काठमाडौँ । सरकारले देशभरका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई ‘सिकाइ चौतारी’ लर्निङ पोर्टलबाट अनलाइन अभिमुखीकरण कोर्स पूरा पूरा गर्न अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।

शिक्षण सिकाइ प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले विकास गरिएको अनलाइन लर्निङ पोर्टलमा शिक्षकहरूका लागि अभिमुखीकरण कोर्स उपलब्ध गराइएको केन्द्रको भनाइ छ । उक्त कोर्स पूरा गर्ने शिक्षकहरूले अनलाइन प्रमाणपत्र समेत प्राप्त गर्नेछन् ।
केन्द्रले प्रत्येक विद्यालयबाट कम्तीमा पाँच जना शिक्षकहरूलाई अनिवार्य रूपमा पोर्टलमा दर्ता गराउन समेत अनुरोध गरेको छ ।
“शिक्षण सिकाइमा सहजीकरण गर्न केन्द्रबाट सिकाइ चौतारीलाई व्यवस्थित गर्दै विभिन्न सामग्रीहरू एउटै पोर्टलमार्फत प्राप्त हुने गरी सञ्चालनमा ल्याइएको हुँदा सबै विद्यालयहरूले यसको प्रयोगमा जोड दिन तथा प्रत्येक विद्यालयबाट कम्तीमा पाँच जना शिक्षकहरूलाई अनिवार्य रूपमा पोर्टलमा दर्ता गर्न गराउनुहुन समेत अनुरोध छ,” सूचनामा भनिएको छ ।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयहरूलाई यो व्यवस्था कार्यान्वयन गराउन आग्रह गरेको छ । साथै, शिक्षकहरूलाई सिकाइ चौतारीको प्रयोगबारे विद्यार्थी तथा अभिभावकहरूलाई समेत आवश्यक जानकारी दिन अनुरोध गरिएको छ ।
सिकाइ चौतारीमा दर्ता गर्ने तरिका र अभिमुखीकरण कोर्ससम्बन्धी थप जानकारी तथा निर्देशनहरू केन्द्रको आधिकारिक वेबसाइट cehrd.gov.np र लर्निङ पोर्टल cehrd.gov.np मा राखिएको जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ७, २०८२ ७:५५
सामाग्री श्रोत :
टेक पाना