काठमाडौँ । प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियाले न्यायालयलाई प्रभावित पारेको आरोप लगाएका छन् । बिहीबार बैठक खर्च कटौती सम्बन्धी प्रस्तावमा आफ्नो विचार राख्दै उनले कानुन मन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने माग राखेका हुन् ।

उनले भने, “म बारम्बार भन्छु, नेता र न्यायाधीशको मोबाइलको कल डिटेल सार्वजनिक होस् । म सुन्दै आइरहेको छु कि कानुन मन्त्री जी कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई कल गर्नुहुन्छ । उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ । सर्वोच्चमा छ भने न्याय परिषद्मा फोन गर्नुहुन्छ । त्यस कारणले म सदनसँग माग गर्न चाहन्छु कि कानुन मन्त्रीले न्यायाधीशसँग कुरा किन गर्ने ?”
प्रधान न्यायाधीश न्याय परिषद्को अध्यक्ष भएको बताउँदै उनले सांसद मन्त्रीले न्यायालय प्रभावित पार्न नमिल्ने तर्क गरे । कल डिटेल मागेर हेर्दा आफ्नो दाबी गलत निस्किएमा सांसद पद त्याग्न समेत तयार रहेको चुनौती सांसद सिंहले दिए ।
नेपालको न्याय प्रणाली महँगो भएको भन्दै न्यायालयबाट ठुलाबडा उम्कने गरेको समेत उनले आरोप लगाएका छन् । न्यायालयलाई माकुराको जालोसँग तुलना गर्दै सांसद सिंहले भने, “एउटा फिलोसफरले भनेका छन् माकुराको जालो हो, जहाँ साना किरा मकौरा त्यसमा अल्झेर मर्छ र ठुला बाघ, भालु, चित्तलले त्यसलाई चिरेर अघि बढ्छन् । अहिले न्यायपालिका त्यही भइरहेको छ ।”

कुनै परीक्षा लिएर भन्दा पनि दलको सिफारिसमा उच्च तथा सर्वोच्चको न्यायाधीश हुने गरेको भन्दै उनले न्याय परिषद्को विघटनको माग समेत गरेका छन् । न्याय परिषद्मा पोलिटिकल सिन्डिकेट रहेको आरोप समेत उनले लगाए । ठुला ठुला मुद्दामा पीडितले न्याय नपाएको बताउँदै उनले दलीय भागबन्डामा न्यायाधीश नियुक्ति गर्दा नेपाली जनताले न्याय नपाएको दाबी गरे ।
यता सांसद सिंहको उक्त अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका सांसद एवम् सचेतक सुशीला थिङले आपत्ति जनाएकी छिन् । प्रतिनिधि सभाको नियम २३ मा प्रयोग भएको सम्बद्धता शब्दको विपरीत गएर कानुन मन्त्रीको कल डिटेलको कुरा गरेको भन्दै उनले सांसद सिंहको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
उनले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउँदै भनिन्, “नियम २३ मा सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनुपर्ने भनिएको छ । कानुन मन्त्रीको कल डिटेलको कुरा तत्काल सम्बद्ध विषय भएन । त्यसैले यो शब्द रेकर्डबाट हटाइयोस् ।”
पछिल्लो अध्यावधिक: असार ५, २०८२ २०:१२
सामाग्री श्रोत :
टेक पाना