
काठमाडौँ । आवाजसहितका भिडिओ बनाइदिने गुगलको नयाँ एआई टुल ‘भिओ थ्री’ अब युट्युबमै उपलब्ध हुने भएको छ । कम्पनीका सीओई निल मोहनले एक कार्यक्रममा भिओ थ्री युट्युब शर्ट्समा उपलब्ध हुने घोषणा गरेका हुन् ।
उनका अनुसार आगामी वर्ष यो फिचर युट्युब शर्ट्समा उपलब्ध हुनेछ । २० मेमा कम्पनीले आवाज सहितका भिडिओ बनाइदिने ‘भिओ थ्री’ टुल सार्वजनिक गरेको थियो । सुरुवाती समयमा महँगो सब्स्क्रिप्सनमा मात्र उपलब्ध यो टुल पछि कम्पनीले मासिक १९.९९ डलरको सब्स्क्रिप्सनमा उपलब्ध गराउन थालेको थियो । त्यसमा पनि एक महिनाको ट्रायल सेवा दिँदा यस टुलले तयार पारेका भिडिओ सामाजिक सञ्जालमा व्यापक देखिएका छन् ।
अब यही टुल युट्युब शर्ट्समा उपलब्ध हुने भएको छ । हुन त अहिले पनि युट्युब शर्ट्समा उपलब्ध ‘भिओ टु’ मोडेल प्रयोग गरी प्रयोगकर्ता आकर्षक ब्याकग्राउन्ड बनाउन सक्छन् । त्यसरी नै भिओ थ्री पनि उपलब्ध हुने बताइएको छ ।

यो फिचर प्रयोग गर्न कति शुल्क लाग्छ वा निःशुल्क हुन्छ भन्ने स्पष्ट छैन । त्यस्तै युट्युबमा यो टुल उपलब्ध भइसकेपछि त्यसको गुणस्तर अहिले भिओ थ्रीको जत्तिकै हुन्छ वा फरक हुन्छ बन्ने पनि स्पष्ट छैन । सीईओ निल मोहनका अनुसार दैनिक औसतमा शर्ट्समा २०० अर्ब भ्युज आउने गर्छ । त्यसैलाई अर्को स्तरमा लैजान भिओ थ्रीले महत्त्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८२ ८:४५
सामाग्री श्रोत :
टेक पाना