काठमाडौँ । धेरैले डार्क वेबलाई ह्याकर र अपराधीहरूले मात्र प्रयोग गर्ने रहस्यमय अनलाइन संसार ठान्छन् । तर, यसमा सामान्य मानिसले पनि सर्च गर्न सक्छन् । यद्यपि यसका लागि विशेष टुल र सावधानी भने अपनाउन जरुरी हुन्छ ।

डार्क वेब सामान्य इन्टरनेटभन्दा फरक नेटवर्कमा चल्छ र यसका वेबसाइटहरू ‘.onion’ डोमेनमा रहेका हुन्छन् । त्यसैले गुगल जस्ता सामान्य सर्च इन्जिनहरूले यी साइटहरूलाई भेट्न सक्दैनन् । डार्क वेबमा खोज्नका लागि विशेष टुल चाहिन्छ । तपाईँले गुगल क्रोम वा माइक्रोसफ्ट एज जस्ता सामान्य ब्राउजरहरूबाट डार्क वेबका साइटहरू खोल्न सक्नुहुन्न । यसका लागि तपाईँलाई ‘.onion’ वेबसाइटहरूमा पहुँच दिने ब्राउजर नै चाहिन्छ । जसमध्ये सबैभन्दा लोकप्रिय ब्राउजर हो, टोर (Tor) ।
टोर ब्राउजरमा गइसकेपछि तपाईँलाई ‘.onion’ कन्टेन्टका लागि डिजाइन गरिएको सर्च इन्जिन चाहिन्छ । अहमिया (Ahmia) र टर्च (Torch) यसका लागि सबैभन्दा बढी प्रयोग हुने दुई सर्च इन्जिन हुन् । यी ब्राउजरबिच पनि एक्सेस र सुरक्षाका हिसाबले निकै भिन्नता छ ।
अहमिया डार्क वेबमा सर्च गर्ने राम्रो विकल्प हो, किनभने यसले अवैध सामग्री फिल्टर गर्छ र टोरभित्र र बाहिर दुवैतर्फ काम गर्छ । तपाईँ यसलाई अहमिया डट एफआई (ahmia.fi) मा गएर सामान्य ब्राउजरबाट पनि हेर्न सक्नुहुन्छ । तर ‘.onion’ लिङ्कहरूमा क्लिक गर्नका लागि भने टोर ब्राउजर नै आवश्यक पर्छ । अहमियाले कम र क्युरेटेड नतिजाहरू देखाउँछ, जसले तपाईँलाई खतरनाक सामग्रीसँग ठोक्किनबाट बचाउँछ । तर यसले निश वा विवादास्पद कम्युनिटीसम्म पुग्ने सम्भावनालाई कम गर्छ ।

अर्कोतर्फ टर्च फिल्टर नगरिएको सर्च इन्जिन हो र यसले अहमियाले जानाजान रोक्ने सामग्रीसहित विस्तृत नतिजाहरू देखाउँछ । टर्चले धेरै पेजहरू इन्डेक्स गर्छ । तर यसमा डुप्लिकेट, निष्क्रिय लिङ्कहरू, स्पाम वा खतरनाक साइटहरू पनि समावेश हुन सक्छन् ।
याद गर्नुहोस्, डार्क वेब सर्च इन्जिनहरू गुगल जस्तो सजिलैसँग काम गर्दैनन् । तिनीहरूमा हरेक ‘.onion’ साइटलाई वास्तविक समयमा इन्डेक्सिङ गर्ने विस्तृत किसिमको स्वचालित क्रलिङ सिस्टम हुँदैन । बरु, यी उपकरणहरू खासगरी म्यानुअल सब्मिसन, क्युरेटेड लिस्ट र प्रयोगकर्ताका रिपोर्टहरूमा निर्भर हुन्छन् । यसको अर्थ डिजाइनकै कारण तिनीहरूको कभरेज अपूर्ण हुन्छ । अधिकांश ‘.onion’ साइटहरू अस्थायी, प्राइभेट वा सक्रिय रूपमा लुकाइएका हुन्छन् ।
केही साइटहरू कुनै सूचना बिना हटाइन्छन् वा विभिन्न एड्रेसमा सारिएका हुन्छन् । सर्च इन्जिनहरूले कुनै साइट देखाए पनि त्यो पहिल्यै अफलाइन भइसकेको हुन सक्छ वा शीर्षकमा उल्लेख गरिएको भन्दा नितान्त फरक स्थानमा लैजान सक्छ ।
आधिकारिक ‘.onion’ साइट र स्क्याम चिन्ने तरिका
डार्क वेबमा तपाईँले सामान्य इन्टरनेटमा बानी परेका विश्वास गर्न लायक सङ्केतहरू पाउनु हुन्न । जस्तै यसमा प्याडलक, भेरिफाइड चेकमार्क यसमा हुँदैनन् । विशेषगरी मार्केटप्लेस र फोरमहरूमा स्क्याम र इम्पर्सोनेसन सामान्य जस्तै हुन्छन् ।
त्यसो भए वैध लिंकहरू कसरी चिन्ने त ? यसका लागि सबैभन्दा पहिला लिंक कहाँबाट आइरहेको छ वा त्यसको सोर्स के हो भनेर चेक गर्नु होस् । अहमियामा, प्रत्येक रिजल्टमा सङ्क्षिप्त डिस्क्रिप्सन र कहिलेकाहीँ उक्त साइट अन्तिम पटक कहिले अनलाइन देखिएको थियो भन्ने टाइम स्ट्याम्प पनि हुन्छ । यदि कुनै साइट लामो समयदेखि सक्रिय देखिएको छैन भने, त्यो डेड, म्याद गुज्रिएको वा कुनै शङ्कास्पद चिजले प्रतिस्थापन भएको सम्भावनाको रूपमा बुझ्नुपर्ने हुन्छ ।
अर्को तरिका भनेको डट अनियन लिंक तथा एड्रेसहरू कुनै प्रतिष्ठित स्रोतहरूमा उल्लेख भएका हुन सक्छन् । फेसबुक, बीबीसी र प्रोपब्लिका जस्ता केही प्रसिद्ध संस्थाहरूले आफ्ना आधिकारिक ‘.onion’ लिङ्कहरू आफ्ना वेबसाइट वा विकिपिडिया पेजहरूमा सूचीबद्ध गरेका हुन्छन् । यो नै साइटको पहिचान पुष्टि गर्ने सबैभन्दा भरपर्दो तरिका हो ।
यस बाहेक डाइरेक्टरी र फोरमहरू प्रयोग गर्न पनि सक्नु हुन्छ । साना वा अनौपचारिक साइटहरूमा जाँदै हुनुहुन्छ भने Real World Onion Sites Github (क्लियर वेबमा उपलब्ध) जस्ता परिचित ‘.onion’ डाइरेक्टरीमा यूआरएल क्रस-चेक गर्न वा प्राइभेसी फोरमहरूमा सर्च गर्नुहोस् । r/onions वा r/deepweb जस्ता रेडिट कम्युनिटीहरूले कहिलेकाहीँ भेरिफाइड लिंकहरू र स्क्यामहरूको बारेमा सचेत गराइरहेका हुन्छन् । पहिले नवप्रवेशीहरूका लागि लोकप्रिय रहेको हिडेन विकी (Hidden Wiki) अब भने विश्वसनीय स्रोत मानिँदैन ।
सबैभन्दा महत्त्वपूर्ण आधार भनेको आफ्नो अन्तर्ज्ञान (instincts) मा निर्भर हुनु हो । यदि कुनै साइटले तपाईँलाई केही डाउनलोड गर्नतर्फ धकेल्छ, सुरुमै व्यक्तिगत जानकारी माग्छ, वा तपाईँले अपेक्षा गरेभन्दा बिल्कुल फरक देखिन्छ भने पछि हट्नु र विकल्प खोज्नु बुद्धिमानी हुन्छ ।
यदि डार्ब वेबमा तपाईँले कुनै लिङ्क खोल्ने प्रयास गर्नुभयो भने अनुभव त्यति सहज हुने छैन । धेरैजसो .onion साइटहरू एकदमै आधारभूत किसिमका हुन्छन्, ढिलो लोड हुन्छन् वा आंशिक रूपमा मात्र काम गर्छन् । यसको मतलब तिनीहरू नक्कली वा खतरनाक छन् भन्ने होइन । बरु तिनीहरू प्रयोगकर्तामैत्री रूपमा निर्माण गरिएका होइनन् भन्ने बुझ्नुपर्ने हुन्छ । धेरैजसो डार्क वेब साइटहरू जानाजानी साधारण बनाइएका हुन्छन्; जसले टोर नेटवर्कको ढिलो ब्राउजिङ स्पिडलाई सन्तुलन कायम गर्न मद्दत गर्छ ।
तर, यदि तपाईँले केही उपयोगी कुरा फेला पार्नुभयो भने, त्यसको लिंक तुरुन्तै सेभ गर्नुहोस् । सबै .onion यूआरएल लामा, अल्फान्युमेरिक स्ट्रिङ युक्त हुन्छन्, जो सम्झन वा पुनः फेला पार्न सजिलो हुँदैन । त्यसैले बुकमार्क वा सुरक्षित नोट बिना तपाईँ पछि दोहोर्याएर त्यहाँ पुग्न नसक्ने हुन सक्छ ।
डार्क वेब सूचना तथा जानकारीको अनौठो संसार हो । तर यसमा सुरक्षित रूपले नेभिगेट गर्न सही टुल र उच्च सावधानी आवश्यक पर्छ ।
डार्कवेब ब्राउजिङ गर्दा ध्यान दिनुपर्ने सुरक्षाका आधारभूत कुरा
डार्क वेब सुरक्षित रूपमा ब्राउज गर्न तपाईँ एक्सपर्ट नै हुनुपर्छ भन्ने छैन । तर सावधानी अपनाउन र सचेत रहन भने अवश्य पनि हुन जरुरी छ ।
डार्कवेब प्रयोग गर्दा सधैँ टोर ब्राउजर नै प्रयोग गर्नुहोस् । यसलाई सधैं अप-टु-डेट राख्नुहोस् । नियमित ब्राउजरहरू (जस्तैः गुगल क्रोम वा माइक्रोसफ्ट एज लगायत) मा ‘.onion’ लिङ्कहरू नखोल्नुहोस् । सामान्यतया ती ब्राउजरबाट यस्ता साइटहरू खोल्दा लोड हुँदैनन् र तपाईँले एक्सेस गर्न खोजेको कुरा संयोगवश खुलाइ दिन पनि सक्छन् । यसका साथै ब्राउजर वा एपहरू बीचमा लिंक कपी गर्दा त्यसको लग, ट्र्याक, वा अनाहकमा लिक हुन सक्ने जोखिम हुन्छ । त्यसैले यस्तो गर्नबाट जोगिने कुरामा ध्यान दिनुहोस् ।
व्यक्तिगत ईमेल वा युजरनेमबाट लग इन नगर्नुहोस् । यदि कुनै साइटका लागि अकाउन्ट नै चाहिन्छ भने पनि तपाईँले अरू कतै प्रयोग नगर्ने एक अस्थायी (थ्रो अवे) वा गुमनाम प्रकारको पहिचान र पासवर्ड प्रयोग गर्नुहोस् ।
टोरको सेटिङहरूमा गएर स्क्रिप्टहरूलाई डिसेबल पार्नुहोस् । धेरैजसो ‘.onion’ साइटहरू स्क्रिप्ट बिनै ठिकसँग काम गर्छन् । स्क्रिप्टलाई अन राख्दा तपाईँमाथि ट्र्याकिङ वा मालवेयरको जोखिम बढ्छ ।
आफूलाई सोर्स प्रति पूर्ण रूपमा भरोसा नलागेसम्म केही पनि डाउनलोड नगर्नुहोस् । सामान्य देखिने फाइलहरूले पनि तपाईँलाई जोखिममा धकेल्न सक्छन् ।
केही मानिसहरूले थप गोपनीयताका लागि खासगरी निषेधित क्षेत्रमा हुँदा भीपीएनको साथमा टोर प्रयोग गरिरहेका हुन्छन् । तपाईँले पनि भीपीएन प्रयोग गर्न चाहनु हुन्छ भने एक विश्वसनीय, नो-लग भीपीएन प्रदायक छान्न सक्नु हुन्छ । तर यसले सधैँ तपाईँको गुमनाम रहने प्रयासमा सुधार गर्छ भन्ने नहुन सक्छ ।
अर्को कुरा कानुनी सीमाको ख्याल गर्नुहोस् । धेरै देशहरूमा डार्क वेबमा प्रवेश गर्नु आफैँमा अवैध कार्य मानिँदैन । तर तपाईँले त्यहाँ के गर्नुहुन्छ, त्यो चाहिँ अवैध हुन सक्छ । यदि तपाईँले प्रतिबन्धित सामग्रीमा पहुँच गर्नु भयो, अवैध सामान खरिद गर्नु भयो, वा गलत प्रकारको बजारमा पुग्नु भयो भने कानुनी उल्झनमा पर्ने जोखिम हुन्छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ १३:३०
सामाग्री श्रोत :
टेक पाना