२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्यकाल सकियो

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको कार्याकाल सकिएको छ।

प्रतिष्ठानमा चार वर्षका लागि २०७८ असार ३ गते नियुक्त भएका महतको कार्यकाल आजदेखि सकिएको हो। महतलाई प्रतिष्ठानका सहकुलपति समेत रहेका तत्कालिन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले नियुक्त गरेका थिए।

महतले २०७८ सालको ३ गतेदेखिनै प्रतिष्ठानबाट रजिष्ट्रारको तलब लगायतका सेवा सुविधा लिएका छन्। यद्यपि उनले असार १० गते पत्र लिएका थिए। तर उनले तलब लगायतका सेवा भने २ गतेदेखि नै लिएको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ।

स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव गोपिकृष्ण रेग्मी अनुसार २०७८ असार ३ गते निर्णय भएर चार वर्ष अवधि तोकिएको र सोही मिति अनुसार नियुक्ति पाएका पदाधिकारीले सेवा दिनदेखि नै सुविधा लिएको भएमा कार्यकाल सकिएको हो।

‘तलब लगायतका सेवा सुविधा चार वर्षको लिइसकेको हुँदा असार ३ गते निर्णय भएर सोही दिनदेखि सेवा लिएकाको हकमा कार्यकाल सकिएको भनेर प्रष्ट बुझ्नुपर्छ,’ उनले भने, ‘नियुक्तिको निर्णय भएकै दिनदेखि तलब लिएको छ भने पत्र पछि बुझेपनि कार्यकाल सकिएको भनेर नै बुझिन्छ।’

स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार पनि महतले पत्र बुझ्नु अघिदेखिने  तलब लगायतका सेवा लिएको देखिन्छ। महतले स्वास्थ्य मन्त्रालयबाट १० गतेको मितिमा पत्र लिएको देखिन्छ। उनको पत्रमा पनि असार ३ गते निर्णय भएको भनेर उल्लेख छ। तर उनले असार २ गतेदेखि नै तलब लिएको देखिन्छ।

नेकपा एमाले भातृ संस्था युवा संघका उपाध्यक्ष रहेका महतलाई तत्कालिन समयमा मन्त्री तामाङले नियुक्तिको निर्णय गर्दा नै विवाद भएको थियो।तत्कालिन समयमा प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री तामाङले मन्त्रीबाट हटेपछि पुरानो मिति राखेर महतलाई रजिष्ट्रारमा नियुक्त गरेको भन्दै विवाद भएको थियो।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले महतसहित तीन जनाको नाम मन्त्री तामाङलाई सिफारिस गरेका थिए। २०७८ असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए। उनी मेलम्चीमा नै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतले तामाङ सहित २० जना मन्त्री जिम्मेवारीमुक्त भएका थिए।

जिम्मेवारीमुक्त भएपछि मन्त्री तामाङले महतलाई असार ३ गतेको मितिमा रजिष्ट्रारमा नियुक्त गरेको पत्र  तयार पारेको मन्त्रालयका कर्मचारीले आरोप लगाएका थिए।

स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारीले विगतमा जे जसरी नियुक्ति पाए पनि प्रतिष्ठानका रजिष्ट्रार पदमा चार वर्षका लागि भनेर लेखेर नै नियुक्ति पाएका महतले चार वर्ष अवधिको तलब लगायतका सेवा लिएको देखिएकाले कार्यकाल सकिएको भनेर नै बुझेको जानकारी दिए।

कर्मचारीले लगाए ताला
रजिष्ट्रार महतले कार्यकाल सकिन लाग्दा प्रक्रिया विपरित धेरैभन्दा धेरै कर्मचारी नियुक्त गर्न लागेको भन्दै प्रतिष्ठान कर्मचारीहरुले प्रतिष्ठानको प्रशासनमा ताला लगाएका छन्। जुम्लाको कार्यालय र काठमाडौं सम्पर्क कार्यालयमा कर्मचारीले ताला लगाएको प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए।

उनले महतले जाँदाजाँदै प्रक्रिया विपरित प्रतिष्ठानको विज्ञापन कार्यकारी परिषद्बाट स्वीकृत समेत नगरी एकल निर्णय गर्दै अगाडि बढेपछि विरोधमा उत्रनु परेको बताए। ‘रजिस्ट्रारले प्रक्रियाविपरित एकल निर्णयले गरेको र स्वीकृत दरबन्दी किताबमा नभएको पदसमेत विज्ञापन गरेपछि तालाबद्ददी गर्नुपरेको हो,’ उनले भने, ‘प्रतिष्ठानको आर्थिक कार्यभारको ख्याल नगरी दरबन्दी किताबमा नभएका पदको विज्ञापन गरिनु संस्थाको हितविपरित हो।’
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट