२०८२ असार ८ आईतवार
LATEST NEWS
२०८२ असार ८ आईतवार

एआई आयो, जागिर गयो ! ठुला प्रविधि कम्पनीले चुपचाप यसरी हटाउँदै छन् हजारौं कर्मचारी

 

काठमाडौँ । प्रविधि क्षेत्रमा पुनः एकपटक ठुलो संख्यामा रोजगारी कटौती भइरहेको छ । तर यसपटक न कम्पनीले सार्वजनिक घोषणा गरेका छन्, न त हल्ला नै फैलिएको छ  । गत वर्षहरूमा देखिएको एकैपटक सामूहिक कर्मचारी हटाउने परिपाटी अहिले ‘शान्त र रणनीतिक’ तरिकाले बदलिएको छ । जसमा कर्मचारीहरूलाई ‘स्वेच्छिक अवकाश’ योजनामार्फत जागिर छोड्न प्रेरित गरिँदैछ  ।

गुगल, अमेजन, माइक्रोसफ्ट लगायत ठुला प्रविधि कम्पनीले हालै आफ्ना कर्मचारीहरूलाई स्वेच्छिक बहिर्गमन प्याकेजको प्रस्ताव गर्दै क्रमशः जनशक्ति कटौती गरिरहेका छन् । यी प्याकेजअन्तर्गत कर्मचारीले निश्चित समयको तलब, स्टक भेस्टिङ सुविधा र स्वास्थ्य बीमा लाभ पाउँछन् ।

उदाहरणका लागि, गुगलले आफ्ना कर्मचारीलाई १४ हप्ता बेसिक तलबका साथै सेवा वर्ष अनुसार थप तलबसहित बिदाइ प्याकेज दिएको छ ।

यो नयाँ प्रवृत्तिले कम्पनीहरूले ‘मिसएलाइन’ (misaligned) कर्मचारी हटाउँदै लागत घटाउने रणनीति अपनाइरहेका छन् । एकातर्फ जनशक्ति घटाउन सजिलो र कम कानुनी जोखिम हुने उपाय भएको, अर्कोतर्फ कम्पनीको प्रतिष्ठामा पनि असर नपर्ने भएकोले यो तरिका रोजिएको हो ।

माइक्रोसफ्टले कमजोर प्रदर्शन गर्ने कर्मचारीलाई १६ हप्ताको तलबसहित बिदा दिने योजना ल्याएको छ भने अमेजनले अफिस फर्कन नचाहने कर्मचारीलाई तीन महिनाको तलबसहित बिदा गरेको रिपोर्टहरूमा उल्लेख छ ।

एआईको दबाब र बदलिँदो वर्कफोर्स

एआई प्रविधिको तीव्र विकाससँगै परम्परागत प्रविधि भूमिकाहरूको माग घट्दै गएको छ । कम्पनीहरूले उच्च दक्षतायुक्त एआई प्रतिभाका लागि बजेट व्यवस्थापन गर्न पुराना कर्मचारीहरूलाई स्वेच्छिक रूपमा बिदा गरिरहेका छन् । गुगलको एक आन्तरिक नोट अनुसार अब यो कम्पनी एआई केन्द्रित कार्य रणनीतिमा अगाडि बढ्न चाहन्छ, र एआईमैत्री हुन नसक्ने कर्मचारीलाई बिदाइ प्याकेजमार्फत बाहिर पठाइँदैछ ।

२०२५ को पहिलो छ महिनामा मात्रै १४१ प्रविधि कम्पनीहरूले करिब ६२ हजार ८०० भन्दा बढी कर्मचारी हटाएका छन् । यो संख्या Layoffs.fyi ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हो । तर यी कटौती पहिलेझैं एकैपटक नभई बिस्तारै र गोप्य रूपमा गरिएको देखिन्छ ।

नयाँ परिदृश्यको संकेत

प्रविधि उद्योगमा देखिएको यो ‘शान्त कटौती’ प्रवृत्तिले अबको भविष्य ‘लिन हाइब्रिड वर्कफोर्स’ (lean hybrid workforces) तर्फ उन्मुख भएको संकेत गर्छ । स्थायी जागिरको संख्या घट्दै जानु, पुनः तालिम र एडाप्टिलिबिटीको आवश्यकता बढ्नु र कर्मचारी मूल्यांकनको मापदण्डमा आमूल परिवर्तन आउनु यसको संकेत हुन् ।

साथै, उच्च दक्षता भएका कर्मचारीका लागि स्टार्टअप वा अन्य अवसरतर्फ जाने बाटो खुलिरहेको छ, तर  थोरै अनुभव भएका कर्मचारीका लागि प्रतिस्पर्धी बजारमा टिक्न चुनौती देखिन्छ ।

यस्तो रणनीतिक कटौतीले कम्पनीहरूलाई खर्च घटाउने र कार्यक्षमता बढाउने अवसर दिए पनि एआई प्रतिभा आपूर्ति कम भयो भने उनीहरूले फेरि रिटेन्सन प्याकेजमार्फत कर्मचारी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ ।

द इन्डियन एक्सप्रेसको सहयोगमा

पछिल्लो अध्यावधिक: असार ७, २०८२ २०:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट