काठमाडौँ । एप्पलले पछिल्लो समय चर्चामा आएको एआई सर्च इन्जिन ‘पर्प्लेक्सिटी एआई’ (Perplexity AI) खरिद गर्नेबारे आन्तरिक छलफल सुरु गरेको छ । एप्पलका गतिविधिबारे सटीक जानकारी दिने विश्लेषक मार्क गर्म्यानले कम्पनीको आन्तरिक स्रोतलाई उद्धृत गर्दै यो खुलासा गरेका हुन् ।

स्रोतका अनुसार यो छलफल हाल प्रारम्भिक चरणमा छ । एप्पलको मर्जर एन्ड एक्विजिसन डिपार्टमेन्टका प्रमुख र एआई विभागका वरिष्ठ कार्यकारीहरूले यस प्रक्रियाको नेतृत्व गरिरहेको गर्म्यानले खुलासा गरेका छन् । यद्यपि, छलफल सुरुवाती अवस्थामै रहेकाले दुई कम्पनीबिच सम्झौता हुने वा नहुने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।
यता, पर्प्लेक्सिटीका एक प्रवक्ताले भने यस विषयमा कुनै पनि वर्तमान वा भविष्यको छलफलबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
यदि एप्पलले पर्प्लेक्सिटी खरिद गर्ने निर्णय गरेमा उसले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । पहिलो, पर्प्लेक्सिटीको हालको बजार मूल्यांकन १४ अर्ब अमेरिकी डलर रहेको छ । यदि यो सम्झौता भएमा एप्पलको इतिहासकै सबैभन्दा ठुलो लगानी हुनेछ ।

त्यसैगरी, पर्प्लेक्सिटी एआई हाल सामसङसँग मिलेर आफ्ना केही फिचर सामसङको इकोसिस्टममा एकीकृत गर्ने विषयमा गम्भीर वार्ता गरिरहेको अवस्थामा छ । यस्तो अवस्थामा एप्पलको संभावित अधिग्रहण प्रक्रियामा थप जटिलता आउन सक्ने अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ७, २०८२ १६:८
सामाग्री श्रोत :
टेक पाना