२०८२ असार ९ सोमबार
LATEST NEWS
२०८२ असार ९ सोमबार

इन्टरनेट स्लो भयो भनेर आईएसपीलाई थर्काउने बानी छ ? पहिले यी कुरा बुझ्नुहोस्

काठमाडौँ । इन्टरनेटका लागि शुल्क तिरिसकेपछि आफूले चाहेको जत्तिको स्पिड होस् भन्ने चाहना त सबैको हुन्छ । त्यसैले तपाईँ हामीमध्ये अधिकांशले कुनै न कुनै रूपमा समय समयमा इन्टरनेटको स्पिड जाँचिरहेका हुन्छौं । तर, नतिजा आफूले अपेक्षा गरे अनुकूलको आएन भने हामी दिकदार हुन्छौं र इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई सम्पर्क गरी गुनासो राख्छौं । इन्टरनेटको स्पिड कम हुनुमा सधैं कमजोरी आईएसपीको हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ हामीले जाँच गर्ने टुलमा पनि कमजोरी हुन्छ । यसले गर्दा हामी अपेक्षा गरे अनुसारको इन्टरनेट स्पिड नदेख्न सक्छौं । सटीक स्पिड थाहा पाउन इन्टरनेटको स्पिड जाँच गर्दा के कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ: 

थुप्रै एप चलिरहेको बेला इन्टरनेट स्पिड कम देखिन सक्छ 

इन्टरनेटको स्पिड जाँच गर्नुअघि अधिकांशले थाहै नपाई गर्ने कमजोरी भनेको ब्याकग्राउन्डमा एप चलाउने हो । डिभाइसमा थुप्रै एप चलिरहेका छन्, त्यही बेला इन्टरनेटको स्पिड नाप्ने सुर चढ्यो भने त्यतिबेला अपेक्षा गरेको नतिजा नआउन सक्छ । यदि डिभाइसको ब्याकग्राउन्डमा एप चलिरहेका छन् भने इन्टरनेटको ब्यान्डविथ स्पिड नाप्ने एप र अन्य एपमा बाढिन्छ । यसले गर्दा स्पिड नाप्ने एपले आफूसम्म आइपुगेको ब्यान्डविथबाट मात्र नतिजा निकाल्छ । 

अन्य एपले खपत गर्ने ब्यान्डविथ तिनीहरूले गर्ने विभिन्न काममा निर्भर हुन्छ । उदाहरणका लागि स्ट्रिमिङ भइरहेको छ, डाउनलोड वा अपलोड भइरहेको छ भने यस्तो बेला तपाईंले प्रयोग गरेको स्पिड टेस्ट गर्ने वेबसाइटले सटीक नतिजा ननिकाल्न सक्छ । 

त्यस्तै तपाईंको इन्टरनेटमा अन्य थुप्रै डिभाइस कनेक्ट भएका छन् भने पनि यस्तो बेला सटीक स्पिड देखिने सम्भावना कम हुन्छ । यसमा पनि इन्टरनेटको ब्यान्डविथ बाँडिने भएकाले स्पिड नाप्ने एप वा वेबसाइटले पर्याप्त इन्टरनेट पाउँदैन । र, नतिजा सटीक निकाल्दैन । त्यसैले इन्टरनेटको स्पिड नाप्नुअघि सबै ब्यान्डविथ तपाईंले स्पिड नाप्न प्रयोग गरेको एप वा वेबसाइटमा आएको सुनिश्चित गर्नुहोस् । त्यसका लागि ब्राउजरका ट्याब वा एप हटाउनुहोस् । इन्टरनेटमा कनेक्ट भएका अन्य डिभाइसलाई अस्थायी रूपमा डिस्कनेक्ट गर्नुहोस् । यसपछि इन्टरनेटको स्पिड नाप्नुभयो भने तपाईंले सटीक नतिजा पाउन सक्नुहुन्छ । 

वाई-फाई भन्दा इथरनेटबाट इन्टरनेट कनेक्ट गर्दा एकुरेट स्पिड थाहा पाउन सकिन्छ

वाई-फाई कनेक्ट गरी इन्टरनेटको स्पिड मापन गर्ने एप वा वेबसाइट खोलेर स्पिड नाप्न त निकै सहज, सरल र छिटो हुन्छ । तर, यदि तपाईं आफ्नो इन्टरनेटको झनै सटीक स्पिड थाहा पाउन चाहनु हुन्छ भने वायरलेस वाई-फाई राम्रो विकल्प होइन । तपाईंले वाई-फाई कनेक्ट गर्दा त्यसलाई वाधा पुर्‍याउने तत्त्व थुप्रै हुन्छन् ।

तपाईंको डिभाइस राउटरभन्दा कति टाढा छ, भित्ता छ कि छैन, अन्य डिभाइसले कति असर गरेका छन्, राउटर कस्तो ठाउँमा राखेको छ भन्ने विषयले इन्टरनेटको स्पिड निर्भर हुन्छ । यदि राउटर एउटा कोठामा छ तर तपाईं अर्को कोठामा हुनुहुन्छ र त्यहींबाट इन्टरनेटको स्पिड नाप्दै हुनुहुन्छ भने सटीक नतिजा पाउन गाह्रो हुन्छ । 

त्यसैले सटीक नतिजा पाउनका लागि तपाईंले इथरनेट केबल प्रयोग गर्नु नै उपयुक्त हुन्छ । इथरनेट प्रयोग गरिएको डिभाइसबाट स्पिड नाप्नुभयो भने सटीक स्पिड थाहा पाउने सम्भावना उच्च हुन्छ । 

धेरैपटक प्रयास गर्नुपर्छ 

तपाईंले आफूलाई सुर चलेको बेला मात्र स्पिड नाप्नुभयो र त्यसैका आधारमा धारणा बनाउनु भयो भने तपाईंलाई समस्या पर्न सक्छ । तपाईंले निश्चित स्पिडका लागि आईएसपीलाई शुल्क तिरेको भए पनि उक्त इन्टरनेट स्पिड तपाईंले सधैं पाउनुहुन्छ भन्ने हुँदैन । तपाईंले जति स्पिडका लागि शुल्क तिर्नुभएको छ त्यति नै नपाउनुका अन्य थप्रै कारण हुन्छन् । खासगरी आईएसपीको राउटिङ (राउटिङ भन्नाले डेटा (जस्तै इन्टरनेटको सूचना, मेसेज, फाइल आदि) लाई एक स्थानबाट अर्को स्थानमा पठाउने प्रक्रिया हो ।

यो नेटवर्किङमा प्रयोग हुने एक महत्त्वपूर्ण प्रक्रिया हो जसको माध्यमबाट डेटा सही गन्तव्य (destination) मा पुग्छ) र नेटवर्क कन्जेक्सन (नेटवर्कमा अत्यधिक डेटा ट्राफिक हुँदा जानकारीहरू ढिलो पुग्ने, हराउने वा ब्लक हुने अवस्था हो) मा तपाईंले दिनभर कति स्पिडको इन्टरनेट पाउनु हुन्छ भन्ने विषय निर्धारण हुन्छ । 

इन्टरनेटको स्पिड परीक्षण गर्ने सर्भरले पनि यस्तो समस्या सामना गर्छन् । यसले गर्दा तपाईंले परीक्षण गर्ने क्रममा देखिएको नतिजा नै सटीक हो भन्ने हुँदैन । त्यसैले एक पटक मात्र परीक्षण गरेर धारणा बनाउनुभन्दा फरक फरक समयमा परीक्षण गरेर त्यसबाट औसत स्पिड निकाली त्यसलाई नै आधार बनाउनु उपयुक्त हुन्छ । 

तपाईंले स्पिड नाप्न कुन सर्भरबाट चलिरहेको वेबसाइट वा एप प्रयोग गरिरहनु भएको छ भन्ने विषयले पनि फरक पार्छ । तपाईंले इन्टरनेटको स्पिड नाप्नका लागि ‘स्पिडटेस्ट डटनेट’ र ‘फास्ट डटकम’ जस्ता प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ ।

स्पिड नाप्दा सर्भर लोकेसन हेर्नुहोस्

तपाईंले स्पिड नाप्न प्रयोग गर्ने टुलले स्वतः त्यो सर्भर छान्छ जुन तपाईं भएको भौगोलिक ठाउँबाट नजिक पर्छ । यद्यपि कहिलेकाहीं स्वतः छानिएको सर्भर भौगोलिक रूपमा तपाईंभन्दा धेरै टाढा हुन सक्छ । यसले गर्दा वास्तविक स्पिड नदेखिएर कम स्पिड देखिन्छ । 

स्पिड टेस्ट गर्ने क्रममा समग्र इन्टरनेट नभई विशेष सर्भरसँगकको कनेक्सनका आधारमा मापन हुने भएकाले सर्भर कति टाढा छ भन्ने विषयले फरक पार्छ । सर्भर जति टाढा हुन्छ तपाईंको डेटा त्यहाँ पुग्न त्यति नै धेरै स्थान (हप्स) हुँदै जानु पर्छ । यस्तो हुँदा इन्टरनेट कनेक्सन ढिलो हुन सक्छ र डाउनलोड वा अपलोड स्पिड पनि कम हुन सक्छ । 

यस्ता कमजोरी हुन नदिनका लागि तपाईंले जुन टुल प्रयोग गरेर स्पिड नाप्दै हुनुहुन्छ त्यसले नजिकको सर्भर छनोट गरेको छ भन्ने सुनिश्चित गर्नुपर्छ । यदि तपाईंले प्रयोग गरेको टुलले म्यानुअल्ली सर्भर छान्ने सुविधा दिएको छ भने तपाईंले नजिकको सर्भर छान्नुहोस् । ओकला स्पिडटेस्टमा यसको सुविधा दिइएको छ ।

स्पिड नाप्दा प्रोक्सी वा भीपीएन प्रयोग नगर्नुहोस्

तपाईं प्रोक्सी वा भीपीएन कनेक्ट गरेर इन्टरनेट मापन गर्दै हुनुहुन्छ भने त्यस्तो बेला नतिजा धेरै हदसम्म बिग्रिन सक्छ । भीपीएन र प्रोक्सीले इन्टरनेटको ट्राफिकलाई सिधै नभई बीचको सर्भर हुँदा पठाउँछन् । यस्ता सर्भर अर्को शहर वा झनै टाढा वा अर्कै देशमा हुन सक्छन् । यसले गर्दा ट्राफिकको दूरी बढ्छ र भीपीएन प्रयोग गर्दा डेटा इन्क्रिप्ट हुने भएकाले अतिरिक्त प्रोसेसिङ पनि थपिन्छ ।  यी सबै कारणले गर्दा तपाईंले स्पिड टेस्टमा देखेको स्पिड नै तपाईंको वास्तविक इन्टरनेट स्पिडभन्दा धेरै ढिलो वा कम देखिन सक्छ । 

तीब्र स्पिडका भीपीएन प्रयोग गर्दा पनि यस्तो समस्या देखिन्छ । त्यसैले नेटवर्कको सटीक स्पिड थाहा पाउनका लागि तपाईंले भीपीएन वा प्रोक्सी सर्भर डिस्कनेक्ट गरेर मात्र परीक्षण गर्नुपर्छ । तपाईंले भीपीएन वा प्रोक्सी प्रयोग गरेर र नगरेर दुवै अवस्थामा इन्टरनेटको स्पिड नाप्नुभयो भने गोपनीयताका लागि कति स्पिड गुमाइरहनु भएको छ भन्ने थाहा पाउन सक्नुहुन्छ । 

व्यस्त समयमा स्पिड मापन गर्दा

तपाईंले कुन समयमा इन्टरनेटको स्पिड मापन गर्दै हुनुहुन्छ भन्ने विषयले पनि इन्टरनेटको स्पिड सटीक स्पिड निर्धारण गर्छ । यदि तपाईंले इन्टरनेट व्यापक प्रयोग गर्ने समय खासगरी बेलुकीपख (भिडिओ हेर्ने, गेमिङ गर्ने, भिडिओ कल गर्ने जमात बेलुका सक्रिय हुन्छ) इन्टरनेटको स्पिड नाप्नुभयो भने तपाईं भ्रमित हुने सम्भावना उच्च हुन्छ । यस्तो बेला आईएसपीले नेटवर्क कन्जेक्सनको समस्या सामना गर्ने भएकाले तपाईंले अपेक्षित गतिको स्पिड नपाउन सक्नुहुन्छ । 

