्छन् । अनमोल जसलाई मन पर्दैन, उसले फोन गरेर अश्लील भाषामा नै गालीगलौज समेत गर्ने गरेको श्रेष्ठ बताउँछन् ।
अति भएपछि श्रेष्ठले अन्ततः काठमाडौँ जिल्ला अदालतमा फिल्म निर्माता, मुख्य कलाकार अनमोल केसी लगायतविरुद्ध मुद्दा दायर गरेका छन् । सूचना प्रविधि मन्त्रालय, सेन्सर बोर्ड हुँदै सम्बन्धित निकायहरूमा उजुरी दिएका श्रेष्ठले बाध्य भएर कानुनी बाटो रोजेका हुन् ।
“म कलाकारलाई माया गर्ने मान्छे हुँ । अनमोल होस् या अन्य कोही, म कसैसँग व्यक्तिगत रिस पाल्दिनँ । तर यो विषय गोपनीयता र मानवीय मर्यादाको हो । मेरो जीवनमै प्रभाव परेको छ,” उनी भन्छन्, “यो त अपराध नै हो ।”
जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले प्रतिवादीहरूलाई मुद्दाका विषयमा जानकारी गराइ कारबाही अगाडि बढाउने बताए । “फिल्म अहिले विभिन्न अनलाइन प्लेटफर्महरूमा सार्वजनिक भएपछि सो नम्बरलाई मानिसहरूले हिरोको नम्बर भन्दै उहाँलाई कल गरेका रहेछन् । यसरी फोन झन् धेरै आउन थालेपछि उहाँले क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नु भएको छ,” उनले भने, “बाँकी कुरा अब मुद्दा अगाडि बढेपछि मात्रै थाहा हुन्छ ।”
श्रेष्ठ भने यसमा क्षतिपूर्तिको आफूले केही पनि माग गर्न नसक्ने बताउँछन् । व्यापक रूपमा फैलिएको नम्बरलाई अब कसरी रोक्ने ? यो प्रश्नले उनलाई झन् निदाउँन समेत दिइरहेको छैन । नम्बर नै प्रयोग नगरौँ, दशकौँदेखि प्रयोग गरिरहेकाले परिवर्तन गरिहाल्ने स्थिति पनि छैन । अर्कातिर फिल्म युनिटले त्यो सिन अब हटाएपनि नम्बर त धेरै ठाउँमा पुगिसकेको छ । यसका लागि क्षतिपूर्ति के हुन्छ उनी आफैँलाई थाहा छैन ।
श्रेष्ठ भन्छन्, “मेरो मानसिक तनावको क्षतिपूर्ति के मागौँ म ? मेरो भनाइ यति हो कि निर्माता टोलीलाई कारबाही हुनुपर्छ । यो घटनाले सबैलाई सिकाउनु जरुरी छ । कुनै पनि कलाकृति बनाउँदा अरूको निजी जीवनको सम्मान गर्नुपर्छ ।” निर्माण पक्ष भने यो विषय थाहा पाउनासाथ समस्या समाधान गरिएको दाबी गर्छ । “सुरुबाटै उहाँसँग हामी टचमा नै थियौँ । यो कुनै नियोजित काम होइन, सामान्य त्रुटि मात्रै हो,” चलचित्रका निर्माता रोहित अधिकारीले टेकपानालाई भने, “डाइलगको लागि हिरोले प्रयोग गर्ने नम्बर आवश्यक थियो । जुन नम्बर राखिएको थियो, त्यो नम्बर त्यतिखेर अफ थियो । त्यसपछि नम्बर प्रयोगमा छैन होला भन्ने हामीलाई लाग्यो । सेन्सर बोर्डले पनि त्यसबारे केही भनेन र फिल्म रिलिज भयो ।”
तर फिल्म सार्वजनिक भएपछि समस्या सुरु भयो । “राति–राति महिलाहरूको धेरै फोन आयो भनेर उहाँले हामीलाई सम्पर्क गर्नु भएपछि निर्देशक नै पीडितको घरमा गएर व्यक्तिगत रूपमा माफी माग्नुभएको हो । त्यसपछि तत्कालै हामीले उक्त स्थानमा बिप साउन्ड राखेर फिल्म सच्यायौँ,” उनले भने । अहिले एमएसएममा पनि फिल्म हटाइसकेको र उक्त संवाद हटेर फिल्म आउने तयारीमा रहेको उनले जानकारी दिए ।
श्रेष्ठको उजुरीकै आधारमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबाट पत्र आएपछि आफूहरूले फिल्म हटाएको उनको भनाइ छ । तर पहिलेदेखि नै दर्शकहरूले उक्त संवादलाई काटेर बनाएको टिकटक र रिल्स भाइरल भएपछि अहिले समस्या पुन: बल्झिएको उनको दाबी छ । “हामीले उहाँले भने अनुरूप नै गरिरहेका थियौँ । तर सो संवाद पहिले नै टिकटक र फेसबुक रिल्सहरूमा भाइरल भइसकेको रहेछ । अहिले यसैले गर्दा समस्या फेरि सुरु भएको हो,” उनले भने, “हामी सम्पर्कमा हुँदाहुँदै उहाँ अदालत किन जानुभयो थाहा छैन ।”
तर श्रेष्ठका अनुसार अत्यधिक फोन तथा मेसेज, गालीगलौज र मानसिक तनावले गर्दा अदालत जानुको विकल्प नै थिएन । चलचित्रको उक्त संवादमा श्रेष्ठको नम्बरलाई अश्लील तरिकाले प्रस्तुत गर्न खोजिएको छ । कलाले कथा बोक्नुपर्छ, अश्लीलता झल्काउनु हुँदैन भन्ने उनको मान्यता छ । फिल्म युनिटले आफ्नो त्रुटि स्वीकार पनि गरेको छ, ओटीटी प्लेटफर्मबाट आफ्नो फिल्म पनि हटाइसकेको छ । तर श्रेष्ठको मानसपटलमा यो समस्याले दिएको खाटो अझै बाँकी छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ २०:०
सामाग्री श्रोत :
टेक पाना