काठमाडौँ । नेपाल प्रहरीले हालै ललितपुरमा एउटा ठुलो अनलाइन सट्टाबाजीको र्याकेट फेला पार्यो । त्यसमा संलग्न ५ जना भारतीय र १२ जना नेपाली गरी १७ जना पक्राउ परे । उक्त समूहले ‘711Bat.club’, ‘711Bat.com’ र ‘Unicon offline’ जस्ता अनलाइन साइटहरू प्रयोग गरी ८१ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रमाण फेला परेको छ । यो सञ्जाल सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालित रहेको भए पनि त्यहाँको महँगो खर्चका कारण नेपालमा सारिएको खुलेको छ ।

यो र्याकेटमा पक्राउ परेका मुख्य प्रतिवादी मध्येका एक हुन्, डायमण्ड कुँवर । अछाम साँफेबगरका २९ वर्षीय उनी करिब दुई ढाई वर्ष अघि भिजिट भिसामा यूएई गएका थिए । उनका अनुसार वर्किङ भिसा बनाएर कामको खोजीमा थिए । त्यसैक्रममा भारतीय नागरिक निखिल सोनी भन्ने ब्यक्तिसँग उनको भेट भयो । निखिलले क्यासिनोको काम अफर गरे । तयार भएपछि उनले डायमण्डलाई लिएर यूएईको सत्तुवा सहरमा रहेको एउटा भवनमा पुर्याए । त्यहाँ भारतीय नागरिक राहुल सिंह, नेपाली नागरिक विनोद विक्रम शाही, महेश बोगटी र दिपक पौडेल भेटिए । यसरी डायमण्ड पनि उनीहरूले सञ्चालन गरिरहेको अनलाइन जुवा खेलाउने काममा संलग्न भए ।
च्याट सपोर्टको रूपमा बेटिङको काम थालेका उनी क्रमशः ग्राहकको रकम कसरी डिपोजिट गर्ने, कसरी विथड्र गर्ने लगातका काममा सक्रिय हुन थाले । करिब दुई वर्ष यूएईमा अनलाइन सट्टेबाजीको काम गरेको बताउने डायमन्डले त्यहाँ मासिक ७४ हजार रुपैयाँ पाउँथे ।
यूएईमा बस्न-खान महँगो हुने देखेर त्यहाँ गरिरहेको अनलाइन सट्टेबाजीको काम नेपालमै बसी गर्न सकिने आइडिया उनले निकाले । त्यसपछि सञ्चालक मध्येका राहुल सिंहसहित पुस २०८१ मा नेपाल आए । पक्राउ पर्ने कुँवरसँगै डोटी पुर्वीचौकी-४ का हर्कबहादुर खड्का, ठक्कर कुँवर, तिलक खड्का, रूपन्देही, तिलोत्तमा-४ का पुर्णबहादुर दर्लामी मगर, दाङ, लमही-१ बिष्णुकुमार रावत, नवलपरासी (पुर्व) गैडाकोट-१२ का जीतबहादुर महतो सबै भिजिट भिषामा यूएई पुगेरै अनलाइन बेटिङमा जोडिएका हुन् । त्यस्तै भारतीय नागरिकहरू बिहारका दीपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र दिल्लीका मोहितकुमार सिंहले पनि भिजिट भिसामा आफूहरू दुबई गएको बेला विभिन्न व्यक्तिहरूको सम्पर्कबाट अनलाइन बेटिङसँग जोडिएको बयान दिएका छन् ।

बाँकी कैलाली गौरीगंगा ६ का अरविनकुमार खड्का, अछाम चौरपाटी ७ का मनोज बोगटी, कञ्चनपुर कृष्णपुर ३ का राजेन्द्रबहादुर महता, अछाम साँफेबगर ७ का तेजबिकास थापा र डोटी पुर्वीचौकी ४ का सुवाश खड्का कामको खोजी गर्ने क्रममा काठमाडौँमै आएर यसमा संलग्न भए । भारत, बिहारका ऋषभ राजले उडिसामा नोकरी खोज्ने क्रममा भेटिएका एक व्यक्तिको सम्पर्कबाट काठमाडौँ आइपुगेको बयान दिएका छन् । नेपालमै अनलाइन सट्टेबाजीमा जोडिएकाहरूले खान-बस्न निःशुल्क अनि मासिक २५ हजार भारुदेखि माथिको तलब आफूहरूले पाउने गरेको बताएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले ललितपुर महानगरपालिका-२६ जैनखेलस्थित एक घर र वडा १३ नख्खुस्थित सनराइज अपार्टमेन्टको एक फ्ल्याटमा छापा मारेको थियो । १९ जेठ २०८२ को साँझ ५ बजे छापा मार्ने क्रममा अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेका १५ जनालाई जैनखेलबाट र डायमण्ड कुँवरको बयानका आधारमा नख्खुस्थित अपार्टमेन्टबाट थप २ जनालाई पक्राउ गरिएको हो ।
मुख्य योजनाकार राहुल सिंह, दिपक पौडेल र महेश बोगटी (रोलेक्स) भने फरार रहेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूकै निर्देशनमा डायमण्ड कुँवरले यस समूहको नेतृत्व गरेको बताइएको छ ।
यस समूहले क्रिकेट, फुटबल, टेनिस र तासको ‘तीन पत्ती’ जस्ता खेलहरूमा अनलाइन सट्टाबाजी खेलाउने गरेको थियो । खेलाडीहरूले ‘www.711Bat.club’ जस्ता साइटहरूमा साइनअप गरी भारतीय मोबाइल नम्बरबाट ओटीपी प्राप्त गरेर आईडी बनाउँथे । त्यसपछि, साइटमा रहेको भारतीय बैङ्क खातामा रकम जम्मा गरेपछि स्वतः कोइन प्राप्त हुन्थ्यो, जसबाट उनीहरूले बाजी लगाउन सक्थे । जित्दा कोइन बढ्ने र हार्दा घट्ने व्यवस्था मिलाइएको थियो । ग्राहकले जितेको रकम आफ्नो बैँक खातामा निकाल्न सक्ने प्रणाली बनाइएको थियो ।
समूहका सदस्यहरूले ग्राहकहरूलाई सपोर्ट दिने, समयमा रकम जम्मा गर्ने र निकाल्ने, तथा प्राविधिक समस्याहरू समाधान गर्ने जस्ता कामहरू गर्थे । उनीहरूले ह्वाट्सएपको माध्यमबाट ‘RTGS Group’ र ‘Account Group’ हरू बनाएर रकम र बैङ्क खाता उपलब्ध गराई कारोबार सञ्चालन गर्ने गरेका थिए । बरामद भएका ल्यापटप र मोबाइलको प्राविधिक जाँचबाट ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।
अधिकांश प्रतिवादीहरूले आफूहरू दुबईमा पनि यस्तै काम गरेको र पछि नेपाल आएर निरन्तरता दिएको बयान दिएका छन् । उनीहरूलाई मासिक नेपाली ४० हजारदेखि ८० हजार रुपैयाँसम्म (भारतीय २५ हजारदेखि ५० हजार रुपैयाँसम्म) तलब दिने गरिएको थियो ।
यी प्रतिवादीहरू विरुद्ध सट्टेबाजीसम्बन्धी कसुरमा आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसअनुसार उनीहरूबाट बिगो जफतसँगै एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ८, २०८२ २०:४०
सामाग्री श्रोत :
टेक पाना