काठमाडौँ । इजरायली र अमेरिकासँग गहिरिँदो द्वन्द्वका कारण इरानमा इन्टरनेट ब्ल्याकआउट (सेवा बन्द) भएको छ । यसले गर्दा विदेशमा रहेका इरानीहरूले देश भित्रका आफ्ना आफन्त तथा परिवारका सदस्यहरूलाई सम्पर्क गर्न पाइरहेका छैनन् ।

इरानी नम्बरहरूमा कल गर्दा पहिले नै रेकर्ड गरिएका रोबोटिक कलको आवाजमा सन्देश आउने गरेको विभिन्न विदेशी सञ्चारमाध्यमले लेखेका छन् ।बेलायत, अमेरिका र युरोपभर छरिएर रहेका इरानीहरूले आफ्ना परिवारका सदस्यहरूको मोबाइल नम्बरमा डायल गर्दा यान्त्रिक आवाजले स्वागत गरेको अनुभव सुनाएका छन् । यो सन्देश कहिलेकाहीँ अङ्ग्रेजीमा र कहिलेकाहीँ फारसी भाषामा हुन्छ, जुन अनौठो दार्शनिकदेखि पूर्ण रूपमा अर्थहीन सम्मका हुने गरेको बताइएको छ ।
कसैले “आँखा चिम्लेर शान्त स्थानको कल्पना गर्नुहोस्” भन्दै सन्देश सुनेको बताएका छन् भने, अन्य कलरहरूले राम्रो अङ्ग्रेजी नभएको एआईबाट सिर्जित आवाज सुनेको उल्लेख गरेका छन् । “एलो ? एलो ? कसले फोन गर्दै हुनुहुन्छ ? मैले सुन्न सकिनँ । तपाईँ को सँग कुरा गर्न चाहनुहुन्छ ? म एलिसिया हुँ । के तपाईँलाई मेरो सम्झना छ ? मलाई लाग्छ म तपाईँलाई चिन्दिनँ,” यस्तै आवाज सुनिन्छ ।
धेरैका लागि, यो अनुभव डरलाग्दो मात्र होइन, भयभीत पार्ने खालको छ । न्युयोर्ककी एक ३० वर्षीया महिलाले भनेकी छिन्, “आफ्नी आमाको आवाज सुन्ने आशामा फोन गर्दा एआई आवाज सुन्नु मेरो जीवनको सबैभन्दा डरलाग्दा अनुभवहरू मध्येको एक हो ।”

यी सन्देशहरूको समय महत्त्वपूर्ण छ । इजरायलले इरानी आणविक र सैन्य साइटहरूमा हवाई हमला सुरु गरेपछि यस्तो आवाज आउन सुरु भएको थियो । त्यसपछि इरानले जवाफी क्षेप्यास्त्र र ड्रोन हमला सुरु गर्यो । सँगसँगै इरानी सरकारले ह्वाट्सएप र अन्य मेसेजिङ सेवाहरू बन्द गरेर इन्टरनेट बन्द गरेको छ । डिजिटल सञ्चार अवरुद्ध भएपछि परिवारहरूले सिधै फोन कल गर्न थालेका छन् । तर फोन कल गर्दा समेत रहस्यमय आवाज सुनिन थालेको छ ।
रोबोटिक सन्देशहरूको सुनिनु र यस्तो सन्देश आउनुको उद्देश्य रहस्यमै छ । यद्यपि विद्युतीय सञ्चारलाई उच्च सुरक्षा चिन्ताले सताएको छ । निगरानी गर्न वा भ्रमित पार्ने उपकरणको रूपमा प्रयोग हुनबाट रोक्न इरान सरकारले यसमाथि रोक लगाएको हुन सक्ने बताइएको छ ।
शनिबारसम्म, नेटब्लक्सले ६२ घण्टाको गम्भीर अवरोधपछि केही क्षेत्रहरूमा अन्तर्राष्ट्रिय इन्टरनेट पहुँच आंशिक रूपमा पुनस्थापित भएपनि शनिबारदेखि पुनः ठप्प भएको उल्लेख गरेको छ । यद्यपि, समग्र कनेक्टिभिटी सामान्यभन्दा कम नै छ, र इरान भित्र र बाहिर दुवै तर्फका धेरै इरानीहरू अझै पनि परिवारसँग पुनः सम्पर्क गर्न र स्वतन्त्र जानकारी प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: असार ८, २०८२ १८:२५
सामाग्री श्रोत :
टेक पाना