काठमाडौँ । आफ्ना जिज्ञासाहरूको जवाफ गुगलमा त खोजिन्छ तर गुगलमा आउने लामा लामा विश्लेषण, लेखहरूले कहिलेकाही दिक्क नै लाग्छ । एउटा सानो जवाफको लागि पूरा लेख नै पढ्नुपर्ने बाध्यता हुन्छ । तर पछिल्लो समयमा विकास भएका विभिन्न एआई टुलहरूले भने यो कामालाई सहज बनाइदिएको छ ।

तपाईँले जान्न चाहेको कुरा कुनै पनि लामो लेखबाट सारांशमा थाहा पाउन सक्नुहुन्छ । यही कुरालाई मध्यनजर गर्दै गुगलले यो कामलाई अब सहज बनाएको छ ।
अब गुगलमा सर्च रिजल्ट अडियोमा नै सुन्न सकिने भएको छ । शुक्रबार ‘सर्च ल्याब्स’ अन्तर्गत सार्वजनिक गरिएको यो फिचरलाई अडियो ओभरभिउज (Audio Overviews) भनेर नाम दिइएको छ ।
यस फिचरले जेमिनाइको प्रयोग गरेर प्रयोगकर्ताले सर्च गर्दा आउने रिजल्टको ३० देखि ४५ सेकेन्डको छोटो सारांश अडियो तयार गर्छ । उक्त अडियोसँग सम्बन्धित अन्य लिंकहरू पनि देख्न सकिन्छ, ताकी प्रयोगकर्ताले अडियोमा दिएका कुराहरू पुन: भेरिफाइ गर्न सकियोस् ।

यो फिचर धेरै नोटबुक एलएममा प्रयोग भएको पाइन्छ । नोटबुक एलएममा लामा-लामा लेख तथा दस्तावेजहरूको सारांश बनाएर पोडकास्टको रुपमा सुन्न सकिन्छ । गुगलले पनि यस्तै सेवा सुरु गर्न लागेको हो ।
गुगलले यो फिचरले सर्च अनुभवलाई टेक्स्टबाट अडियोतर्फ लैजाने संकेत दिएको छ । यसले विशेष गरी दृष्टिविहीन वा कम दृष्टि भएका प्रयोगकर्ताका लागि सहजता ल्याउने अपेक्षा गरिएको छ । तर यसले प्रकाशकहरूका लागि भने चुनौती थप्न सक्छ, जसको आम्दानी प्रयोगकर्ताले लिंक क्लिक गर्दा हुनेगर्छ । हालसम्म यो सुविधा केवल अमेरिका भित्रका प्रयोगकर्ताका लागि उपलब्ध छ ।
अन्य प्रयोगकर्ताले भने गुगल ल्याब्समा गएर ‘सर्च ल्याब’ मा साइन इन गरी अडियो ओभरभिउज एक्टिभ गर्नुपर्नेछ ।
एकपटक इन्स्टल भएपछि ‘Generate Audio Overview’ भन्ने अप्सन आउँछ । यस ट्याप गरिसकेपछि अडियो क्लिप प्ले गर्न, भोल्युम बढाउन, म्यूट गर्न वा प्रतिक्रिया दिन सकिनेछ ।
गुगलले यो फिचर अझ परीक्षणकै चरणमा रहेको बताएको छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ २०:४७
सामाग्री श्रोत :
टेक पाना