काठमाडौँ । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको स्टारशिप रकेट प्रक्षेपण परीक्षणको तयारीका क्रममा विस्फोट भएको छ । टेक्सासस्थित म्यासेज टेस्टिङ सेन्टरमा कम्पनीको दशौं उडान परीक्षणका लागि तयार पारिएको ‘शिप ३६’ नामक स्टारशिपमा ठुलो विस्फोट भएको हो ।

स्थानीय समयअनुसार राति करिब ११ बजे (नेपाली समयअनुसार बिहीबार बिहान करिब १०:४५ बजे) स्ट्याटिक फायर टेस्ट सुरु हुनुभन्दा ठीक अगाडि यो घटना भएको थियो । नासा स्पेसफ्लाइट (NASASpaceflight) का अनुसार रकेटमा इन्धन भर्ने प्रक्रिया सुरु भएको करिब ३० मिनेटपछि विस्फोट भएको थियो ।
विस्फोटपछि परीक्षण स्थलमा घण्टौंसम्म आगोको मुस्लो देखिएको थियो भने स्थानीय ब्राउनस्भिल फायर डिपार्टमेन्टका दमकलहरू घटनास्थल पुगेका थिए ।
घटनालगत्तै स्पेसएक्सले एक विज्ञप्ति जारी गर्दै अपरेसनका क्रममा सुरक्षा क्षेत्र कायम राखिएको र सबै कर्मचारीहरू सुरक्षित रहेको पुष्टि गरेको छ । कम्पनीले भनेको छ, “सबै कर्मचारी सुरक्षित छन् र उनीहरूको खोजी भइसकेको छ । स्टारबेस वरपरका बासिन्दाहरूलाई कुनै खतरा छैन ।”

On Wednesday, June 18 at approximately 11 p.m. CT, the Starship preparing for the tenth flight test experienced a major anomaly while on a test stand at Starbase. A safety clear area around the site was maintained throughout the operation and all personnel are safe and accounted…
— SpaceX (@SpaceX) June 19, 2025
कम्पनीले स्थानीय अधिकारीहरूसँग मिलेर परीक्षण स्थल र वरपरको क्षेत्रलाई सुरक्षित बनाउने काम गरिरहेको जनाएको छ । साथै, सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान पनि आग्रह गरेको छ ।
के हो स्ट्याटिक फायर टेस्ट ?
स्ट्याटिक फायर टेस्टमा रकेट इन्जिनलाई प्रक्षेपण माउन्टमा बाँधिएकै अवस्थामा केही सेकेन्डका लागि चलाएर परीक्षण गरिन्छ । यस क्रममा रकेटले उडान भर्दैन, तर इन्जिनको कार्यक्षमता जाँचिन्छ । शिप ३६ को विस्फोट यो परीक्षण सुरु हुनुअघि नै भएको हो । विस्फोटको कारण र परीक्षण स्थलमा भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।
यो पछिल्लो विस्फोटले स्पेसएक्सको परीक्षणमा देखिँदै आएका चुनौतीहरूलाई फेरि सतहमा ल्याएको छ । यसअघि सातौं, आठौं र नवौं स्टारशिप उडान परीक्षणका क्रममा पनि विस्फोटका घटना भएका थिए ।
दशौं उडान परीक्षणका लागि स्पेसएक्सको ‘भी टु’ (V2) डिजाइनको स्टारशिप प्रयोग गरिँदै थियो । कम्पनीका मालिक मस्कले यो डिजाइनले बढी इन्धन बोक्न सक्ने र बढी विश्वसनीय हुने बताएका थिए । कम्पनीले ‘भी थ्री’ नामक नयाँ डिजाइन पनि तयार गरिरहेको छ, जसबाट भविष्यमा हप्तामा एक पटकसम्म प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १५:७
सामाग्री श्रोत :
टेक पाना