२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

डिजिटल स्वाधीनताको बाटोमा डेनमार्क, माइक्रोसफ्ट उत्पादन प्रयोग नगर्ने घोषणा

काठमाडौँ । डेनमार्क सरकारले माइक्रोसफ्ट अफिसजस्ता अमेरिकी प्रविधिहरूको प्रयोग घटाउने र सट्टामा ओपन-सोर्स सफ्टवेयर ‘लिब्रे अफिस’तर्फ जाने निर्णय गरेको छ । त्यहाँकी डिजिटलाइजेसन मन्त्री क्यारोलिन स्टेजले यो निर्णयको मुख्य कारण ‘डिजिटल सार्वभौमिकता’ भएको बताएकी छन् ।

आफ्नो डेटा, प्रविधि र पूर्वाधारमा बाह्य हस्तक्षेप बिना नियन्त्रण राख्न सक्ने अवस्था नै डिजिटल सार्वभौमिकता हो । युरोपेली युनियन (ईयू)मा हालै डिजिटल सार्वभौमिकता ठुलो चासोको विषय बनेको छ । ​ईयूका नेताहरू अमेरिकी प्रविधि कम्पनीहरूमा अत्यधिक निर्भरता घटाउन चाहन्छन् । उनीहरूको चिन्ता छ- कसले युरोपको डेटा नियन्त्रण गर्छ ? कसले नियम बनाउँछ ? अनि यदि कुनै राजनीतिक तनाव आयो भने कसरी सेवा बन्द हुन सक्छ ?

उदाहरणका लागि, जब अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्‍यो, त्यसपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आईसीसीमाथि प्रतिबन्ध लगाए । यस क्रममा माइक्रोसफ्टले आईसीसीका प्रमुख अभियोजक करिम खानको ईमेल बन्द गरेको भनिएको छ । यद्यपि माइक्रोसफ्टले आफू संलग्न नरहेको दाबी गरेको छ, तर उसलाई भविष्यमा यस्तो डर भने कायमै हुनेछ ।

डेनमार्कका दुई ठुला सहर कोपेनहेगन र आर्हसले पहिले नै माइक्रोसफ्टका सफ्टवेयर र क्लाउड सेवा क्रमशः हटाउने योजना सार्वजनिक गरेका थिए । कोपेनहेगन अडिट कमिटीका अध्यक्ष हेन्ड्रिक एपेल एस्पेर्सेनले भनेका छन्, “राजनीतिक कारणले हामीले ईमेल पठाउन नपाउने स्थिति आयो भने त्यो ठुलो समस्या हो ।”

माइक्रोसफ्टको लाइसेन्स खरिद खर्च २०१८ मा ३१३ मिलियन क्रोनर थियो भने २०२३ मा ५३८ मिलियन क्रोनर पुगेको छ, जुन झन्डै ७२ प्रतिशत बढी हो ।

डेनमार्कका आपतकालीन मामिलामन्त्री टोर्स्टन स्याक पेडरसनले अमेरिकी क्लाउड सेवाबाट निर्भरता हटाउन र डेटा स्वामित्व मजबुत बनाउन सल्लाह दिएका छन् । उनले भनेका छन्, “सबै निकायले क्लाउड सेवाबाट बाहिरिने योजना बनाउनु पर्छ ।”

त्यस्तै नेदरल्यान्डका युरोपेली सांसद बार्ट ग्रोथुइसले युरोपले अब आफ्नै क्लाउड सेवा बनाउनु पर्छ भनेर सुझाव दिएका छन् । उनका अनुसार युरोपलाई अमेरिकी क्लाउडसँग समस्या छ ।

तर डेनमार्कजस्तो डिजिटलरूपमा विकसित राष्ट्रका लागि माइक्रोसफ्टबाट छुट्टिनु सजिलो छैन । तर ओपन-सोर्स सफ्टवेयर तर्फको यो यात्रा सुरुवात गरिनु आफैँमा साहसिक निर्णय भएको विश्लेष गरिएको छ । 

जेडडी नेटको सहयोगमा

पछिल्लो अध्यावधिक: असार २, २०८२ ७:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट