
काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि रोकिएको अन्तर्वार्ता प्रक्रिया पुनः सुरु गर्ने भएको छ । तर अबका सबै आवेदकले आफ्ना सोसल मिडिया अकाउन्ट पब्लिक (सार्वजनिक) राख्नुपर्नेछ ।
अमेरिकी विदेश मन्त्रालयले कडा नियम ल्याएपछि यसबारे बहस सिर्जना भएको छ । मन्त्रालयका अधिकारीहरूलाई यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका सामाजिक सञ्जाल परीक्षण गर्न निर्देशन दिइएको छ । त्यसअन्तर्गत अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा राष्ट्रका मूलभूत सिद्धान्तप्रति घृणा वा दुस्मनी झल्किने कुनै संकेत भएमा विशेष निगरानी गरिने बताइएको छ ।
ट्रम्प प्रशासनले गत मे महिनाको अन्त्यतिर विद्यार्थी भिसा अपोइन्टमेन्ट प्रक्रिया स्थगित गरेको थियो । यसबिचमा अमेरिकी सुरक्षालाई खतरा हुने सम्भावना देखिएका आवेदकहरूलाई रोक्ने रणनीति तयार पारिएको थियो ।

यो नियम मुख्यतया विद्यार्थीहरूले प्रयोग गर्ने ‘एफ’ भिसा, व्यावसायिक तालिमका लागि प्रयोग हुने ‘एम’ भिसा र एक्सचेन्ज विद्यार्थीहरूले प्रयोग गर्ने ‘जे’ भिसाका सबै आवेदकहरूमाथि लागु हुनेछ ।
मन्त्रालयले सोसल मिडिया अकाउन्ट प्राइभेट (गोप्य) राख्ने आवेदकले आफ्नो गतिविधि लुकाउन खोजेको रूपमा बुझ्न सकिने चेतावनी समेत दिएको छ ।
ट्रम्प प्रशासनले गत मे महिनाको अन्त्यमा विद्यार्थी भिसाका अन्तर्वार्ताहरू रोकेको थियो । यो कदम ट्रम्प प्रशासनले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूमाथि गरिरहेको कडा नीतिको एक हिस्सा हो । राष्ट्रपति डोनल्ड ट्रम्पले यी संस्थाहरूलाई उग्रवामपन्थी भएको र प्यालेस्टाइन-समर्थक प्रदर्शनहरू नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।
‘ओपन डोर्स’ नामक संस्थाको तथ्याङ्क अनुसार, २०२३-२४ शैक्षिक सत्रमा २१० भन्दा बढी देशका ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेज तथा विश्वविद्यालयहरूमा भर्ना भएका थिए । यो नयाँ नियमले अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने लाखौं विद्यार्थीलाई प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ ११:१३
सामाग्री श्रोत :
टेक पाना