काभ्रे– पनौती–११ बल्थलीकी स्वास्थ्य स्वयंसेविका मनकुमारी लामाले माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट नगद रु १० हजारसहित सम्मानित भएकी छिन्।
सामान्य पढाइ र विकट गाउँको हुर्काइपछि ग्रामीण स्वास्थ्य कार्यकर्ताका रूपमा तामाङ समुदायमा स्वास्थ्य सचेतना जगाउँदै आएकी लामाले यस्तो सम्मानको अपेक्षा गरेकी थिइनन्।
बुधबार पनौती आईटी पार्कअघि रहेको लोटस इभेन्टमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो।
सावित्रीदेवी प्रतिष्ठानले उनलाई काभ्रेका प्रतिष्ठित व्यक्तित्वहरूको माझमा पनौती नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसमा सम्मान गरेको हो।
मनकुमारी लामासँगै बल्थलीकै अनिस्मा तामाङलाई पनि नगद रु १० हजारसहित सम्मान गरिएको छ। भक्तपुरको बागेश्वरी माविमा कक्षा १२ अध्ययनरत अनिस्माको भविष्यमा चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष रामईन्द्र न्यौपानेले बताए।
सोही कार्यक्रममा खोपासीका सहकारी अभियानकर्मी भरतप्रसाद शर्मालाई नगद रु २५ हजार र समुदायमा उल्लेखनीय सहयोग पुर्याउने डा आशिष लामिछानेलाई पनि नगद रु २५ हजारले सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै अनुराधा कोइरालाले समाजमा लागुऔषधको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले विशेष गरी डिस्को, बार र क्लबहरूमा हुने यस्ता गतिविधिमाथि सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यलाई उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरिन्। १३ देखि १९ वर्षसम्मका बालबालिकाहरूमा लागुऔषधको लत देखिएको र यसको बिक्री हुनु राम्रो नभएको उनले बताइन्।
कार्यक्रममा डा राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले सावित्रीदेवी प्रतिष्ठानले समाजमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। प्रतिष्ठानले खोपासीका ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको छ। युवा अभियन्ता भुषण श्रेष्ठले प्रतिष्ठानलाई नगद रु २५ हजार सहयोग गरेका छन्।
प्रतिष्ठानको कार्यक्रममा आजिवन सदस्यहरू, परिवारका सदस्यहरू, ज्येष्ठ नागरिकहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दिनेश न्यौपानेले गरेका थिए। कार्यक्रममा पनौती–११ का वडाध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपति, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष लगायतको पनि उपस्थिति थियो।
सामाग्री श्रोत :
swasthyakhabar