नेटवर्क कन्जेक्सन भन्नाले नेटवर्कमा अत्यधिक डेटा ट्राफिक हुँदा जानकारी ढिलो पुग्ने, हराउने वा ब्लक हुने अवस्था हो । यो सामान्यतः बेलुका सात बजेदेखि ११ बजेसम्म हुन्छ । यसैलाई पिक-आवर अर्थत व्यस्त समय भनिन्छ । यो समयमा आईएसपीले नेटवर्क कन्जेक्सन व्यवस्थापन गर्न स्पिड घटाइदिन सक्छ । यो आवश्यक हुन्छ पनि । त्यसैले यस्तो बेला इन्टरनेटको स्पिड मापन गर्नुभयो र मैले सधैं कम स्पिड पाएको रहेछु भन्ने गुनासो गर्न सक्ने अवस्थामा तपाईं पुग्न सक्नुहुन्छ । त्यसकारण पनि इन्टरनेको वास्तविक वा भनौं सटीक स्पिड थाहा पाउन विभिन्न समयमा मापन गरी त्यसको औसत निकाल्न सक्नुहुन्छ । यही औसत स्पिडबाट नै तपाईंले आफूले अपेक्षा गरेको वा शुल्क तिरे अनुसारको इन्टरनेट पाएको छु कि छैन भन्ने पत्ता लगाउन सक्नुहुन्छ ।

पुरानो डिभाइसमा स्पिड जाँच

तपाईंले इन्टरनेटको स्पिड मापन गर्नका लागि कस्तो डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भन्नेले पनि सटीक स्पिड देखिने वा नदेखिने निर्धारण हुन्छ । यदि तपाईं पुरानो कम्प्युटर, फोन वा ट्याबलेट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता डिभाइस आफै कम स्पिडमा चल्ने हुन्छन् । त्यसैले यी डिभाइसले सटीक स्पिड वा भनौं वास्तविक स्पिड नदेखाउन सक्छन् । 

पुरानो डिभाइसमा कम स्पिडका प्रोसेसर र पुरानो नेटवर्क एडप्टर हुने भएकाले हाइ स्पिड कनेक्सनको फाइदा त्यसले नउठाउन सक्छ । उदाहरणका लागि यदि तपाईंको ल्यापटपले वाई-फाई ४ मात्र सपोर्ट गर्छ वा १०० एमबीपीएससम्मको उच्चतम स्पिड मापन गर्न सक्ने इथरनेट पोर्ट छ भने त्यसले पाउने उच्चतम स्पिड नै इन्टरनेटको प्लानभन्दा निकै कम हुन्छ । त्यस्तोमा तपाईंले गिगाबिट स्पिडकै शुल्क तिर्नुभएको छ भने पनि तपाईंले स्पिड मापन गरेको टुलले हार्डवेयर सीमिततका कारण सटीक स्पिड नदेखाउन सक्छ । त्यसैले तपाईं कन्टेन्ट हेर्न वा अन्य कामका लागि पुरानो डिभाइसलाई प्राथमिकता दिनुहुन्छ भने पनि इन्टरनेटको स्पिड नाप्दा नयाँ डिभाइस प्रयोग गर्नुहोस् ।

इन्टरनेटको स्पिड मापन गर्ने काम निकै सहज छ तर सटीक नतिजा पाउनका लागि तपाईंले माथि उल्लेख गरेका प्रक्रिया अपनाउनै पर्छ । यदि तपाईंले माथि भनिएका मध्ये कुनै पनि कमजोरी वा त्रुटी गर्नुभयो भने तपाईं वास्तविक इन्टरनेट स्पिड थाहा पाउन सक्नुहुन् । आफ्नो इन्टरनेटको स्पिड कम भयो भनेर आईएसपीसँग गुनासो गर्नुअघि तपाईंले सटीक नतिजा पाएको सुनिश्चित गर्नुहोस् । र, त्यसबाट चित्त नबुझे गुनासो गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार ९, २०८२ १५:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट