काठमाडौँ — विदेश गएका नेपालीले पठाएको रकम (रेमिट्यान्स) केहि बर्षयता निरन्तर उकालो लागिरहेको छ । सोही क्रममा चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्समार्फत १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३.२ प्रतिशतको बढी हो । गत आर्थिक वर्षको वैशाखसम्ममा पनि रेमिट्यान्स १६.९ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत वैशाखमा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको छ । मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि धेरै रेमिट्यान्स गत फागुनमा १ खर्ब ५१ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको थियो ।
युवा बाहिरिने क्रम बढेकाले रेमिट्यान्स आप्रवाह पनि बढेको अर्थविद् एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्नुले पनि रेमिट्यान्समा वृद्धि देखिएको उनको भनाइ छ ।
गएको १० महिनामा वैदेशिक रोजगारीका लागि ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएका छन् । ४ लाख ५ हजार ६१० जनाले अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० र २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख ९ हजार ७ सय ५ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए । सो अवधिमा ३ लाख ७३ हजार ३ सय ७ ले अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० र २ लाख ३६ हजार ३ सय ९८ ले पुनः श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति बढेसँगै रेमिट्यान्स पनि वृद्धि भएको जानकारको भनाइ छ ।
तर रेमिट्यान्स बढ्यो भनेर मात्र खुसी हुन नहुने अर्थविद्हरू बताउँछन् । अर्थतन्त्र चलायमान बनाउन कुनै प्रयास नगरी रेमिट्यान्स बढ्यो भनेर सरकार आत्मरतिमा रमाइरहेको अर्थविद् थापाको भनाइ छ । ‘अर्थतन्त्रको बाह्य क्षेत्र थप मजबुत बनेको छ । यो हाम्रो कारणले होइन । विदेशी अर्थतन्त्र राम्रो भएकाले रेमिट्यान्स बढेको हो,’ उनले भने, ‘रेमिट्यान्सबाहेक अर्थतन्त्रका अरू कुनै सूचक राम्रा छैनन् ।’ धेरैभन्दा धेरै युवा रोजगारीका लागि बाहिरिनु राम्रो नभएको उनले बताए । ‘१० महिनामा मात्र ७ लाख युवाले देश छोडेका छन् । यो राम्रो संकेत होइन,’ उनले भने ।
सामाग्री श्रोत :
deshparadesh

