जोर्नी तथा घुँडा दुख्ने समस्या भएका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। घुँडा दुख्नुको मुख्य कारण घुँडाको हड्डी खिइनुको हो। उमेर ढल्केपछि देखिने समस्या पछिल्लो समय युवा अवस्थामा नै देखिन थालेको छ। यो समस्या महिला तथा बढी तौल भएकाहरुमा बढी देखिन्छ। सामान्यतया ४० वर्ष कटिसकेपछि यो समस्या देखिन थाल्छ।
जोर्नी वा हड्डी खिइएर गएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था समेत आउन सक्छ। घुँडा र हिपको जोर्नी खिइएमा हिँडडुल गर्न, बस्न तथा नियमित काम गर्न असहज हुन्छ। यस्तो अवस्थामा विभिन्न प्रकारका थेरापीले समेत काम नगरेमा जोर्नी प्रत्यारोपण गरिन्छ। हड्डी बलियो बनाउन कस्तो खानेकुरा खाने?,नेपालीहरुमा भिटामिन डी कमीको समस्या किन देखिन्छ?, बालबालिकामा हड्डी तथा जोर्नी सम्बन्धि समस्या देखिन्छ या देखिदैंन?, हड्डी तथा जोर्नी कमजोर भएको कसरी थाहा पाउने?,जोर्नी प्रत्यारोपण के हो? कसरी गरिन्छ? लगायतका विषयमा केन्द्रित भएर स्वास्थ्यखबरका लागि राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा ऋषि विष्टसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
हाडजोर्नी तथा मांशपेशी स्वास्थ्यलाई कसरी बुझ्ने?
सबैभन्दा पहिला मानव शरीरमा रहेका हाड जोर्नी तथा मांशपेशीको कामलाई बुझ्नु आवश्यक छ।
हाड जोर्नी तथा मांशपेशीले शरीरलाई निश्चित आकार दिने र शरीरको तौललाई वहन,शरीरलाई चलायमान बनाउने,शरीरका अंगहरुको रक्षा गर्ने,शरीरका रक्तकोषिकाहरु बनाउने लगायतका काम गर्छ।
शरीर चलायमान रहेको तथा शरीरको भार वहन गर्ने क्षमता राम्रो रहेको अवस्थामा हाड जोर्नी तथा मांशपेशी स्वास्थ्य राम्रो रहेको मानिन्छ।
के–कस्ता खानेकुराको सेवनले हड्डी बलियो बनाउन सकिन्छ? हड्डी बलियो बनाउन कस्तो खानेकुरा खाने भन्ने धेरैको जिज्ञासा रहेको पाइन्छ। हाड जोर्नी तथा मांशपेशीका लागि प्रमुख रुपमा क्याल्सियम तथा भिटामिन डी, ओमेगा लगायतका खानेकुराको आवश्यकता पर्छ।
यद्यपि बढी मात्रामा क्याल्सियमको चर्चा बढी हुन्छ। दुध तथा दूधजन्य परिकारहरु,अन्डा, माछा,ओमेगा फ्याटी एसिड,ओखर, क्याल्सियमको राम्रो स्रोत हुन्। त्यस्तै ताजा फलफुल ,बन्दा, काउली लगायतका खानेकुराले हाड जोर्नीलाई बलियो बनाउन सहयोग गर्छ।
मोबाइल र कम्युटरको लामो समयसम्मको प्रयोगले जोर्नी तथा मेरुदण्डमा असर गर्ने तथा ढाड दुख्ने समस्या बढ्दै गएको भनिन्छ, यो साँचो हो?
लामो समयसम्म एकै पोजिसनमा मोबाइल र कम्युटरको प्रयोगले त्यसले जोर्नीमा नकारात्मक प्रभाव पार्छ।यस्तो अवस्थामा जोर्नी चलायमान हुन छोड्छ,जसले जोर्नी खिइने, कमजोर हुने लगायतका समस्या समस्या निम्त्याउन सक्छ। जोर्नी चलायमान नहुँदा जोर्नी नजिकका मांशपेशीहरु समेत सक्रिय हुँदैंनन्। जसले कालान्तरमा जोर्नी खिइने समस्या देखिन थाल्छ।
लामो समयसम्म एकै पोजिसनमा मोबाइल र कम्युटरको प्रयोगले तत्कालीन रुपमा घाँटीको समस्या,मेरुदण्डका समस्या निम्त्याउँछ।
पुराना चोटपटकले उमेर ढल्किदै जाँदा हड्डीको गम्भीर समस्या नित्याउँछ पनि भनिन्छ नि?
