२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

आइएमई पे र खल्ती मर्जरपछि एपको नाम ‘खल्ती’ रहने, बन्नेछ देशकै सबैभन्दा ठुलो डिजिटल वालेट

काठमाडौँ । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा एक महत्त्वपूर्ण घटनाक्रम अन्तर्गत दुई ठुला भुक्तानी सेवा प्रदायकहरू आइएमई पे र खल्ती एक-आपसमा गाभिने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकले मर्जरका लागि बुधबार अन्तिम स्वीकृति प्रदान गरेसँगै यी कम्पनी एक हुने भएका हुन् ।

एकीकृत कम्पनी बनेपछि वालेटको आधिकारिक नाम ‘खल्ती’ रहनेछ भने कम्पनीको नाम ‘आइएमई खल्ती लिमिटेड’ हुनेछ । त्यस्तै रजिस्टर्ड कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ । यो मर्जरसँगै खल्तीका प्रयोगकर्ताको संख्या ५० लाखभन्दा बढी पुग्नेछ । योसँगै चुक्ता पुँजी र प्रयोगकर्ता आधार दुवै हिसाबले नेपालको सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रूपमा खल्ती स्थापित हुने बताइएको छ ।

यस अन्तर्गत आगामी तीन महिनाभित्र दुवै वालेटका प्रयोगकर्तालाई एकीकृत गर्ने कार्य सकाउने तयारी छ । यो अवधिभर आइएमई पे र खल्ती दुवै एपहरू यथावत् रूपमा सञ्चालनमा रहनेछन् । आइएमई पेका प्रयोगकर्ताहरूको वालेटमा रहेको ब्यालेन्स र रिवार्ड प्वाइन्टहरू स्वचालित रूपमा नयाँ खल्ती एपमा स्थानान्तरण हुने व्यवस्था मिलाइएको छ ।

“आइएमई पेमा मात्र रहेका प्रयोगकर्ताहरूलाई उनीहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ,” आइएमईले पठाएको विज्ञप्तिमा भनिएको छ, “आइएमई पेमा उपलब्ध सबै सुविधाहरू अब एकीकृत खल्ती एपमा पनि उपलब्ध हुनेछन् ।”

भविष्यमा खल्ती एपमार्फत नै विश्वको कुनै पनि ठाउँबाट रेमिटेन्स प्राप्त गर्ने, बैंक खाता खोल्ने, भिसा कार्ड लिने तथा ऋण सुविधा समेत उपलब्ध गराउने योजना ल्याइएको छ ।

मर्जर प्रक्रिया सुरु भएदेखि नै आइएमई पे र खल्तीले एक-अर्काबिच सहकार्य सुरु गरिसकेका थिए । यसअन्तर्गत विभिन्न कार्यक्रममा संयुक्त टिकेटिङ साझेदार बन्नेदेखि विदेशबाट आइएमई मार्फत पठाइएको रकम सिधै खल्ती वालेटमा प्राप्त गर्न सकिने सुविधा ल्याइएको थियो ।

खल्तीका सह-संस्थापक अमित अग्रवालले राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको दिनलाई नेपाली फिनटेक उद्योगका लागि ऐतिहासिक भएको बताए । “नियामकबाट मर्जरको लागि आधिकारिक स्वीकृति पाउनु हाम्रो यात्राको एक ठुलो उपलब्धि हो । हामी हाम्रा प्रयोगकर्ता, टिम, साझेदार, लगानीकर्ता, साथीभाइ र परिवारप्रति पाएको विश्वास र सहयोगका लागि गहिरो धन्यवाद व्यक्त गर्न चाहन्छौं ।”

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ संशोधन गरी मर्जर तथा प्राप्तिको मार्ग खुला गरेपछि डिजिटल वालेट कम्पनीहरूबिच गाभिने व्यवस्था बनेको हो । नेपालमा २५ डिजिटल वालेटहरूले लाइसेन्स प्राप्त गरेको अवस्थामा आइएमई पे र खल्ती​को मर्जरले अन्य कम्पनीहरूलाई पनि यस्तै कदम चाल्न प्रेरित गर्ने विश्लेषण गरिएको छ ।

एकीकृत कारोबारपछिको कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ मा आइएमई समूहको ५५ प्रतिशत र खल्तीको ४५ प्रतिशत शेयर स्वामित्व रहने चर्चा छ । हाल खल्तीको बजार हिस्सा करिब २५ प्रतिशत र आइएमई पेको करिब १५ प्रतिशत छ । मर्जरसँगै कम्पनीले संयुक्त रूपमा ४० प्रतिशत बजार हिस्सा कायम गर्नेछ । यो बलियो बजार स्थितिले कम्पनीलाई इसेवाजस्ता अन्य प्रमुख डिजिटल वालेटहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन सक्नेछ ।

आइएमई पेले २०७४ असार ५ मा र खल्तीले २०७६ वैशाख २ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेका थिए ।

पछिल्लो अध्यावधिक: असार ५, २०८२ १०:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट