
काठमाडौँ । युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूलाई अपशब्द प्रयोग गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सामाजिक सञ्जालमा ‘ड्राइभर रेशम’ भनेर चिनिने बागलुङको निसीखोला गाउँपालिका वडा नं. ४ का ३६ वर्षीय रेशमराज पौडेल छन् ।
ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार नेपालगन्जको रुपैडियाबाट नियन्त्रणमा लिएको हो । पौडेलले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट विभिन्न व्यक्तिहरूलाई अपशब्द प्रयोग गरेर गाली गर्ने गरेको प्रहरीको भनाइ छ ।
उनको युट्युब च्यानलमा १७ हजारभन्दा बढी सब्सक्राइबर छन् । आफूलाई राजावादी बताउने उनको युट्युब च्यानलबाट पछिल्लो पटक शनिबार चार ओटा भिडिओ सार्वजनिक भएका छन् । ती भिडिओमा पनि उनले रास्वपा तथा भिजिट भिसा प्रकरणका विषयलाई लिएर गृहमन्त्री रमेश लेखकलाई अपशब्द प्रयोग गरेका छन् ।

यस्तै उनले पुण्य प्रसाईँ, ज्ञानेन्द्र शाही, वकिल, शिक्षामन्त्री रघुजी पन्तलगायतलाई विभिन्न आरोप लगाउँदै अपशब्द बोलेर गाली गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।
उनले नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गर्दै तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तरिकाले अपशब्दहरूद्वारा कानूनले वर्जित गरेका शब्द र सामग्रीहरू प्रसारण गरेर नकारात्मक धारणा फैलाएको ब्युरोले जनाएको छ ।
पौडेलले सामाजिक सञ्जालमा अपलोड गरेका भिडिओहरूले समाजलाई निकै नकारात्मक सन्देश दिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । “उनको भिडिओमा प्रयोग भएको भाषाले धेरैलाई दुःखी बनाएकाले पक्राउ गरेका हौँ,” उनले भने ।
पौडेलविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १७:३१
सामाग्री श्रोत :
टेक पाना