काठमाडौँ । एक अर्ब ३६ करोड रूपैयाँभन्दा बढी बिगो सहित अनलाइन डेलिभरी कम्पनी ‘नेपाल क्यान मुभ प्रालि’ का सञ्चालक सहित ६ जनाविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले ३ जना प्रतिवादीलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गएको १ असारमा राजस्व अनुसन्धान विभागले कम्पनी सहित छ जनाविरुद्ध आयकर छली मुद्दा दायर गरेको थियो ।

अदालतले मुद्दा दायर गर्नुभन्दा अगाडि नै पक्राउ परेका तीन जनालाई धरौटीमा छोड्ने आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारी र न्यायाधीश कविप्रसाद न्यौपानेको संयुक्त इजलासले मङ्गलबार उक्त मुद्दामा सुनुवाइ गरेको थियो ।
त्यसक्रममा पक्राउ परेका प्रतिवादी गंगाबहादुर थापाबाट ६० लाख रुपैयाँ, संगम पौडेलबाट ३० लाख रुपैयाँ र मनिषप्रसाद आचार्यबाट १० लाख रुपैयाँ गरी कूल एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको हो ।
उनीहरू विरुद्ध मिलेमतोमा अस्ट्रेलियाबाट सर्भर सञ्चालन गरेर कर छलि गरेको आरोपमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार मुद्दा दायर गरिएको थियो । हाल सुदिप आचार्य, जीवन ज्ञवाली र मिठु पौडेल भने सम्पर्कमा नआएको विभागले जनाएको छ ।

विभागको अनुसन्धानअनुसार कम्पनीले सर्भर अस्ट्रेलियामा राखेर कारोबार विवरण आन्तरिक राजस्व विभागबाट लुकाउँदै आएको देखिएको छ । उक्त पोर्टलमार्फत भएका बिक्रीलाई तोडमोड गरेर वास्तविक विवरणमा नदेखाइ म्यानुअल बिलिङ प्रणाली अपनाएर कर छली गरिएको पुष्टि भएको विभागले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ४, २०८२ २०:५०
सामाग्री श्रोत :
टेक पाना