पुराना चोटपटकले उमेर ढल्कदैं जाँदा हड्डीको गम्भीर समस्या निम्त्याउने कुरा साँचो हो।
युवा अवस्थामा फुटबल लगायतका खेल खेल्ने क्रममा जोर्नीमा चोटपटक लागेमा त्यसले उमेर ढल्कदैं जाँदा जोर्नी खिइने समस्या ल्याउन सक्छ।
अधिकांश नेपालीहरुमा परीक्षणका क्रममा भिटामिन डी को कमी देखिएका कारण सप्लिमेन्ट खानका लागि सुझाइन्छ, यसको कारण के होला?
यसका विभिन्न कारण हुनसक्छन्। जसमा प्रत्यक्ष देखिने कारणमा नेपालीहरुकोे छालामा पश्चिमा मुलकका मानिसहरुको तुलनामा बेलालिन नामक तत्व बढी रहेको हुन्छ। मेलालिन तत्व बढी हुँदा घामबाट पाइने सुर्यका किरणहरु छालाबाट छिर्न सक्दैनन् नेपालीहरुका भिटामिन डीको कमी हुनाको यो एउटा कारण हो।
त्यस्तै भिटामिन डीयुक्त दूध, दूधजन्य परिकारहरु, अन्डा लगायतका खानेकुराहरुको कम सेवनले पनि नेपालीहरुमा भिटामिन डीको कमी देखिएको हो।
विगतमा उमेर ढल्किदै जाँदा हाड, जोर्नी तथा मांशपेशीसम्बन्धि समस्याहरु देखिने गरेकोमा हाल कम उमेरमा नै यस्तो समस्या देखिन थालेका छन्,यस्तो किन भएको होला ?
यसको प्रमुख कारणका रुपमा आधुनिक जीवनशैलीलाई लिन सकिन्छ। शारीरिक व्यायामको कमी,कार्यशैली परिवर्तनले हाडजोर्नीका समस्याहरु बढ्दैं गइरहेका छन्।
पछिल्लो समय खानपानका आएको फेरबदल तथा बढी फास्टफुडको प्रयोेगले पनि जोर्नी तथा मांशपेशीका समस्याहरु निम्त्याएको छ।
फास्टफुडमा प्रयोग हुने स्याच्युरेटेड फ्याट बढी मात्रामा हुन्छन्। जसले हाडजोर्नीका साथै दीर्घकालीन रुपमा शरीरका अन्य अंगहरुमा समेत नकारात्मक असर गर्छ।
कोक, फ्यान्टा लगायतका चिनीयुक्त खानेकुराको अत्याधिक मात्रामा प्रयोगले पनि यस्तो समस्याहरु बढ्दै गइरहेका छन्। मोटोपना बढ्दै गएकोले पनि पछिल्लो समय मानिसहरुमा हाड जोर्नीको समस्या बढ्दै गएको छ।
बालबालिकामा पनि हड्डी तथा जोर्नी सम्बन्धि समस्या हुनसक्छन्?
हड्डी तथा जोर्नी सम्बन्धि समस्या वयस्कहरुमा मात्रै हुने समस्या होइन। बालबालिकामा पनि यस्तो समस्या हुन सक्छ।
बालबालिकामा हुने समस्यालाई जन्मजात रुपमा हुने समस्या तथा जन्मिएपछि हुने गरी दुई भागमा विभाजन गरिन्छ। बांङ्गिएका र कुप्रिएका जस्ता समस्या जन्मजात रुपमा देखिन्छन्।
जन्मिसकेपछि भने कुनै प्रकारका दुर्घटनाका तथा हड्डी तथा जोर्नीको संक्रमण,क्याल्सियम तथा भिटामिनका कमीका कारण बालबालिकाहरुमा यस्ता समस्या आउँछन्।
पुरुषको तुलनामा महिलाहरुमा बढी मात्रामा हड्डी तथा जोर्नीसम्बन्धि समस्या बढी देखिनुमा के -के कारणहरु होलान्?
महिलामा पुरुषको तुलनामा यस्तो समस्या बढी मात्रामा देखिन्छन्। महिला र पुरुषबीच रहेको शारीरिक बनोटको भिन्नताको कारण पनि यस्ता समस्या बढी देखिन्छन्। महिलाहरुको तल्लो पेट मुनि हुने हड्डीको चौडाई बढी हुन्छ। जसले हिँडडुलका लागि घुँडामा महिलाहरुलाई बढी प्रेसर पर्छ। जसकारण उनीहरुमा घुँडा खिइने समस्या बढी देखिन्छ। पुरुषको तुलनामा महिलाहरुमा लचकता बढी हुन्छ,जसले कालान्तरमा यस्ता समस्या निम्त्याउँछ।
मानव शरीरमा रहेको एस्ट्रोजेन नामक हर्माेनले कुरकरे हड्डीलाई जोगाउँछ। महिलाहरुमा महिनावारीको क्रममा एस्ट्रोजेन नामक हर्माेन घट्दै जान्छ। जसले कुरकरे हड्डीलाई जोगाउने क्षमतामा ह्रास हुन्छ।
हड्डी, जोर्नी कमजोर भएको मानिसले आफैं कसरी थाहा पाउन सक्छन्?
हड्डी, जोर्नी कमजोर भएको थाहा पाउन लागि पहिलो आधार लक्षण हो भने त्यसपछि परीक्षण पश्चात् पनि थाहा पाउन सकिन्छ। आफैंले थाहा पाउन सक्ने पहिलो लक्षण दुखाई नै हो। जोर्नीको कुनै भागमा दुखाई भएपछि चिकित्सकको परामर्श अनुसार विभिन्न परीक्षण गरिन्छ। त्यसबाट हड्डी, जोनी कमजोर भएको थाहा पाउन सकिन्छ।
वयस्क अवस्थाका तनावपुर्ण क्रियाकलाप तथा भागदौडले उमेर ढल्किँदै जाँदा जोर्नी तथा मांशपेशी कमजोर हुने समस्या निम्त्याउँछ?
वयस्क अवस्थामा कस्तो प्रकृतिको काम गरियो तथा त्यसले हाड जोर्नीमा चोटपटकको स्थिती भएको थियो वा थिएन भन्नेले त्यसलाई यकिन गर्छ। वयस्क अवस्थामा काम शिलशिलामा जोर्नीमा गम्भीर प्रकारमा चोटपटक लागेको स्थिति भएमा उमेर ढल्कदैं जाँदा जोर्नी सम्बन्धित समस्या आउन सक्छ।
के मोटोपना बढ्दैमा जोर्नी तथा हड्डीसम्बन्धित समस्या आउँछ ?
मोटो मानिसलाई जोर्नी तथा हड्डीसम्बन्धि समस्या आउँछ नै भन्ने होइन। तर उनीहरुलाई यस्ता समस्या आउने सम्भावना भने बढी हुन्छ। तौल बढ्दै जाँदा त्यसले जोर्नीमा बढी नकारात्मक प्रभाव पार्न थाल्छ।
जोर्नी बिग्रिएर प्रत्यारोपण गर्ने अवस्था कहिले आउँछ?जोर्नी प्रत्यारोपण के हो, किन गर्ने?
शरीरका कुनै पनि जोर्नीले काम गर्न नसकेको अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ। जोर्नीले भार वहन नगरेको, जोर्नी दुखाईका कारण दैनिकीमा प्रभाव पारेको तथा उपचारका अन्य विधिहरुले काम नगरेको अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ। जोर्नीमा लागेको चोटपटकका कारण कुरकुरे हड्डीमा असर परेको तथा अन्य समस्याका कारण कालान्तरमा जोर्नी खिइदैं गएर काम नगरेको अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ।
जोर्नी प्रत्यारोपणका उपचार प्रक्रियाका कस्तो हुन्छ?
