काठमाडौं– स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ। शारदा सुदर्शन देवकोटा फाउण्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित यो पुरस्कार स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा शनिबार आयोजित समारोहमा प्रदान गरिएको हो। पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ रहेको छ।
पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य पदम गिरी, फाउण्डेशनकी अध्यक्ष डा. सुधा देवकोटा, सीईओ तेजकुमार बास्तोला र कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले संयुक्त रूपमा ढुंगेललाई पुरस्कार हस्तान्तरण गरे। गोरखापत्र दैनिकमा डेढ दशकभन्दा बढी समयदेखि स्वास्थ्य सम्वाददाताका रूपमा कार्यरत ढुंगेलले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताए। “स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिमा उनकै नामको पुरस्कार पाउँदा गौरवान्वित भएको छु,” उनले भने।
फाउण्डेशनकी अध्यक्ष डा. सुधा देवकोटाले आफ्ना पिता स्व. सुदर्शन देवकोटाको पत्रकारिता र आफ्नो स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई जोडेर यो पुरस्कार स्थापना गरेको बताइन्। ‘पत्रकारिता र स्वास्थ्य क्षेत्रलाई एकै ठाउँमा ल्याएर काम गर्ने अवसर प्राप्त भएको छ। यो पुरस्कारले स्वास्थ्य पत्रकारलाई प्रोत्साहनसँगै जिम्मेवार पत्रकारितालाई जोड दिन्छ,’ उनले भनिन्। उनले पत्रकारिता तालिम र पेशागत विकासमा फाउण्डेशनले थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री गिरीले यो पुरस्कारलाई देशकै चर्चित पुरस्कार बनाउनुपर्नेमा जोड दिँदै स्वास्थ्य पत्रकारिताले नीति निर्माणमा सकारात्मक दबाब सिर्जना गर्ने बताए। कान्तिपुरका प्रधानसम्पादक चौहानले स्वास्थ्य पत्रकारिताको जोखिमपूर्ण प्रकृतिलाई उजागर गर्दै दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्न पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए।
स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार रामप्रसाद न्यौपानेले पुरस्कारले पत्रकारलाई प्रोत्साहनसँगै तालिम र पेशागत दक्षतामा योगदान पुर्याउने विश्वास व्यक्त गरे। मञ्चका कार्यवाहक अध्यक्ष बुद्धि कटेलले यो पुरस्कार स्वास्थ्य र पत्रकारिता क्षेत्र जोड्ने सेतु भएको बताए।
कोभिड–१९ को पहिलो लहरपछिको मध्यान्तरमा, सुदर्शन देवकोटाको पुण्यतिथिमा यो पुरस्कार स्थापना भएको हो। स्व. देवकोटा कान्तिपुर दैनिकमा लामो समय कार्यरत पत्रकार थिए।
सामाग्री श्रोत :
swasthyakhabar

