काठमाडौँ । रक गायिका अभया सुब्बाले अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एआईको प्रयोगबारे खुलेर टिप्पणी गरेकी छिन् । फेसबुकमा एक पोस्ट राख्दै उनले सामाजिक सञ्जालमा आफूले पनि दैनिक पोस्ट गर्नुपर्ने दबाबका कारण कहिलेकाहीँ च्याटजीपीटीको सहारा लिने गरेको उनको स्वीकारोक्ति छ ।

तर यसले शिक्षाको मूल्य र मानिसको दिमागको क्षमतालाई कमजोर बनाउने उनको बुझाई छ । “हाम्रा आमाबुबाले धेरै मेहनत गरेर दिलाएको शिक्षा केवल एआईलाई प्रम्प्ट दिनका लागि होइन,” उनले च्याटजीपीटी प्रयोगलाई लिएर पछुतो व्यक्त गरेकी छिन् ।
यस्तै एआई वातावरणका लागि पनि महँगो पर्ने उनको भनाइ छ । धेरै मानिसहरूले अहिले एआई प्रयोग गरिरहेका छन् । यसलाई सञ्चालन गर्ने मसिनहरूलाई चिसो बनाउनका लागि प्रशस्त मात्रामा पानी चाहिने उल्लेख गर्दै आफ्नो विश्वास नलागे वास्तविकता पत्ता लगाउन गुगल गर्न आग्रह गरेकी छिन् ।
सुब्बाले आफ्नो लागी आफैँले लेख्नुपर्ने कुरा च्याटजीपीटीलाई लेख्न दिन नहुने बताउँदै, निरन्तर एआईको भर पर्नाले मानसिक क्षमतामा असर पर्ने वैज्ञानिक अध्ययनहरूको दाबी पनि दिएकी छिन् । उनले लेखेकी छिन्, “यदि तपाईँले आफैँ लेख्न बन्द गर्नुभयो भने, तपाईँको दिमाग एक किसिमले ‘फ्राई’ हुन्छ रे ।”

एआईबाट लेखिएको सामग्री पत्ता लगाउन सकिने सङ्केतहरूबारे पनि उनले चासो व्यक्त गरेकी छिन् । “It’s important to note that…”, “From this to that…” जस्ता वाक्यांश र लामो ड्यास (—) को प्रयोग एआईले लेखेका सामग्री पहिचान गर्ने तरिका भएको उनले बताएकी छिन् ।
उनी अगाडि लेख्छिन्, “१२ वर्षअघिको त्यो अभया बन्ने प्रयास गरिरहेकी छु, जसले फेसबुकमा मनमा आएका कुराहरू खुला रूपमा लेख्ने गर्थिन् । २०१४ को सामाजिक सञ्जाल अहिलेको जस्तो टक्सिक र सुपरफिसियल थिएन ।”
पछिल्लो अध्यावधिक: असार ८, २०८२ १०:५९
सामाग्री श्रोत :
टेक पाना