घुँडाको र हिपको जोर्नी प्रत्यारोपण संसारमा बढी लोकप्रिय छन्। यद्यपि कुइना,पाखुराका जोर्नी पनि प्रत्यारोपण भने गर्न सकिन्छ। तर घुँडाको र हिपको जोर्नी प्रत्यारोपणमा सफलता दर राम्रो छ। प्रत्यारोपण भन्नाले एक ठाउँको जोर्नीलाई अर्काे ठाउँमा हाल्ने भने होइन। प्रत्यारोपणका क्रममा बिग्रिएको घुँडालाई फालेर अर्काे घुँडा राख्ने भन्ने भ्रम छ त्यो होइन। प्रत्यारोपणका क्रममा खिइएको भागलाई सफा गरि काटेर फाल्ने गरिन्छ। यसमा जोर्नी तस्तातस्तै हुन्छ, खिइएको भागलाई मात्रै फालिन्छ। फालेको भागमा फलाम राखिन्छ।
जोर्नी प्रत्यारोपण शल्यक्रिया जटिल वा सरल हुन्छ?
जोर्नी प्रत्यारोपण हाड जोर्नी सम्बन्धि विशिष्टीकृत विधा हो। तर जोर्नी प्रत्यारोपण ठुलो शल्यक्रिया पनि होइन। हिपको जोर्नी प्रत्यारोपण एकदमै सरल र परिणामुखी पनि छ।
नेपालको सन्दर्भमा भन्दा जोर्नी प्रत्यारोणपछि करिब ३–४ दिनको अस्पताल बसाईंपछि बिरामीलाई डिस्चार्ज गरिन्छ। कतिपय बिरामीलाई शल्यक्रिया कै दिनमा हिड्न लगाइन्छ भने कसैलाई शल्यक्रियाको एक दिन पछि मात्रै हिड्न लगाइन्छ।
प्रत्यारोपणको ४ देखी ६ सातासम्म वाकरको सहयोगले हिँड्न सुझाइन्छ।
जोर्नी प्रत्यारोपण पछि के–कस्ता कुरामा ध्यान दिनुपर्छ?
जोर्नी प्रत्यारोपण जीवन सहज बनाउन लागि गरिने हो। शल्यक्रिया पश्चात् दुखाई बिना नै दैनिक काम गर्न सकिन्छ। यद्यपि यो प्राकृतिक जोर्नी जस्तै भने हुन सक्दैन। त्यसकारण शल्यक्रिया पश्चात् टुक्रुक्क नबस्ने,पलेटी खसेर नबस्ने,तेक्वान्दो जस्ता खेलहरु नखेल्ने जस्ता सावधानीहरु अपनाउनपर्छ।
जोर्नी खिइने समस्याबाट कसरी जोगिने?
करिब ९० प्रतिशत जोर्नी खिइने समस्या उमेरका कारण हुन्छ। अध्ययनअनुसार ४० वर्ष उमेर पुरा भएपछि जोर्नी खिइने क्रम सुरु हुन्छ। ६० वर्षको उमेरमा करिब ५० प्रतिशतलाई जोर्नी खिइने समस्या भइसकेको हुन्छ। ६५ वर्षको उमेरसम्म करिब १०० प्रतिशत कै जोर्नी खिइने गर्छ।
त्यसकारण यसलाई शरीरमा हुने नियमित प्रक्रियाका रुपमा लिन आवश्यक छ। परीक्षणका क्रममा जोर्नी खिइने समस्या देखिएका मध्ये करिब १५ प्रतिशतलाई मात्रै लक्षण देखिन्छ। उमेर बढ्दै जाँदा कुरकुरे हड्डीमा ह्रास आउनुका साथै जोर्नीको बीचमा हुने र्यालको मात्रा पनि घट्दै जान्छ।
सामाग्री श्रोत :
swasthyakhabar

