२०८२ असार ३ मंगलवार
LATEST NEWS
२०८२ असार ३ मंगलवार

एसईई रिजल्ट असार तेस्रो सातामा, त्यसपछि आईटीमा के छ अवसर ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । करिब पाँच लाख विद्यार्थी सहभागी परीक्षाको परीक्षण कार्य अन्तिम चरणमा पुगेको र नतिजा त्रुटिमुक्त बनाई सार्वजनिक गरिने बोर्डले जनाएको छ । 

यसैबिच आज हामी एसईईपछि सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीले के-के गर्न सक्छन् र भविष्यमा कस्ता कस्ता विकल्प छन् भनेर जानकारी दिँदै छौँ:

हुन त विद्यालय तहमा कम्प्युटर विषय हुन्छ । एसईईपछि सीटीईभीटीबाहेक अरूमा आईटीसम्बन्धी छुट्टै कोर्स छैन । आईटी कोर्स नै अध्ययन गर्न भने कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ ।

कक्षा ११/१२ वा ‘ए लेभल’ मा ऐच्छिक विषयमा कम्प्युटर रहेको छ । आईटीमा रुचि भएका विद्यार्थीले यो विषय चयन गर्न सक्छन् ।

एसईईपछि नै आईटीको कोर्स गर्न भने सीटीईभीटीले सञ्चालन गर्ने कोर्स उपयुक्त हुन्छन् । हाल सीटीईटीभीटीले प्रि-डिप्लाेमा तह (१८ महिने) मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टकाे कोर्स सञ्चालन गरिरहेकाे छ ।

सीटीईभीटीका अनुसार डिप्लाेमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नाेलाेजी (आईटी)काे पढाइ हुन्छ ।​ सीटीईभीटीले यी काेर्स देशभरका एक सय बढी शैक्षिक संस्थामा सञ्चालन गरिरहेकाे छ । तत्कालै रोगजार हुन चाहने विद्यार्थीले सीटीईभीटीका कोर्स गर्दा राम्रो हुन्छ ।

यसबाहेक कक्षा ११ पढिरहँदा विद्यार्थीले समय निकालेर विभिन्न सीप सिक्न सक्नेछन् । यसअन्तर्गत ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, फोटोग्राफीजस्ता  मल्टिमिडियाका सीप उपयोगी हुन्छन् । 

यो छोटो समयमा विद्यार्थीले मल्टिमिडियाको सीप सिक्न सक्छन् । जसका लागि कुनै इन्स्टिच्युटमा गएर, अनलाइनमा सर्च गरेर, युट्युबमा भिडिओ हेरेर सिक्न सकिन्छ । कतिपय इन्स्टिच्युटले त्यस्ता प्रकारको सीप सिकाएर इन्टर्नको अवसर पनि दिने गर्छन् । त्यसैले विद्यार्थीले पढ्दै कमाउन पनि सक्छन् । 

अर्कोतर्फ, सफ्टवेयर, वेबसाइट वा एपहरूमा रुचि छ भने प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिन्छ । आजभोलि इन्टरनेटमा विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजको कोर्स पाइन्छ । विद्यार्थीले यो समयमा एचटीएमएल, सीएसएस, जाभा, सी, सी++ जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् ।

यसरी यो समयमा प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न मेहेनत गरे सामान्य खालका वेबसाइट बनाउन, मोबाइल एप बनाउन सकिन्छ । यसले भविष्यको प्रोग्रामिङ-यात्रालाई समेत धेरै फाइदा पुर्‍याउन सक्छ ।

त्यस्तै, सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढिरहँदा डिजिटल मार्केटिङको पनि आवश्यकता र महत्त्व बढिरहेको छ । ​एसईई सकेका विद्यार्थीले अनलाइन वा भौतिक रूपमा नै इन्स्टिच्युटमा गएर डिजिटल मार्केटिङ सिक्न सक्छन् । यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसईओ), सर्च इन्जिन मार्केटिङ (एसईएम) आदि सीप सिक्न सक्छन् ।

त्यस्तै, अहिले रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी)को प्रयोग बढ्दै गइरहेको छ । यसको विकासमा ठुला प्रविधि कम्पनी समेत लागेका छन् ।

यदि विभिन्न सामानहरू बनाउन मन लाग्छ भने यो छोटो समयमा विद्यार्थीले रोबोटिक्स र आईओटीका आधारभूत र सैद्धान्तिक विषय सिक्न सक्छन् । यससम्बन्धी इन्टरनेटमा थुप्रै कोर्स, ट्युटोरियल पाइन्छ ।

अर्कोतर्फ, कुर्सीमा बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्नुमात्र आईटी होइन । त्यसमा हार्डवेयरको पनि काम धेरै हुने गर्छ । विभिन्न ट्रेनिङ सेन्टरले कम्प्युटर रिपेयरिङको सीप सिकाइरहेका हुन्छन् ।

त्यहाँ गएर विद्यार्थीले यस प्रकारको सीप सिक्न सक्छन् । यस प्रकारको सीपकाे पनि प्रविधि क्षेत्रमा माग बढिरहेकाे छ । 

एसईईपछि आईटी क्षेत्रमा करिअर सुरु गर्न उत्तम समय हो । आफ्नो रुचिअनुसार विषय छनोट गरी नि:शुल्क स्रोतबाट सिक्न थाल्नुहोस्, प्रोजेक्ट बनाएर अभ्यास गर्नुहोस् र अनुभव बटुल्नुहोस् । नेपालको आईटी क्षेत्र विस्तार भइरहेको अवस्थामा स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि रोजगारीका अवसरहरू बढेका छन् ।

पछिल्लो अध्यावधिक: असार ३, २०८२ ११:८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट