काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्न वाणिज्य बैंकहरूसँग सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकहरूलाई आफूले लगानी गर्न चाहेको रकम र दिनसक्ने अधिकतम ब्याजदरसहित प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार, इच्छुक बैंकहरूले यही असार ६ गते शुक्रबार दिउँसो ३ बजेभित्र प्राधिकरणको आर्थिक प्रशासन शाखा, जमलमा आफ्नो सिलबन्दी कोटेशन पेश गरिसक्नुपर्नेछ । प्राधिकरणले ६ महिनादेखि एक वर्षसम्मको अवधिका लागि उक्त रकम मुद्दती खातामा राख्न चाहेको हो ।
प्रस्ताव पेश गर्दा बैंकहरूले आफ्नो पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), निष्कृय कर्जा प्रतिशत (NPL), कर्जा-पुँजी-निक्षेप अनुपात (Credit Capital Deposit Ratio), वैधानिक तरलता अनुपात र खुद तरलता अनुपातजस्ता पाँच ओटा वित्तीय सूचकहरू अनिवार्य रूपमा खुलाउनुपर्नेछ । प्राधिकरणले यी सूचकहरू २०८१ चैत मसान्तको प्रकाशित वित्तीय विवरणमा आधारित हुनुपर्ने शर्त राखेको छ ।
यसका साथै बैंकले प्रस्ताव गरेको ब्याजदर कम्तीमा १५ दिनसम्मका लागि मान्य हुनुपर्ने र तोकिएका विवरणहरू उपलब्ध नगराउने बैंकको प्रस्ताव स्वतः रद्द हुने सूचनामा उल्लेख छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले प्राप्त गरेको वार्षिक आयको दुई प्रतिशतले हुन आउने रकम ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । कोषमा रकम निष्क्रिय अवस्थामा रहेपछि प्राधिकरणले समय-समयमा बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ ८:२३
सामाग्री श्रोत :
टेक पाना