काठमाडौँ । भारतीय सवारी निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो विद्युतीय सवारी ‘ई-भिटारा’ (eVX) को उत्पादनमा कटौती गरेको छ । चीनले दुर्लभ खनिजहरूको निर्यातमा लगाएको प्रतिबन्धका कारण आपूर्तिमा समस्या आएपछि कम्पनीले उत्पादन लक्ष्य दुई तिहाइले घटाउने निर्णय गरेको हो ।

रोयटर्सका अनुसार, अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीले सुरुमा २६ हजार ५१२ युनिट ‘ई-भिटारा’ उत्पादन गर्ने योजना बनाएको थियो । तर, हाल उक्त संख्या घटाएर आठ हजार २२१ युनिटमा सीमित गरिएको छ ।
कम्पनीले आपूर्ति सीमितताको कारण यस्तो निर्णय गर्नुपरेको बताएको छ । ईभीका लागि आवश्यक म्याग्नेटसहितका दुर्लभ खनिजहरू उच्च प्रविधि उपकरण निर्माणमा प्रयोग हुने भएकाले ती खनिजको अभावमा उत्पादन प्रभावित भएको बुझिएको छ ।
‘ई-भिटारा’ सन् २०२४ को जनवरीमा भारतको अटो शोमार्फत सार्वजनिक गरिएको थियो । यो सवारीमार्फत मारुतीले विद्युतीय बजारमा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको थियो ।

यो समस्या कम्पनीको मातृ संस्था जापानी अटो निर्माता सुजुकी मोटर कर्पोरेशनलाई पनि असर पार्न सक्ने अनुमान गरिएको छ । भारत सुजुकीको सबैभन्दा ठुलो बजार मात्र नभई विद्युतीय सवारी उत्पादन केन्द्र पनि हो । कम्पनीले भारतमा निर्माण गरिने अधिकांश ‘ई-भिटारा’ सवारीहरू युरोप, जापानजस्ता बजारमा निर्यात गर्ने योजना बनाएको छ ।
कम्पनीका अध्यक्ष आरसी भार्गवले गत साता सञ्चारकर्मीहरूसँग बोल्दै पछिल्लो संकटले ई-भिटाराको उत्पादन वा सार्वजनिक गर्ने समयसीमामा तत्काल प्रभाव नपर्ने बताएका थिए ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १६:५९
सामाग्री श्रोत :
टेक पाना